ओखलढुंगा- सरुवा भएर जिल्ला आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ । पहाडका जिल्लामा तराई तथा तीव्र संक्रमण फैलिइरहेका जिल्लाबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित बनेका छन् ।
शनिबार मात्रै ओखलढुंगा र खोटाङमा ७ जना तराईका जिल्लाबाट सरुवा भएर आएका प्रहरीमा संक्रमण देखिएको छ ।
ओखलढुंगामा १ र खोटामा ६ जना नेपाल प्रहरीमा संक्रमण देखिएको हो ।
विराटनगरबाट खोटाङ आएका ११ प्रहरी जवानमध्ये ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । उनीहरु विराटनगरबाट साउन २३ गते जिल्ला प्रहरी कार्यालय खोटाङमा हाजिर भएका थिए ।
त्यस्तै ओखलढुंगामा सप्तरीबाट आएका एक जवानमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारीले जानकारी दिए । उनका अनुसार सरुवा भएर आएका प्रहरीलाई क्वारेन्टाइनमा राखिएको र उनको उपचारको व्यवस्था जिल्लामै गरिएको छ ।
जिल्लामा सरुवा भएर आउने तथा लकडाउन खुलेपछि प्रदेशबाट अनुगमनमा आउने कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणको समयमा कर्मचारी सरुवा, अनुगमन तथा आवत जावत पूर्ण रुपमा रोक्न स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस