२०८१ पौष २१, आईतबार | Sun, 05, Jan, 2025

बजेट विनियोजन प्रणाली अविकासको मुख्य कारकः ताेसिमा कार्की

  • २०८१ पौष १४, आईतबार मा प्रकाशित ६ दिन अघि
  • ओखलढुंगा- प्रतिनिधी सभाका सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डाक्टर तोसिमा कार्कीले अहिलेको बजेट विनियोजन प्रणाली नै अविकासको मुख्य कारक रहेको बताएकी छिन् । रास्वपाको केन्द्रिय सदस्य समेत रहेकी सांसद कार्कीले दुर्गम समृद्धि ल्याउन बजेट विनियोजन प्रणाली फेर्नु पर्ने बताइन् ।

    रास्वपाको जिल्ला भेलालाई सम्बोधन गर्दै कार्कीले जिल्लाको विकासमा निर्वाचित जनप्रतिनधीहरुले जिल्लादेखि केन्द्रसम्म आवाज नउठाएका कारण ओखलढुंगा विकासमा पछि परेको जिकिर गरिन् । दुधकोसी, लिखु र मोलुङ करिडोरजस्ता सडक आयोजनाहरु देखाएर भोट माग्न, जित्ने तर काम पुरा गर्न नलाग्ने नेताहरुलाई अब मत नदिन उनले आग्रह गरिन् ।

    ओखलढुंगाको चर्चित पहिरे खोला पुल सन्दर्भ निकाल्दै पटक पटक ठेक्का लाग्दै नबन्दै गर्नुमा यहाँका नेताहरुको दोष रहेको बताइत् । दुर्गमको विकासमा बजेट अभाव हुने गरेको बताउँदै जनसंख्याका आधारमा बजेट दिने प्रणाली नै गलत भएको बताइन् । विकास भएका ठाउँमा बजेटै बजेट दिने खर्च नहुँने, दुर्गममा बजेट नआउने, आएको दुरुपयोग हुने रोग रहेकाले प्रणाली नै फेर्नु पर्नेमा जोड दिइन् ।

    यसका लागि उनले प्रदेशका संरचनामा सुधार, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्दा लिएर रास्वपा जनता समक्ष आएको प्रष्ट पारिन् । २०८४ निर्वाचनमा जिल्लाका समस्या उठाउने, समाधान गर्ने र यसको अनुभूति दिलाउन सक्ने विकल्प रास्वपा भएकाले सके दल फेर्न नसके मत फेर्न आग्रह गरिन् ।

    उनले जताततै भ्रष्टाचार र कमिसनतन्त्र मौलाएको बताउँदै सत्तासीन दलहरुले भ्रष्टाचार मुद्दामा पाँच बर्षे हदम्याद सहितको विधेयक ल्याएर आफूँ जोगिन लागेको आरोप लगाइन्. उनले संसदीय समितिमा पनि यसबारे आफूले प्रष्ट कुरा राखेको भन्दै हदम्याद मान्य नहुने र चलखेल गरेर विधेयक पास गर्न लागे स्वीकार्य नहुने बताइन् ।

    उनले प्रतिनिधी सभाका सांसद रामहरि खतिवडाले जिल्लाका मुद्दाहरु उठाउने र विकासका योजना ल्याउन नखोजे पनि आफूले अबको संसद बैठकमा त्यसबारे कुरा राख्ने बताइन् । जिल्ला भेलमा सह प्रवक्ता रमेश प्रसाई लगायत नेताहरुले सम्बोधन गरेका थिए । भेलाबाट कृष्णबहादुर थापाको नेतृत्वमा ११ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस