२०८१ माघ २२, मंगलबार | Tue, 04, Feb, 2025

ओखलढुंगाकाे हटियामा यस्ताे भीडभाड; के के बेच्न गरियाे निषेध !

  • २०७७ भाद्र १, सोमबार मा प्रकाशित ४ साल अघि
  • ओखलढुंगा : बाहिरबाट आउने व्यक्तिमा कोरोना संक्रमण देखिएपछि ओखलढुंगामा उच्च सर्तकता अपनाइएको छ । आवत जावतमा अत्यावश्यकबाहेक रोक्ने तथा हटियामा स्थानीय उत्पादनका तरकारीबाहेक अन्य वस्तु राख्न रोक लगाइएको छ ।

    सदरमुकाम लगायत अन्य शहरी क्षेत्रमा हाटबजारमा अत्याधिक भीड बढ्न थालेपछि हटियामा स्थानीय उत्पादनको तरकारी मात्रै ल्याएर बेच्न पाइने, अनिवार्य सुरक्षाको मापदण्ड पालना गर्नु पर्ने तथा अन्य उपभोग्य वस्तु हटियामा राख्न नपाइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिए ।

    अब स्थानीय तरकारी बाहेक, फलफुल तथा अन्य खाद्य वस्तु र जिन्सी सामग्री राखेर कारोबार गर्न पाइने छैन । भीडभाड गर्ने, सुरक्षा नअपनाउने र अटेरी गर्नेको संख्या बढेको भन्दै कडाइ गर्ने नटेरेमा लकडाउनसम्म गर्नु पर्ने अवस्था आउने भएकाले सचेत हुन सबै क्षेत्रमा निर्देशन दिएको पौडेलको भनाइ छ । जिल्ला कमाण्ड पोष्ट तथा संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो ।
    बैंक तथा वित्तिय संस्थामा टोकन प्रणाली तथा विद्युत कार्यालयमा बार तोकेर सेवा प्रवाहका सूची बनाइ सोही अनुसार कारोबार गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले बताए ।

    बजारमा क्रेता र विक्रेता दुवैलाई दुरी कायम, मास्क प्रयोग अनिर्वाय गरिएको र अटेर गरेर भीडभाड गरेमा कारवाही गरिने प्रशासनले तयारी गरेको छ । चाडवाड नजिएसँगै बजारमा किनमेल गर्नेको भीड बढेको र संक्रमित जिल्लामा फेला परिरहेको अवस्थामा प्रशासनले कडाइ गरेको हो ।

    प्रतिक्रिया दिनुहोस