२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024

थप ३६० मा संक्रमण, उपत्यकाकाे अवस्था भयावह ! अस्पतालकाे वेड अभाव हुने

  • २०७७ श्रावण २२, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।

    नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार २९६ रहेको छ । बिहीबार थप २३३ जना डिस्चार्ज भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण ह्वात्तै बढेकाले सचेत रहन आग्रह गरेको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बिहीबारको नियमित पत्रकार सम्मेलनमा काठमाडौं उपत्यकामा कोरोना संक्रमित दर बढेकाले अप्ठ्यारो परिस्थिति सिर्जना भएको बताए।

    ‘संक्रमण दर बढेकाले अप्ठ्यारो परिस्थिति छ। कुनै पनि सरकारी, सामुदायिक र निजी कार्यालयमा कुनै पनि बैठक, छलफल वा सेमिनार बन्द गर्नु’, गौतमले भने, ‘छलफल गर्नुपरे भर्चुअल विधिबाट गर्न अपील गर्दछौं।’

    पत्रकार सम्मेलनमा गौतमले काठमाडौंमा कोरोना संक्रमण वृद्धि भएकाले अस्पतालमा बेड, उपकरण र स्वास्थ्यकर्मीको अभाव हुने सम्भावना रहेको बताए। ‘औषधि र भेन्टिलेटरले उपचारमा सहयोग मात्र गर्ने हो। संक्रमण बढ्दै गएमा हाम्रो अस्पतालले धान्न सक्दैन’, उनले भने,  ‘अहिले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ लागू गर्नुहोला।’

    २४ घण्टाको अवधिमा काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना पुष्टि भएको छ। गौतमका अनुसार काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नेपालमा २४ घण्टाको अवधिमा ३६० जना कोरोना संक्रमित थपिएका छन्। हाल देशभर संख्या २१ हजार ७५० पुगेको छ।  काेराेनाले मृत्यु हुनेको संख्या  ६५ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस