२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कम्युनिष्ट पार्टीका सदस्यलाई अमेरिकामा ‘नाे इन्ट्रि’ !

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- अमेरिकाले आफ्नो आप्रवासी नियम परिवर्तन गरेको छ ।

    आप्रवासी नियममा गरिएको नयाँ परिवर्तनसँगै अब कम्युनिष्ट पार्टीका सदस्य वा सोसरहको पदमा रहेकाहरुले अमेरिकाको स्थायी बसोवासको अनुमति वा नागरिकता नपाउने भएका छन् ।

    गत शुक्रबार अमेरिकाको यूएस सिटिजन एण्ड इमिग्रेसन सर्भिस (यूएससीआईएस)ले जारी गरेको घोषणा अनुसार अमेरिकाको राष्ट्रिय सुरक्षाको जोखिमलाई ध्यानमा राख्दै यस्तो घोषणा गरिएको यूएससीआईएसले बताएको छ ।

    यसअघि अमेरिकाको संसद्ले पारित गरेको सुरक्षाको नियम अनुसार नै आप्रवासी नियममा परिवर्तन गरिएको हो । यूएससीआईएसले सार्वजनिक गरेको विज्ञप्तिमा कुनै पनि कम्युनिष्ट पार्टीका वा निरंकुश पार्टीसँग आबद्ध भएका मानिसले अमेरिकामा आप्रवासीको रुपमा आवेदन दिन नसक्ने उल्लेख गरिएको छ ।

    पछिल्लो समय अमेरिका र चीनको बीचमा तनाव उत्कर्षमा पुगेकाले चीनलाई लक्षित गर्दै अमेरिकाले आफ्नो आप्रवासीको नियममा परिवर्तन गरेको जानकारहरुले बताएका छन् । तर, अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको नाम भने उल्लेख गरेको छैन ।

    उसले कुन मुलुकका कम्युनिष्टलाई नयाँ नियम लागू हुने हो भन्ने पनि खुलाएको छैन । यसअघि नै अमेरिकामा स्थायी बसोवासको अनुमति वा नागरिकता पाइसकेका मानिसको हकमा यो नियम लागू हुने वा नहुने पनि खुलाइएको छैन ।

    हेर्नुहाेस् सुचना 

    प्रतिक्रिया दिनुहोस