२०८१ मंसिर ९, आईतबार | Sun, 24, Nov, 2024

कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु

  • २०७७ श्रावण १५, बिहिबार मा प्रकाशित ४ साल अघि
  • काठमाडौं-  नेपालमा कोरोनाभाइरसबाट थप ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मोरङमा १ र पर्सामा २ जनाको कोरोनाका कारण मृत्यु भएको बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।

    मृत्यु हुनेमा मोरङको सुनवसी—८ का ४५ वर्षीय पुरुष रहेका छन् । निरन्तर भारत आवजावत गरिरहने ती पुरुषमा ज्वरो र स्वासप्रश्वासमा समस्या देखिएपछि कोभिड अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।

    अवस्था गम्भीर बन्दै गएपछि धरानमा रहेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । अस्पतालको भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो ।

    यस्तै पर्साको वीरगञ्ज—७ का ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ । मुटु र मधुमेह रोगका विरामी उनी एक निजी अस्पतालमा निमोनियाको उपचार गराइरहेका थिए ।

    पर्सा वीरगञ्जकै वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । साउन ७ गते कोरोना पुष्टि भएका ती पुरुष मृगौला सम्बन्धी समस्याबाट पीडित थिए ।

    योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ । यस्तै बिहीबार विभिन्न जिल्लामा गरी थप २ सय ७४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको  मन्त्रालयले जनाएको छ । हालसम्म पुष्टि भएका सङ्क्रमितको जम्मा सङ्ख्या १९ हजार ५ सय ४७ छ।

    प्रतिक्रिया दिनुहोस