२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

हाम्रो बारेमा

Thumbnail

हरेक नागरिकको बोली …

                 नेपाली पत्रकारिता राजधानी भर्सेस मोफसल, छापा भर्सेस विद्युतीयको चर्को विभेद र विवाद व्यहोरेर यतिवेला अनलाइनमा आइपुगेको छ । यो अनलाइन पत्रकारिताको यात्रा आरम्भ गर्दा हामी कोरोना संक्रमण र लकडाउनको जोखिमपूर्ण अवस्थामा छौं । यो बेला अनलाइन पत्रकारिताको प्रभावकारीता र औचित्य थप स्थापित भएको छ ।
अनलाइन पत्रकारिताले कर्पोरेट हाउसदेखि झोलेसम्मको नियति भोगिरहेको छ । अनि राष्ट्रिय समाचारहरु कभरेज गर्न राजधानी नै वस्नु पर्छ, राजधानी ठेगाना हुने तथाकथित ‘राष्ट्रिय’ र दुर्गम जिल्लामा रहेर सञ्चालनमा रहेकाहरु ‘लोकल’ हुन् भन्ने आम चिन्तनलाई   चिर्न हामीले नागरिक मिडिया डटकम शुरु गरेका छौं ।
हामी प्रण गर्छौं कि आम अनलाइनहरुले खेपेको तथ्यहिन, प्रायोजित समाचार पस्कने, कतै गुनगान गाउने र कमाउने, कतै बद्नामी गराउने प्रयोजित ‘मिसन’सँग हाम्रो भेट हुनेछैन । जिल्लामै बसेर राष्ट्रिय स्तरको समाचार रिपोर्टिङ र प्रकाशन हाम्रो अर्को ध्येय हो ।
र, अर्को दलाली र साहु पत्रकारिताले कोही पत्रकार रहन्न, कारिन्दा बन्छ । पत्रकार कारिन्दा बनेपछि पत्रकारिताकै आत्मबल र नूर खोसिएका उदाहरण आँखा अगाडी देखिरहेकै छौं । अनलाइन पत्रकारितालाई विश्वसनीय, तथ्यपरक, सन्तुलित एवं निष्पक्षताको केन्द्र बनाउने र त्यसैमा व्यवसायिकता खोज्दै नागरिक पत्रकारिता गर्ने हाम्रो अभियान हो ।
हरेक नागरिकको बोली बोल्ने हाम्रो मूल ध्येयबाट विचलित नभइ संसारले लिएको ‘पेपरलेस जर्नालिज्म’को बाटो पछ्याउने अठोट गरेका छौं । मोफसलमा पक्कै सजिलो छैन, यद्यपी एक्लै सगर थाम्न सकिँदैन । पछिल्लो समय नेपाली पत्रकारितामा धेरैखाले चुनौती थपिएका छन् । त्यसर्थ, देशभरिका पत्रकारले आपसमा सहकार्य गर्दै साझा पेशागत चुनौती हल गर्नुपर्ने दायित्व पनि हामीले महसुस गरिरहेका छौं ।
अनलाइन पत्रकारितामा थुप्रै त्रुटी र सीमाहरु पनि छन् । आगामी दिनमा त्यस्ता कमी कमजोरी हटाउँदै नेपाली पत्रकारितालाई गुणस्तरीय बनाउने हाम्रो प्रयत्न रहनेछ । आम पाठकको सहयोग र बलमा अडेर हामी अनलाइन पत्रकारिताको स्वच्छतामा योगदान गर्न चाहन्छौं । तपाईंहरुको माया, सदभाव, सुझाव र आलोचनाले हामीलाई थप ऊर्जा मिलिरहने विश्वास छ ।