ओखलढुंगा- मानेभन्ज्याङ गाउँपालिका ६, थाक्लेका रविन सार्की १३ वर्षका मात्र भए । उनले पढाई छोडेको एक वर्ष भयो । पा“च वर्षअघि खरबारीको डढेलोमा परेर आमा निरु सार्कीले ज्यान गुमाइन् । त्यसपछि पनि उनलाई बुवाले भाईबहीनीसँग स्कुल पठाएका थिए ।
गतवर्षको मंसिर ९ देखि बुवा लीलबहादुर पनि बेपत्ता भए । त्यसपछि रविनले स्कुल छाडे । रविनको ११ वर्षकी बहिनी संगीता र १० वर्षका भाई सविन साथमा छन् । उनीहरुलाई रविनले अरुकै घरमा काम गरेर, मजदुरी गरेर भएपनि स्कुल पठाएका छन् । अहिले संगीता नजिकैको सरकारी स्कुलमा कक्षा ५ मा र भाई सविन कक्षा दुईमा पढ्छन् ।
मानेभन्ज्याङ बजारदेखि बेपत्ता भएका उनीहरुका बुवा लीलबहादुरको ११ महिनापछि गत कात्तिकमा मात्रै मृत शव फेला पर्यो । पहिरोदेखि लडेर मृत र चिन्नै नसक्ने अवस्थामा भेटिएका उनको शव गाउँले आफन्तले कपडाले मात्र चिने । त्यसपछि उनीहरु अभिभावक विहीन बनेका छन् ।
कहिले गाउँले र आफन्तले दाल चामल दिन्छन् । विद्यालयका शिक्षकशिक्षिकाहरुले चामल सहयोग गर्ने गरेको सविनले बताए । उनले आफूले सक्ने काम पाएमा मजदुरी गरेर दुईचार सय ल्याउने गरेका छन् । उनीहरुलाई आफ्नो जन्ममिति समेत राम्रोसँग थाहा छैन ।
भुकम्पले घर भत्किएपछि उनको बुवाले पुर्ननिर्माण अन्तर्गत सानो घर बनाईदिएका थिए । उनीहरु त्यही घरमा बस्छन् । घरको तेश्रो किस्ता अनुदान अझै उनीहरुले पाएका छैनन् । बुवा र आमाको मृत्यु दर्ताको साथै उनीहरुको जन्मदर्ता बनाउन नाताले हजुरबुवा पर्ने टेकबहादुर सार्कीले सहयोग गरिरहेका छन् ।
‘हामी गाउले र आफन्तले सक्ने सम्मको सहयोग गर्न तयार छौँ ।’ टेकबहादुर सार्कीले भने, ‘तर यी अभिभावकविहीन भएका नानीहरुलाई सरकारले संरक्षण गरि पठनपाठनको व्यवस्था गरिदिए ठूलो उद्दार हुने थियो ।’ सविन पनि कसैले सहयोग गरेमा आफू र भाई बहिनी सहित विद्यालय पढ्न चाहन्छन् ।
जिल्लास्थित केही संघ संस्थाले उनीहरुको उद्दारका लागि पहल गरेका छन् । तर आवश्यक समन्वय अझै पर्याप्त भईसकेको छैन । स्थानीय तहमा संरक्षण विषयगत समिति गठन गरेर अलपत्र र जाेखिममा रहेका बालबािलका, जेष्ठ नागरिक, महिला, अपांगता भएका ब्यक्तिकाे संरक्षमा काम गर्ने नीतिगत व्यवस्था भए पनि गाउँपालिकाले चासाै नै दिएकाे छैन ।
प्रतिक्रिया दिनुहोस