ओखलढुंगा- नेकपा एमालेले चुनाव केन्द्रित अभियानलाई तीव्र पारेकाे छ । शनिबार मात्रै एमाले ३ भेला आयाेजना भइरहेका छन् । सदरमुकाम ओखलढुंगामा नेकपा एमालेकाे नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेला चलिरहेकाे छ ।
याे भेलामा नगरभित्रका एमालेका अगुवा कार्यकर्ता र नेताहरु सहभागी छन् । भेलामा पार्टीका नेताहरु र उम्मेदवारहरुले सम्बाेधन गर्ने कार्यक्रम छ । प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बीरबाबु गुरुङ र समानुपातिक उम्मेदवार नेता किशाेर अधिकारीले विशेष सम्बाेधन गर्ने छन् ।
भेलाले चुनावी रणनीति समेत तयार पार्ने एमालेले जनाएकाे छ । पालिका स्तरका कार्यक्रम सकेर सदरमुकाम आएका प्रदेश सभा क्षेत्र नं १ का उम्मेदवार अम्बीरबाबु गुरुङले जनताले विकास चाहेकाे र विगतमा मन्त्री हुँदा आफुले गरेका कामले जनताले फेरि भारी मतले जिताउने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै खिजीदेम्वाकाे वडा नं ८ भूसिंगामा पनि एमालेले अगुवा भेला गरिरहेकाे छ । त्यहाँ स्थानीय निर्वाचन परिचालन कमिटी तथा चुनावी रणनीति बारे छलफल हुने प्रदेश कमिटी सदस्य सुदिप सुनुवारले बताए ।
प्रदेश सभा क्षेत्र नं २ काे मूलखर्कमा पालिका स्तरीय भेला आयाेजना गरिएकाे छ । भेलामा संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवार र प्रदेश सभा २ का उम्मेदवार ज्ञानबहादुर खड्का जिवीले सम्बाेधन गर्ने कार्यक्रम छ । याे समाचार तयार पार्दा सम्म संघीय प्रतिनिधी सभाका उम्मेदवार यज्ञराज सुनुवारले सम्बाेधन गरेका छन् । उनले चुनावी दाैरान सबै जसाे वडा पुगेकाे र थप उत्साह र एकमना एकताका साथ चुनावी मैदानमा खट्न कार्यक्रता प्रतिवद्ध भएर लागेकाे बताए ।
निर्वाचनमा प्रतिस्पर्धीहरुकाे गठबन्धन भए पनि जनता गठबन्धनकाे पक्षमा नरहेकाले आफुले २०७४ कै मतान्तरमा चुनाव जित्ने दावी गरे । उनले त्यसबेला ५ हजार २५३ मतले रामहरि खतिवडालाई हराएका थिए ।
प्रतिक्रिया दिनुहोस