विश्वव्यापी रूपमा फैलिएको कोभिड– १९ बितेका छ महिनाको अवधिमा जनस्वास्थ्यको मात्र समस्या होइन भन्ने झन्झन् प्रष्ट हुँदै गएको छ । यो महामारीले प्रत्यक्ष रूपमा ग्रसित तुल्याउने व्यक्ति मात्र होइन, समग्र विश्व समाज नै यसका सामाजिक–आर्थिक असरका कारण आक्रान्त हुँदै गएको छ । आर्थिक दुष्प्रभावका कारण नै पछिल्लो समय कोरोनाबाट बच्दै जीवनलाई अघि बढाउने सोच व्यापक हुँदै गएको हो तर कोरोना भाइरसले समाजका कैयौँ पक्षमा नयाँ प्रवृत्तिको सुरुवात गराउँदैछ । समाजको बदलिँदो क्रमसँगै केही पक्षमा परिवर्तनलाई कोभिड–१९ ले झन् तीव्र बनाउँदैछन् । अहिले संसारमा झट्ट देखिएको यस्तै एउटा पक्ष परम्परागत आमसञ्चारका साधनहरू, खासगरी छापा माध्यमको सङ्कट पनि हो ।
कोरोना भाइरसको प्रकोप बढ्दै जाँदा विकसित पश्चिमी जगत्सहित संसारका धेरै भूभागमा छापा माध्यमहरू र ठूला प्रकाशन गृहहरू सङ्कटग्रस्त बन्दै गएका छन् । कैयौँ महानगर वा स्थानीय स्तरका अखबारहरू बन्दै हुँदै गएका छन्, ठूला–ठूला सञ्चार गृहमा समेत तलब सुविधा मात्र होइन जनशक्तिको समेत कटौती हुन थालिसकेको छ । संसारका अन्य भूभागमा झैँ नेपालमा पनि कोरोना भाइरसको आतङ्कको सुरुवातदेखि छापा माध्यमहरू प्रभावित हुन थालिसकेका थिए तर सुरुवातको समयमा अन्तर्वस्तु उत्पादनका प्रक्रिया अर्थात् रिपोर्टिङ, सम्पादनजस्ता समाचार कक्षका काममा परेको प्रभावका कारण छापा माध्यम अप्ठ्यारोमा परेका थिए । त्यसबेला छपाइ र वितरणमा उत्पन्न व्यवधानका कारण पनि केही छापा माध्यमहरू स्थगित भएका थिए ।
वस्तुतः पत्रकारिताको परम्परागत संस्थाहरू समयसँगै सुधारिन सकेनन् भने झन्झन् सङ्कटग्रस्त बन्दै जानेछन् ।
त्यसबेला कोभिड–१९ को सङ्क्रमण कसरी–कसरी हुन्छ भन्ने विस्तृत जानकारी सबैलाई थिएन । त्यसैले कागजबाट पनि महामारीको सङ्क्रमण हुनसक्छ भन्नेसमेत प्रचार भएको थियो । स्वाभाविकै रूपमा त्यसबेला छापा माध्यमलाई मार प¥यो तर अब त्योभन्दा ठूलो भएर आर्थिक मार पर्न थालेको छ । महामारीकै कारण आर्थिक गतिविधि दुष्प्रभावित हुन थालेपछि विज्ञापनको बजार निकै खस्कियो । जसले गर्दा आज संसारका सबै देशका ठूला सञ्चार गृह कठिन अवस्थामा पुगेका छन् ।
गएको साता नेपालको एक ठूलो सञ्चारगृहले एकैपटक तीन–तीनवटा प्रकाशन बन्द गरेपछि छापा माध्यमहरूको आर्थिक सङ्कट सतहमा आयो तर त्यसअघि पनि छापा, रेडियो र टेलिभिजनलगायतका परम्परागत माध्यमहरू आर्थिक समस्यामा पर्न थालिसकेका थिए । संसारभरि नै अहिले परम्परागत आमसञ्चार माध्यमहरू जसरी समस्याग्रस्त हुँदै गइरहेका छन्, यो नितान्त नयाँ प्रवृत्ति भने होइन । दुई दशकयता परम्परागत आमसञ्चार माध्यमले सामाजिक सञ्जालबाट दबाब महसुस गरिरहेकै थिए, विश्वव्यापी महामारीले त्यस्तो दबाबलाई अझ बढाइदिएका छन् । डिजिटल प्रविधि र इन्टरनेटले जसरी सञ्चारका सबै माध्यमको सम्मिलन गराइदिएको छ, त्यसले परम्परागत माध्यम परिवर्तित हुन बाध्य हुँदै आएका छन् । त्यसैले नेपाललगायत सबै देशमा प्रमुख अखवारहरूका अनलाइन संस्करण पनि सञ्चालन हुन थालेका छन् ।
ब्लग र पोर्टलहरूको उपलब्धताका कारण पत्रकारिताका लेखन र मिल्दाजुल्दा धारणा र अभिव्यक्तिलाई ठाउँ प्राप्त भएको छ । अन्तर्वस्तुको परिधि निकै फराकिलो हुन पुगेको छ । अघिपछि मिडियाले ठाउँ दिएपछि मात्र सार्वजनिक हुने विषयवस्तु सामाजिक सञ्जालहरूबाटै व्यापक हुन थालेका छन् । गायक अमृत गुरुङको मकै खेती वा पूर्व राजदूत र उच्च प्रशासक लीलामणि पौडेलको धान रोपाइँ निश्चय पनि मानव अभिरुचिका विषय थिए । कुनै पनि व्यावसायिक माध्यमका सामग्रीभन्दा कम प्रसारित भएनन् ती सामाजिक सञ्जालका तस्बिर र अक्षर । त्यसैले अब अध्येताहरू भन्न थालेका छन्, वर्तमान अवस्थामा देखिन थालेका प्रारम्भिक सङ्केतहरूका आधारमा भविष्यमा सञ्चारका साधनहरू झन् बढी एकीकृत हुँदै जानेछन् । फोन गर्ने मोबाइल नै नयाँ–नयाँ सूचना थाहा पाउने माध्यम त बनेकै छन् ।
अबको समयमा आमसञ्चार माध्यमले छुट्टै र विशिष्ट स्थान नपाउन सक्छ । सञ्चारका विविध आयाम हुने छन् । जनसम्पर्क, विकास सञ्चार वा प्रतिष्ठानहरूको आन्तरिक सञ्चारजस्ता विषय झन्झन् महत्वपूर्ण हुँदै जानेछन् तर सूचना प्रविधिको तीव्र विकासले सम्मिलनको प्रक्रियालाई झन्झन् व्यापक बनाउँदै लैजानेछ र व्यक्ति–व्यक्तिका रुचि अनुसारका अन्तर्वस्तु अलग–अलग ढङ्गले उपलब्ध हुनेछन् ।
अन्तर्वस्तुमा पनि ठूला मिडियाको पकड अहिलेजस्तै कायम रहनेछैन । गायक गुरुङ र पूर्व प्रशासक पौडेलका समाचारसम्बन्धी अन्तर्वस्तुलाई कुनै ठूलो मिडिया चाहिएन । बरु हिजोआज ठूला मिडियाका एक समाचार स्रोत सामाजिक सञ्जाल हुन पुगेका छन् । समाचारका पात्रका धारणा मात्र होइन, मनोविश्लेषणका लागि पनि व्यावसायिक पत्रकारहरूले सामाजिक सञ्जालको व्यापक प्रयोग गर्नैपर्ने बाध्यता बढ्दो छ । त्यसैले पत्रकारहरूले पनि आउने समयमा एउटै साधनबाट आफ्ना सबैजसो कामहरू सम्पन्न गर्नेछन् । त्यो बेला मल्टिमिडियाका साधनहरू आमजनताका लागि झन् बढी उपलब्ध हुँदै जानेछन् । व्यक्ति–व्यक्तिको अन्तर्वस्तु उत्पादन क्षमता झन्झन् बढ्दै जानेछ । इन्टरनेट सस्तो र सहज हुँदै जानेछ अनि मानिस हरबखत सञ्जालमा रही रहने छ ।
आउने समयमा संसारको सूचना सञ्जालका कारण मानिस हरबखत सूचित भइरहेका हुने छन् । त्यस बेला नयाँ मिडिया, डिजिटल मिडिया, साइबर मिडिया, मोबाइल मिडिया, मल्टिमिडिया, टेक्नोमिडिया, इन्टरनेट मिडिया, ग्लोबल मिडिया र सोसल मिडियाजस्ता शब्दावलीबीच पत्रकारिता ठूला–ठूला सञ्चार गृहहरूको परिधिभन्दा पर हुने लक्षण देखिनेछ । वस्तुतः पत्रकारिताको परम्परागत संस्थाहरू समयसँगै सुधारिन सकेनन् भने झन्झन् सङ्कटग्रस्त बन्दै जानेछन् ।
पत्रकारिता वा अन्तर्वस्तुको व्यावसायिक उत्पादन र प्रस्तुतिको क्षेत्र प्रविधिको विकाससँगै परिमार्जित हुँदै आएको छ । भोलिका दिनमा पनि यो क्रम जारी रहनेछ तर पत्रकारिताका साधन र शैली फरक हुनेछन् । साध्य उही भए पनि पत्रकारिताले सामाजिक सञ्जालहरूको बढ्दो लोकप्रियता र प्रयोगले ल्याउने परिवर्तनको आँकलन गर्न सक्नैपर्दछ । ब्लग र माइक्रोब्लगले अन्तर्वस्तु उत्पादनको क्षेत्रमा गैरव्यावसायिकहरूलाई निकै राम्रो स्थान उपलब्ध गराएको छ । आज पनि अन्तर्वस्तुका परम्परागत उत्पादकहरू वा व्यावसाज्ञियक पत्रकार र लेखकहरू आफ्ना सामग्रीलाई अझ व्यापक समुदायमा पु¥याउन सामाजिक सञ्जालको प्रयोग गरिरहेका छन् । ती सञ्जालहरूमा महँगा सामग्री पनि सहजै विना मूल्य उपलब्ध भइरहेका छन् । कोरोना महामारी सुरु भएलगत्तैको युवाल नोहा हरारीको लेख यहाँको बजारमा उपलब्ध नहुने पश्चिमी अखबारमा छापिएको थियो । तर संसारका धेरै मानिसले अखवार नकिनी सामाजिक सञ्जालमै त्यो त्रासबाट मुक्ति दिने महत्वपूर्ण लेख पढ्न पाए ।
आमसञ्चारका माध्यमहरूको एउटा महत्वपूर्ण नियम भनेको नयाँ नयाँ सूचनाको तीव्र सम्प्रेषण नै हो । यही कुरामा घोत्लिँदै हामीले आजसम्मको सञ्चारको इतिहासलाई केलायौँ भने डिजिटल र इन्टरनेट मिडियाले आउने समयमा ल्याउने परिवर्तनको आँकलन गर्न सक्दछौँ । हातले लेखेका सीमित पुस्तकहरू उपलब्ध भएको युुगमा गुटेनबर्गको प्रेस ठूलो क्रान्ति थियो । कुनै बेला नयाँ नयाँ सूचना तत्काल जनतामा पु¥याउनकै लागि अखबारका बिहानी, दिवा र सन्ध्याकालीन संस्करण हुने गर्दथे । त्यसपछिका समयमा रेडियो र टेलिभिजन तत्कालै सूचनाको सम्प्रेषण गर्न सक्ने यही क्षमताका कारण प्रभावशाली सावित हुँदै गए ।
त्यसैले आज सहजै र तीव्र वेगका साथ जोसुकैले सूचना र विचारको व्यापक प्रसार गर्न सक्ने युगमा परम्परागत माध्यमहरू कोभिडका कारण मात्र सङ्कटमा परेका होइनन् । अबको समयमा आमसञ्चार माध्यमले छुट्टै र विशिष्ट स्थान नपाउन सक्छ । सञ्चारका विविध आयाम हुने छन् । जनसम्पर्क, विकास सञ्चार वा प्रतिष्ठानहरूको आन्तरिक सञ्चारजस्ता विषय झन्झन् महत्वपूर्ण हुँदै जानेछन् तर सूचना प्रविधिको तीव्र विकासले सम्मिलनको प्रक्रियालाई झन्झन् व्यापक बनाउँदै लैजानेछ र व्यक्ति–व्यक्तिका रुचि अनुसारका अन्तर्वस्तु अलग–अलग ढङ्गले उपलब्ध हुनेछन् । तुलनात्मक रूपमा कम लगानीका साना सञ्चारगृह वा अनलाइन माध्यम झन् झन् प्रभावकारी हुनसक्ने वातावरण बन्दै जानेछ ।
त्यस्तो बेला सूचना प्रविधिले सञ्चारलाई समाचार वा विचारको आदानप्रदान मात्र होइन, वस्तु विनिमयको कारोबारका रूपमा समेत एकीकृत गर्ने सम्भावना छ । ई–कमर्स, ई–गवरन्यान्सजस्ता विषय पनि सूचना र सञ्चारकै कुरा नै हुन् । त्यसैले सञ्चारको वा परिष्कृत मानव सञ्चारको क्षेत्र आउने समयमा अहिलेको भन्दा निकै विस्तारित हुनेछ तर सूदुर भविष्यमा यही रूपमा आमसञ्चारका परम्परागत संस्थाबाट प्रस्तुत अन्तर्वस्तुहरूको प्रयोग असान्दर्भिक ठहरिन सक्छ ।
परम्परागत आमसञ्चार माध्यम वा ठूला मिडिया गृहको पुरानो संरचनामा नयाँ मिडियाको दबाब कोरोना सङ्क्रमणभन्दा पहिले नै सुरु भएको हो । यो महामारीले प्रक्रियालाई तीव्र तुल्याउने निश्चितै छ । छापा र पुरानो श्रव्य दृश्य माध्यमले सामना गर्नुपरिरहेको यो चुनौतीलाई परम्परागत पत्रकारिताका कैयौँ पक्षहरू विलुप्त हुँदै जान थालेको परिप्रेक्ष्यमा बुझ्नुपर्दछ । जसलाई कतिपयले पोस्टमिडिया परिदृश्यका रूपमा परिभाषित गरेका छन् । समयको सङ्केत बुझेको खण्डमा पुराना ढाँचाका आमसञ्चार माध्यमले सुधारका पाइला अवश्य चाल्न सक्नेछन् । -गाेरखापत्र दैनिकबाट
(लेखक- त्रिवि केन्द्रीय पत्रकारिता तथा आमसञ्चार विभागमा आबद्ध हुनुहुन्छ ।)
प्रतिक्रिया दिनुहोस