२०८१ मंसिर ८, शनिबार | Sat, 23, Nov, 2024
विकासमा सांसद र स्थानीयकाे हातेमालाे

मानेभञ्ज्याङकाे हिलेपानी यसरी भयाे ‘झलमल्ल’

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा- स्थानीय उपभोक्ता र जनप्रतिनिधिको हातेमालो भए गाउँमा विकासका योजना मिलिक्कै पूरा गर्न सकिन्छ भन्ने उदाहरण बनेको छ, मानेभञ्याङ गाउँपालिका- ६ को हिलेपानी गाउँ ।

    हिलेपानीका अधिकांश स्थानीयले एक वर्ष पहिलेसम्म टुकीका भरमा जीवन चलाए । नजिकै दूधकोसी बगे पनि खानेपानी र बिजुलीबाट बञ्चित थियो गाउँ । दुर्गम क्षेत्र र स्थानीय पहुँचवाला नहुँदाको पीडा वर्षौं भोगे स्थानीयले । छिमेकी गाउँमा झलमल्ल बिजुली बल्दा र टीभी चल्दा आफ्ना गाउँमा पनि बिजुली बाल्ने वर्षौंदेखिको कोलडाँडावासीको सपना ओखलढुंगाका दुई जना सांसदको साथ पाएपछि बल्ल पूरा भएको छ ।

    बिजुली बाल्ने सपना देखेका उनीहरूले एसियाली विकास बैंकको सहयोगमा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान दिने गरी सौर्य ऊर्जा मिनी ग्रिड आयोजना सञ्चालन हुने त भयो तर उनीहरूले लागतको १० प्रतिशत रकम व्यहोर्नुपर्ने शर्त थियो । सबै स्थानीयसँग रकम उठाउने हैसियत पनि थिएन । अब योजना कसरी पूरा गर्ने भन्ने चिन्ता थियो ।

    सांसदहरूले निर्वाचन क्षेत्र विकास कार्यक्रम र पूर्वाधार साझेदारी कार्यक्रमबाट बजेट विनियोजन गरिदिएपछि उनीहरूको यो चिन्ता हटेको आयोजनाको उपभोक्ता समितिका अध्यक्ष उनबहादुर राईले बताए ।

    उनले भने, ‘हामीलाई १० प्रतिशत जुटाउन निकै समस्या थियो, संघीय सांसद यज्ञराज सुनुवारले १५ लाख र प्रदेश सांसद मोहनकुमार खड्काले १० लाख बजेट उपभोक्ताले व्यहोर्ने लागतमा विनियोजन गरिदिएपछि हामीलाई धेरै सहज भयो ।’

    स्थानीयले प्रतिघर दुई हजार ५०० रुपैयाँका दरले पाँच लाख ५० हजार रुपैयाँ उठाए । योसहित ३० लाख रुपैयाँ रकम जुटेपछि वैकल्पिक ऊर्जाबाट तीन करोड १७ लाख रुपैयाँ अनुदान पाए । यही बजेटबाट अहिले ५० किलोवाट बिजुली उत्पादन भएको छ ।

    यो बिजुलीबाट अहिले २२६ घर झिलिमिली भएका छन् । १५ साउन २०७६ मा मिनी ग्रिड शिलान्यास गरेका स्थानीयले सांसदहरूको सहयोग पाएपछि पाँच महिनापछि २४ पुस २०७६ मा बिजुली बाल्न सफल भए ।

    बिजुलीले अहिले गाउँ झिलिमिली छ । गाउँमा मोबाइल चार्ज गर्नसमेत समस्या थियो । अहिले सबै खुसी छन् । कोलडाँडाको विकासमा यसअघि कसैले चासो दिएका थिएनन् । अहिले दुई जना सांसदको सहयोगले पाँच महिनामै बिजुली बलेको छ ।

    ‘जनप्रतिनिधिले स्थानीयको आवश्यकता हेरेर साथ र सहयोग गर्ने हो भने विकासका मामलामा गाउँ जुरुक्कै उठ्न सक्छ भन्ने उदाहरण हो याे’, स्थानीय युवा अनिलहाङ राई खुसी हुँदै भन्छन् ।

    बिजुली बलेपछि स्थानीयलाई ढिकी-जाँतो गर्नुपर्ने बाध्यता पनि हटेको छ । अहिले त्यहाँ चारवटा कुटानी पिसानी मिल चलेका छन् । एउटा फर्निचर उद्योग पनि स्थापना भएको छ । स्थानीयलाई अहिले धेरै सहज भएको कमला राई बताउँछिन् ।

    बत्ती बालेर अहिले १२ किलोवाट मात्र बिजुली खर्च भएकाले बाँकी खेर गएको छ । ‘पहिले अभाव थियो, अहिले खपत हुन सकेको छैन, योजनाको स्थायित्व र त्यसको सदुपयोगका लागि पालिकाले ध्यान दिन जरुरी छ’, संघीय प्रतिनिधिसभाका सांसद सुनुवार भन्छन् ।

    प्रतिक्रिया दिनुहोस