२०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024
सिरज १: संभव छ स्वदेशमा

दुर्गा पाण्डेयको यात्राः ५० रुपैंयाकाे मजदुरीदेखि १२ कराेडकाे मालिकसम्म

भारतबाट फर्केर होटल र पर्यटनमा करोडौं लगानी

  • २०८१ पौष १०, बुधबार मा प्रकाशित २ दिन अघि
  • काठमाण्डाैं-  सत्यवती गाउँपालिका वडा नं. १ स्थित अस्लेवा गुल्मीमा जन्मेका दुर्गा पाण्डेय कक्षा ७ पुरा नगर्दै मजदुरीका लागि भारत पसे । पारिवारिक अवस्थाले उनलाई पढाइ पुरा गर्न दिएन ।

    उनी मजदुरी गर्न भारतको बम्बई पुगे र होटलमा काम गर्न थाले । उनले मासिक ५० रुपैंया तलबमा काम पाएका थिए । खान बस्न होटलमै पाइन्थ्यो । होटल तथा रेष्टुरेन्टमा उनले करिब १० बर्ष काम गर्दाको कष्ट र संघर्ष भनि साध्य थिएन । त्यसपछि केही साझेदार भेटेर आफैंले होटल तथा रेष्टुरेन्ट चलाए ।

    धादिङ र मुस्ताङकाे हाेटल ।

    ९ बर्ष कामदार भएर काम गरेपछि लगानीकर्ता साझेदार भेटेको बताउने पाण्डेय भन्छन्, ‘आफ्‌नो इमान्दारीता र लगशीलता देखेर साझेदारले विश्वास गरेका थिए, त्यहाँ मेरो नेतृत्वमा दुई वटा रेष्टुरेन्ट सञ्चालन भएका थिए ।’

    उनले ९ बर्षकाे मजदुरीपछि अरु १० बर्ष रेष्टुरेन्ट चलाएर २० बर्ष भारतको बम्बैमा बिताए । त्यस बेला उनले गरेको दुखबाट जमाएको सम्पति सदुपयोग गर्दा अहिले उनी नेपालमा करोडौंको मालिक र करिब २ सय जनालाई रोजगार दिन सक्ने हैसियतमा छन् । ‘२० बर्ष भारतमा गरेको कमाई नेपाल ल्याएर लगानी गरेको छु, अहिले मुस्ताङको मार्फा, धादिङको चरौंदी र पोखराको लेक साइडमा रेष्टुरेन्ट सञ्चालन गरेको छु’ उनले भने ।

    भारतबाट फर्केर होटल र पर्यटनमा करोडौं लगानी

    मार्फामा मार्फा होम्स सञ्चालनमा ल्याएका उनले १५ जनालाई रोजगारी दिएका छन् । धादिङको चरौंदीमा इन्द्रेनी फुडल्याण्ड सञ्चालनमा छ । त्यहाँ २५ जना बढीले रोजगारी पाएका छन् ।

    ९ बर्षकाे मजदुरीपछि अरु १० बर्ष रेष्टुरेन्ट चलाएर २० बर्ष भारतको बम्बैमा बिताए । त्यस बेला उनले गरेको दुखबाट जमाएको सम्पति सदुपयोग गर्दा अहिले उनी नेपालमा करोडौंको मालिक र करिब २ सय जनालाई रोजगार दिन सक्ने हैसियतमा छन् ।

    पोखराको लेकसाइडमा मझेरी रिसोर्ट एण्ड स्पामा ६५ जनाले काम गर्छन् । टुर एण्ड ट्राभल्सको व्यवसायबाट धेरै भारतीय पर्यटकहरु उनैले पोखरा र मुस्ताङ पुर्‌याएका छन् ।

    टुर एण्ड ट्राभल्सका विभिन्न ठाउँमा ८० जनालाई रोजगारी दिएको पाण्डेयले सुनाए । ‘करिब २ सय जतिलाई रोजगारी दिएको छु, सबै ठाउँमा मेरो १२ करोडजति लगानी भएको छ । कोभिडले व्यवसाय थलिए पनि अब उठ्‌ने आशा छ’ उनले भने ।

    पाेखराकाे लेकसाइडमा रहेकाे रिसाेर्ट र स्पा ।

    भारतमा राम्रो कमाइ हुँदाहुँदै स्वदेशमै केही गरौं भनेर नेपाल फर्किएका पाण्डेय नेपालमै केही गर्न सकिन्छ भनेर लाग्नेहरुका लागि प्रेरणा भएको गुल्मीकी स्थानीय विष्णुमाया पाण्डेय बताउँछिन् । ‘उहाँ नेपालमा केही हुँदैन, संभावना छैन भन्नेहरुका लागि गतिलो जवाफ हो’ उनले भनिन् । यही कुरा स्थापित गर्न नेपाल फर्किएको स्वयं दुर्गाले पनि बताउने गरेका छन् ।

    नन्दाकाे साथ

    व्यवसायमा यहाँ सम्मको सफलताका लागि श्रीमती नन्दा पाण्डेयलाई जस दिन्छन् । नन्दाले आफुलाई जीवनको अन्तिम क्षणसम्म साथ दिएको सम्झँदा उनी भक्कानिए । कोभिडले व्यवसाय धराप भएको समयमा आफू पनि जीवनको अन्तिम लडाई लडिरहँदा श्रीमतीको साथले नै सफल भएको उनले सुनाए ।

    अघि भने- ‘५० दिन म आइसियु मा बस्दा मलाई र व्यवसाय सम्हाल्न नन्दा नभएको भए अहिले केही रहने थिएन, अब म नेपालमै केही गर्न सकिन्छ भनेर युवाहरुलाई सन्देश दिने गरि काम गर्छु ।’

    पाेखराकाे हाेटल ।

    प्रतिक्रिया दिनुहोस