‘हामी सच्चिनु पर्छ’
हामी सुन्दर सिर्जना अवनिका ज्ञानी विवेकी पनि
एक्लो चेतनशील जीव तर छौं सन्ताप भोग्दै अति !
भुल्दा भौतिक मोहमा हरघडी आक्रान्त अन्योल छौं
साह्रै दिक्क अशान्त चिन्तित हुँदा हाँसो शनै बिर्सियौं !! १ !!मात्रै यन्त्रिक दौडमा मन दियौं सौहार्द्य भुल्दै गयौं
लाग्यौं कङ्क्रिट होडमा तर अहो! संवेदना बिर्सियौं !
ठान्यौं किन्न सकिन्न के र धनले? हामी यहाँ झुक्कियौं
छाडी सात्विक जिन्दगी तमसको उन्मादमा लठ्ठियौं !! २ !!जोड्यौं बारुद शान्ति डग्न नदिने आदर्शको आडमा
खोज्यौं मानवता सगर्व रणको बेदर्द मैदानमा !
सोच्यौं दैहिक मोजमात्र सुखको निर्वाध आधार हो
जोख्यौं कुत्सित स्वार्थको नजरले आत्मीयता प्रेमको !! ३ !!नाप्यौं इज्जत सोच हैन धनको आयामको फ्रेममा
सेवा भाव रहेन हार्दिक अहो! साट्यौं सबै स्वार्थमा !
हुर्क्यो बेथिति सख्त जब्बर बनी संस्कार मास्दै सबै
झस्क्यो मानव सभ्यता विगतका गल्तीहरू सम्झदै !! ४ !!लाग्यो प्राज्ञिक बर्ग चिन्तित हुँदै आदर्श जोगाउन
धेरै मानिस एकासाथ धुरिए बुद्धत्व फर्काउन !
मात्रै बाहिर खोजियो जटिलता उस्तै समाधान भो
आशामा बसियो अलौकिक कुनै ठूलो चमत्कारको !! ५ !!हाम्रै कारण निम्तियो विषमता यो सत्य मानौं सधैं
आफूभित्र नियाल्न हिम्मत गरे सम्हाल्न सक्छौं सबै !
हामीभित्र छ बुद्ध अंश यसको सक्दो जगेर्ना गरौँ
आफू सच्चिन चुक्नु हुन्न दुनियाँ सच्चिन्छ आफैं बुझौं !! ६ !!(शार्दुलविक्रिडित छन्दमा रचिएकाे कविता गाैतमकाे फेसवुकवालबाट साभार गरिएकाे हाे ।)
प्रतिक्रिया दिनुहोस