२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024
सिद्धिचरणका जनप्रतिनिधिकाे मन्दिरमोहः

खुल्ला आकाशमुनि खोप केन्द्र, मन्दिर बनाउन डेढ कराेड बजेट

तीन वर्षमा मठ मन्दिरका १२० याेजना, १ कराेड ४९ लाख ६० हजार बजेट

  • २०८१ अषाढ १९, बुधबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकाको वडा नं. ११ स्थित रमाइलोडाँडामा खोप केन्द्र तोकिएको छ । उक्त खोप केन्द्रमा बालबालिकाहरुलाई लगाइने नियमित खोप बिसिजि, डिपिटी तथा पेन्टाभ्यालेन्ट तथा गर्भवती महिलालाई टिडी खोप प्रत्येक महिना लगाइन्छ ।

    उक्त खोप केन्द्र तोकिएको गाउँमा प्रतिक्षालय र बस्न बेञ्च पनि नगरपालिकाले व्यवस्था गरेको छैन । यातायातको टिकट काउन्टरमा केही समयलाई अनुरोध गरेर स्वास्थ्यकर्मीले खोप राख्छन् र बालबालिका र गर्भवतीलाई लगाएर पठाइदिन्छन् ।

    २०८० माघ १० गते भ्याक्सिन बोकेर खोप लगाउन पुगेका स्वास्थ्यकर्मीलाई टिकट काउन्टरका मजदुरले ठाउँ दिन नसक्ने बताएपछि सडकमै अलपत्र परे । भ्याक्सिन राख्न, बालबालिका र गर्भवती राखेर खोप लाउने ठाउँ नै भएन । स्थानीयसँग अनुनय गरेपछि काउन्टरको सानो कोठामा ठाउँ मिलाएर खोप लगाइदिए । यहाँ महिनैपिच्छे स्वास्थ्यकर्मी सेवाग्राहीले यस्तो अवस्था सामना गर्दै आएका छन् ।

    खोप लगाउन पुगेका स्वाथ्यकर्मी हिमाल दाहालले खोप लगाउँदा र लगाएपछि कतिपय बच्चाहरु बेहोस हुन सक्ने, साइड इफेन्ट देखिने भएकाले प्रतिक्षालय र आराम कक्ष अनिवार्य आवश्यक हुने बताउँछन् ।

    सिद्धिचरणमा यसरी खुल्ला आकाशमुनि १५ खोप केन्द्र चलिरहेका छन् । कति महिला स्वास्थ्य स्वयंसेविका घरका आँगन र दलान, कति चौतारा र कतै सडकमै खोप लाउनु पर्ने बाध्यता छ ।

    खोप लगाउन आउनेलाई बस्ने ठाउँ नहुँदा बच्चाहरु बोकेर वा गर्भवतीले उभिएर खोप लाउनु पर्दा यस्तो अवस्था अति नै असुरक्षित रहेको दाहालले गुनासो गरे । ‘धेरै रिक्स मोलेर काम गर्नुपर्छ, प्राविधिक कुरा अरुले बुझ्दैनन्’ उनले अन्नपूणर्सँग भने । खोप केन्द्र भनेर वडा र पालिकाले कुनै व्यवस्था गरेको छैन ।

    सिद्धिचरणमा यसरी खुल्ला आकाशमुनि १५ खोप केन्द्र चलिरहेका छन् । कति महिला स्वास्थ्य स्वयंसेविका घरका आँगन र दलान, कति चौतारा र कतै सडकमै खोप लाउनु पर्ने बाध्यता छ ।

    खोप केन्द्र नहुँदा जटिल समस्या रहेको भए पनि नगरपालिकाले यसतर्फ ध्यान दिन नसकेको सिद्धिचरण नगरपालिका, स्वास्थ्य शाखाका अइतबाहदुर राईले स्वीकारे । ‘हामीले बजेट बनाउँदा कुरा राख्ने गरेका छौं’, उनले भने ‘खोप केन्द्र नहुँदा बर्षाद् र चर्को घाममा निकै कठिन र जोखिमको अवस्था सिर्जना हुन्छ ।’

    नगरपालिकाको १२ वडामा ३७ खोप केन्द्र तोकिएका छन् । तीमध्ये वटा स्वास्थ्य चौकीमा चल्छन् भने अन्यत्र १० वटा निर्माण गरिएका छन् । अझै १५ वटा खोप केन्द्र अत्यावश्यक छन्, तर यसतर्फ नगरपालिकाले विगत ३ वर्षदेखि कुनै बजेट तथा कार्यक्रम नै ल्याएको छैन । बरु बर्षेनी आधा करोड बजेट मठ मन्दिर बनाउन खर्चिदै आएको छ ।

    मठमन्दिर र सामुदायिक भवनका योजनै योजना

    तस्वीरः सिद्धिचरण नगरपालिका वडा नं. ११ स्थित रमाइलोडाँडामा रहेको यातायातको टिकट काउन्टरमा खोप लगाउन उभिएका गर्भवती महिला र बच्चाका अभिभावक ।

    स्वास्थ्यजस्तो संवेदनशील विषयमा नगरपालिकाको चासो नदेखिएपनि मन्दिर मोह भने अचम्मको छ । नगरपालिकाको तीन वर्षको बार्षिक बजेट र नीति तथा कार्यक्रममा आरामदायी खोपकेन्द्र बनाउने न बजेट छ न योजना नै ।

