२०८१ पौष १२, शुक्रबार | Fri, 27, Dec, 2024

अनुगमनमा भेटिए अखद्य वस्तु : राजमार्ग वरिपरि म्याद गुज्रिएका खाद्यन्न छ्‌यापछ्‌याप्ती

  • २०८१ पौष ७, आईतबार मा प्रकाशित ५ दिन अघि
  • ओखलढुंगा- अनुगमनका क्रममा ओखलढुंगामा राजमार्ग वरिपरिकै बजारमा अखाद्य वस्तु खुलेआम बिक्रिवितरण भएको पाइएको छ । सिद्धिचरण राजमार्गको बिचमा पर्ने मानेभञ्ज्याङ गाउँपालिकाको मुख्य बजार क्षेत्र (केन्द्र) मा खुलेआम अखाद्य वस्तु विक्रिवितरण भएको पाइएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा त्यसरी म्याद गुज्रिएका अखाद्य वस्तु फेला परेका हुन् । पालिकाको केन्द्र समेत रहेको उक्त बजारका अधिकाशं खाद्यन्न पसलहरुमा म्याद गुज्रिएका वस्तु फेला परेका थिए ।
    अनुगमन टोलीले व्यापारीहरुलाई दर्ता गरेर पसल चलाउन, म्याद गुज्रिएका सामग्री विक्रि वितरण नगर्न, म्याद गुज्रिएमा उत्पादक कम्पनीमा फिर्ता पठाउन, मुल्य सूचि राखेर कारोबार गर्न लिखित निर्देशन दिएको छ ।

    ‘पहिलो पटक भएकोले लिखित पत्र दिइएको छ, पुनः अनुगमन गर्दा कारवाही हुन्छ’ घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख मोहन भट्‌टराईले बताए । अनुगमन टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेल, कर अधिकृत अरविन रानाभाट तथा उद्योग बाणिज्य संघका प्रतिनिधी तथा पत्रकार थिए ।

    बजार अनुगमन गरिदै ।

    अनुगमन टोलीलाई वपारीहरुले मार्केटिङ गर्न आउने गाडीले म्याद सकिनै लागेका वस्तुहरु दिएर गएकाले समस्या भएको बताएका थिए । दुई बर्ष अघि नै म्याद गुज्रिएका वस्तु समेत पालिकाकाे गेटै अघि बिक्रिवितरण भइरहेको पाइएको उद्योग बाणिज्य संघका प्रतिनिधी अशेष श्रेष्ठले बताए ।

    स्थानीय सरकारले बजार अनुगमन पसल दर्ता तथा कर शिक्षा कार्यक्रम सञ्चालन गर्ने अधिकार भएपनि जिल्ला कुनै पालिकाले त्यस्ता काम गरेका छैनन् । अनुगमन प्रतिवेदन माग्दा एक पालिकाले मात्र पठाएको, अन्यले कामै नगरेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी अनुप पौडेलको भनाइ छ ।

    अनुगमन टोलीले बेच्न ठिक्क पारेका म्याद गुज्रेका वस्तु जफल गरेर नष्ट गरेको छ । करिव ७ हजार बराबरको म्याद सकिएका खाद्यवस्तु नष्ट गरिएको थियो । पहिलो चरण भएकाले सामान्य सोधपुछ र निर्देशन दिइएको र पुनः नियम विपरित कारोबार गरेमा कानुन अनुसार कारवाही हुने अनुगमन टोलीको जनाएको छ । शनिबार अनुगमन गरिएकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस