२०८१ मंसिर ७, शुक्रबार | Fri, 22, Nov, 2024
काेराेना उपचारमा नयाँ पद्धति !

अब ‘प्लाज्मा थेरापी’बाट काेराेना संक्रमितको उपचार

  • २०७७ श्रावण १९, सोमबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं- नेपालमा कोरोना संक्रमितको उपचारमा पहिलो पटक प्लाज्मा थेरापी विधि अपनाइएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा मोरङ विराटनगरका पुरुष संक्रमितको बिहीबार राति प्लाज्मा थेरापी गरिएको हो। ती बिरामीलाई प्लाज्मा दान दिने व्यक्ति पनि पुरुष नै छन्। संक्रमित र दाता दुवैको परिचय अस्पतालले गोप्य राखेको छ।

    प्लाज्मा थेरापीपछि बिरामीको स्वास्थ्यमा सुधार आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। अस्पतालको कोभिड व्यवस्थापन समिति संयोजक डा. सन्तकुमार दासका अनुसार ती व्यक्ति गम्भीर अवस्थामा अस्पताल आएका हुन्। झन्डै ६० वर्षीय व्यक्ति साउन १० गते अस्पतालमा भर्ना भएका थिए। भर्ना हुँदा निमोनियाको समस्या पनि थियो। कोरोना संक्रमणपछि उनी सिकिस्त अवस्थामा पुगेको चिकित्सकले जनाएका छन।

    ‘भर्ना हुने बेला ती पुरुषमा निमोनियाको संक्रमण थियो’, उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा. दासले भने, ‘शरीरमा अक्सिजन अभाव थियो। उहाँलाई ८० प्रतिशत अक्सिजन चाहिएको थियो।’ स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा लगिएको उनको भनाइ छ। ‘कोभिड र निमोनिया दुवैको हिसाबले उपचार गरियो। उपचार गर्दागर्दै पनि स्वास्थ्यमा खासै सुधार भएन’, उनले भने।

    उनको स्वास्थ्य बिग्रिँदै गएपछि चिकित्सक टिमको बैठक बस्यो। प्लाज्मा थेरापीद्वारा उपचार गर्ने सहमति जुट्यो। बिरामी पक्षलाई सूचित गरियो। सोहीअनुरूप दाताको खोजी गरे। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मा सम्पर्क गरे। संक्रमणपछि निको भएका एक युवक फेला परे। उनी प्लाज्मा थेरापीका लागि तयार भए। बिहीबार राति प्लाज्मा थेरापी गरियो। मधुमेह र उच्च रक्तचापको समस्या भोगिरहेका ती पुरुषको परिचय सार्वजनिक गरिएको छैन।

    कोरोना संक्रमणबाट निको भएका व्यक्तिको प्लाज्मा दिएपछि संक्रमितको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। प्लाज्मा थेरापीको भोलिपल्ट शुक्रबारदेखि स्वास्थ्यमा सुधार हुन थालेको डा. दासले बताए। ‘बिहीबार त भेन्टिलेटरमै राख्नुपर्छ कि भन्ने अवस्था थियो। तर, शुक्रबारदेखि क्रमिक रूपमा सुधार भयो’, उनले भने।

    उनको निमोनियाको समस्यामा पनि सुधार आएको छ। त्यस्तै अक्सिजनको मात्रामा पनि क्रमिक सुधार भइरहेको छ। थेरापीबाट उपचार गरेको ४८ घण्टापछि लगभग ७० प्रतिशत जति सुधार भएको डा. दासले बताए। उनका अनुसार भेन्टिलेटरमा राख्नुपर्ने अवस्था छैन। दोस्रो पटक प्लाज्मा दिनुपर्ने आवश्यकता पनि देखिँदैन। ‘एक दुई दिनमै आईसीयूबाट बाहिर निकाल्ने योजना गरिरहेका छौं’, उनले भने। कसरी गरिन्छ प्लाज्मा थेरापी ?

    कोरोनाका गम्भीर संक्रमितको उपचारमा प्लाज्मा थेरापी प्रभावकारी मानिएको छ। यसको प्रयोग भारतलगायत विभिन्न मुलुकले गर्दै आएका छन्। यो विधिबाट निको भएका संक्रमितको रगत गम्भीर बिरामी परेका संक्रमितलाई दिने गरिन्छ।‘प्लाज्मा थेरापी गम्भीर अवस्थाका बिरामीलाई दिइन्छ। बिरामीलाई अक्सिजन धेरै चाहिन्छ’, डा. दासले भने, ‘भेन्टिलेटरमा उपचार भइरहेको छ भने प्लाज्मा थेरापी दिन सकिन्छ।’

    आईसीयूमा भर्ना हुने अवस्थाका बिरामीलाई प्लाज्मा थेरापी दिने गरिन्छ। यसका लागि फिजिसियनसहितको चिकित्सकीय टिमले निर्णय गर्छन्। डा. दासका अनुसार, प्लाज्मा थेरापी कोभिड बिरामीको लागि राम्रो उपचार पद्धति हो।

    त्रिभुवन विश्वविद्यालयअन्तर्गत माइक्रोबायोलोजी विभागका प्रा.डा. प्रकाश घिमिरेले कोरोना लागेर निको भइसकेका व्यक्तिको प्लाज्मा निकालेर गम्भीर अवस्थामा पुगेका संक्रमितमा दिने उपचार विधि नै प्लाज्मा थेरापी भएको बताए। ‘रगतमा एन्टिबडी हुन्छ। एन्टिबडीसहितको प्लाज्मा दिँदा कोरोना भाइरस मर्न सक्छ। भाइरस मरेको अवस्थामा निको हुने सम्भावना हुन्छ’, डा. घिमिरेले भने।

    डा. दासका अनुसार प्लाज्मा थेरापी रक्तदानजस्तै हो। ‘जसरी हामी रक्तदान गर्छौं। त्यति नै रगत लिने हो। यो कुनै ठूलो होइन’, उनले भने।

    डा. घिमिरेका अनुसार कोरोना संक्रमणपछि निको भएका व्यक्तिमा कोरोना भाइरसविरुद्ध लड्ने क्षमता हुन्छ। रगतमा सेता रक्तकोष, राता रक्तकोष हुन्छ। जसमध्ये सेता रक्तकोषको प्लाज्मामा एन्टिबडी हुन्छ। डा. घिमिरेले भने, ‘कोरोनाबाट निको भएको व्यक्तिको एन्टिबडी अर्को संक्रमणबाट गम्भीर भएको व्यक्तिलाई दिँदा त्यहीँ निको भएको एन्डिबडीले जस्तो गरेर काम गर्छ। त्यस एन्टिबडीले शरीरमा भएको भाइरसलाई मारिदिन्छ। संक्रमित व्यक्ति विस्तारै ठीक हुन पुग्छ।’

    निको हुने अवस्था भने प्लाज्मा कति चाँडै चढाउन सकियो त्यसमा निर्भर रहन्छ। ‘दुई साताअघि मात्र निको भएको व्यक्तिमा एन्टिबडी धेरै हुन्छ। प्लाज्मा थेरापी राम्रो उपचार विधि हो। अहिलेको उपचार विधिमा यो आसलाग्दो उपचार मोडालिटी हो’, डा. घिमिरेले भने।

    प्लाज्मा थेरापी विधिबाट उपचार गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान गरिरहेको छ। परिषद् र शिक्षण अस्पतालले निको भएका कोरोना संक्रमितलाई इच्छाअनुसार प्लाज्मा दान गर्न आग्रह गरेका छन। डा. दासले भने, ‘हामीले नेपालमा पहिलो चोटी गर्दा पनि नतिजा राम्रो आएको छ। त्यहीँ भएर तपाईंहरू संक्रमित हुनुहुन्थ्यो र अहिले निको भइसकेको र इच्छुक हुनुहुन्छु भने नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र हामीलाई सम्पर्क गर्नुहोस्। तपाईंको एक पिन्ट रगतले गर्दा कुनै व्यक्तिको ज्यान जोगिन सक्छ।’

    साभार: अन्नपूर्णपाेष्ट डटकम बाट

    प्रतिक्रिया दिनुहोस