    तर, नगरपालिकाले वडादेखि पालिकास्तरका योजनाहरुमा समेत मठमन्दिर र सामुदायिक भवन बनाउन प्रथामिकता मात्रै दिएको छैन, योजनालाई बहुबर्षेमा रुपान्तरण गरेर बजेट खर्चिरहेको छ ।

    आर्थिक वर्ष २०७९/०८० मा नगरपालिकाको वडा नं. १ ले मात्रै २८ वटा मन्दिर निर्माणका योजना प्रस्ताव गरेको थियो । यिमध्ये धेरैमा बजेट राखेर काम भयो । नगरभरिमा त्यस वर्ष ६८ मन्दिर र ७ वटा गुम्बालाई बजेट बिनियोजन गरिएको थियो । यी योजनाहरुका लागि ५५ लाख बढी बजेट थियो ।

    यो वर्ष खोप केन्द्र बनाउन ९ लाख बजेट थियो । तर, स्वास्थ्य शाखाको सर्शतको ५ लाख बजेट पनि व्याडमिन्टन कोर्ट बनाउन खर्च गरिएको नगरपालिकाको बार्षिक योजनामा उल्लेख छ ।

    चालु आर्थिक बर्ष २०८०/०८१ मा पनि नगरपालिका मन्दिर मोह कम भएको छैन । यस बर्ष २३ मन्दिर, ३ गुम्बा र २ देवी देवालीस्थान निर्माण भनेर बजेट बिनियोजन गरियो । यी योजनामा ३८ लाख ३० हजार बजेट तोकिएको थियो । यस वर्ष खोप केन्द्र बनाउने एउटै योजना पनि नगरपालिकाको प्रथामिकतामा परेन ।

    नगरपालिकाले असार १० गते आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट र नीति तथा कार्यक्रम ल्याएको छ । नीति कार्यक्रममा स्वास्थ्य संस्थाको सेवालाई प्रभावकारी र पारदर्शी बनाउने उल्लेख गरे पनि खोप केन्द्रका योजना परेनन् ।

    बजेटमा खोप केन्द्रभन्दा नगरपालिकाको मन्दिर मोह झन् बढेर गएको देखिन्छ । जनताबाट अत्याधिक माग आएर नै मन्दिरका योजना परेको सिद्धिचरणका मेयर तेजन खनाल बताउँछन् । ‘हामीलाई पनि यो विषय लागेकै हो, वडा र गाउँबाटै नागरिकले माग्छन्, नदिएर पनि भएन’ उनले पन्छिने शैलीमा भने ।

    नगरस्तरबाटै ६ योजनामा २० लाख बजेट मन्दिरलाई छुट्याउँदा खोपकेन्द्रमा बजेट शून्य छ । यो वर्ष जम्मा वडा र पालिकास्तरबाट गरेर ५६ लाख ३० लाख बजेट मन्दिरमा राखिएको छ ।

    आगामी वर्षका लागि बजेटका योजनामा २२ वटा समेटिएका छन् । वडास्तरबाट ९ वटा वडाले १६ वटा योजनामा मन्दिर समेटेका छन् । वडा न. ६, ८ र १२ ले भने मन्दिरमा बजेट हालेका छैनन् । नगरस्तरबाटै ६ योजनामा २० लाख बजेट मन्दिरलाई छुट्याउँदा खोपकेन्द्रमा बजेट शून्य छ । यो वर्ष जम्मा वडा र पालिकास्तरबाट गरेर ५६ लाख ३० लाख बजेट मन्दिरमा राखिएको छ ।

    नगरपालिकाको योजनाको प्रथामिकताबारे नेकपा एमालेका नगर अध्यक्ष प्रकाश कट्वालले कुटनीतिक शैलीमा टिप्पणी गरे । ‘मन्दिर भन्ने वित्तिकै आस्था र विश्वासको विषय जोडिएको हुन्छ, स्थानीयको माग आउनु स्वाभाविक छ तर, नगरले आफ्ना प्रथामिकता र आवश्यकताको पहिचान गर्नुपर्छ, तर यो सोच देखिएन’ कट्वालले भने ।

    वडा नं. ९मा दुईवटा मन्दिरका योजना त बुहुबर्षे बनाएर आगामी बर्षलाई एकै मन्दिरमा वडा र पालिकाबाट समेत दोहोरो बजेट हालिएको छ । मन्दिरमा मात्रै होइन खासै उपयोग नहुने स-सना सामुदायिक भवन पनि पालिकाको प्रथामिकतामा छन् ।

    सामाुदायिक भवनका नाममा पालिकाभरि १८ योजनामा बजेट बाँडिएको छ । बजेट पेश मात्रै भएका छलफलबाट परिमार्जन हुन सक्ने नगरपालिकाका उप्रमुख केदारबाबु बस्नेतले बताए ।

    यसरी नगरपालिकाले आगामी वर्ष प्रस्तावित बजेट पनि खर्चने हाे भने तीन वर्षमा १२० याेजनामा १ कराेड ४९ लाख ६० हजार बजेट हुने छ । स्थानीय सरकारकाे याेजनामा स्वास्थ्यभन्दा मन्दिर प्रथामिकतामा पर्नुका पछि कारण बुझिनसक्नु छ ।

    (यहाँ उल्लेख गरिएका तथ्यांक सिद्धिचरण नगरपालिकाकाे आर्थिक वर्ष २०७९-८०, २०८०-०८१ काे वार्षिक याेजना किताव र आगामी आब २०८१-०८२ काे बजेट वक्तव्यबाट लिइएकाे हाे ) 

    प्रतिक्रिया दिनुहोस