ओखलढुंगा- नेकपा विभाजनकाे रेखा अब कतै बाँकी छैन, एक-एक कार्यकर्ता र समर्थकबीच पुगेकाे छ । देशभर ओलि पक्ष र माधव-प्रचण्ड पक्षबीच कार्यकर्ता तानातान गर्ने प्रतिस्पर्धा शुरु भएकाे छ । विगतमा अन्य पार्टीबाट नेकपा बनाउन जुटेका नेताहरु पार्टी फुटाएर आफ्नै कार्यकर्ताकाे गुट बनाउने अभियानमा छन् ।
ओखलढुंगा पनि यसकाे अपवादमा छैन । १४ गते प्रधानमन्त्रीकाे संसद विघटन गलत भएकाे भन्दै विराेध प्रदर्शन गरेकाे नेकपा (माधव-प्रचण्ड) ले गाउँ गाउँमा हिजाे संगठित गरेका नेता कार्यकर्ता समेट्ने अभियान थालेकाे छ ।
चिशंखुगढीबाट शुरु भएकाे अभियान अहिले लिखुमा पुगेकाे छ । चिशंखुगढी, माेलुङ, सुनकाेसी र चम्पादेवी गाउँ कमिटीले प्रधानमन्त्री ओलिकाे विपक्षमा आफ्नाे मत जाहेर गरिसकेका छन् । जिल्ला कमिटीमा ७० प्रतिशत बढि आफ्नाे पक्षमा रहेकाे नेकपा (माधव-प्रचण्ड) काे दावी छ। जिल्ला कमिटीका बहुमत सदस्य खुलेरै ओलिकाे कमद विरुद्धकाे अभियानमा लागेकाे देखिएकाे छ ।
नेकपा (माधव-प्रचण्ड) काे अभियान लगत्तै नेकपा (ओलि गुट) ले सदरमुकाममा आइतबार शक्ति प्रदर्शनकाे तयारी तथा जिल्ला कमिटी निर्माणकै तयारी थालेकाे छ । कार्यक्रम बृहत हुने दावी छ । याे कार्यक्रम तयारीका लागि ओलि समुहका मनाेनितसहित ६ केन्द्रिय सदस्य जुटेका छन् । पूर्व माओवादी नेता बालकृष्ण ढुंगेल पनि यही गुटमा लागेका छन् ।
राष्ट्रिय राजनीतिका बारेमा जनता र कार्यकर्तालाई प्रष्ट बनाउन जिल्लाब्यापी अभियान थालिएकाे नेता बाबुराम गाैतमले बताए । उनका अनुसार अधिकाश नेता कार्यकर्ता संसद विघटनका विपक्षमा, नेकपा विभाजनका विपक्षमा रहेका छन् । पार्टी विभाजनकाे काम ओलिबाट भएकाले याे जनतालाई बुझाउनु पर्ने उनकाे भनाइ छ । गाैतम प्रचण्ड निकट नेता हुन् ।
प्रतिक्रिया दिनुहोस