२०८१ कार्तिक २, शुक्रबार | Fri, 18, Oct, 2024
ओखलढुंगाका आठै तहमा आयाे बजेट

सिद्धिचरणमा नीति तथा कार्यक्रम र बजेटका प्रथामिकता फरक

  • २०८१ अषाढ १०, सोमबार मा प्रकाशित ३ महिना अघि
  • ओखलढुंगा-  ओखलढुंगाको एकमात्र नगरपालिका सिद्धिचरणले नीति तथा कार्यक्रम र बजेट ल्याएको छ । १४ औं नगरसभामा पालिका प्रमुख तेजन खनालले पेश गरेको नीति तथा कार्यक्रम संसोधनसहित पारित भएको छ । सभाका सदस्यहरुले पेश गरेको संसोधन समेटेर नीति तथा कार्यक्रम पास गरिएको नगरप्रमुख खनालले बताए ।

    खनालले पेश गरेको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी, शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य क्रमशः प्रथामिकतामा छन् । प्रस्तुत नीति तथा कार्यक्रममाथि वडा अध्यक्षहरु बशन्त कट्वाल, मेखबहादुर मगर तथा कार्यपालिका सदस्य चौसिला विशंखेले सुझाव तथा संसोधन पेश गरेका थिए ।

    वडा नं. २ का अध्यक्ष वशन्त कट्वालले नीति तथा कार्यक्रममा समेटिएको रसायनिक मल ढुवानीमा अनुदान दिने विषयमाथि संसोधन गर्दै रसायनिक मल मुक्त बनाउन अर्गानिक मल प्रयोग गर्ने किसानलाई प्रोत्साहन दिनु पर्ने सुझाव पेश गरे । त्यस्तै बालीमा वन्यजन्तबाट हुने क्षति कम गर्न नियन्त्रण गर्ने विषयमा उनले नियन्त्रणभन्दा किसानलाई क्षतिपूर्ति दिने नीति ल्याउनु पर्ने बताएका थिए ।

    उनले नीति कार्यक्रमले स्थानीय सञ्चालमाध्यमहरुमा पत्रपत्रिका र रेडियो मात्र समेटिएको भन्दै अनलाइन मिडियाहरुलाई समेटर सहुलियत दिनु पर्नेमा जोड दिए । वडा नं. ६ का वडा अध्यक्ष मेखबहादुर मगरले अर्गानिक भिलेज बनाउने नीति ल्याउन माग गरे ।

    बजेटकाे प्रथामिकतामा क्रमश शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपन्छी  छन् ।  नीति तथा कार्यक्रममा भने कृषि तथा पशुपन्छी, शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य क्रमशः प्रथामिकतामा छन् । यसरी नीति तथा कार्यक्रम र बजेटको प्रथामिकता फरक फरक देखिएकाे छ ।

    कार्यपालिका सदस्य चौशिला विशंखेले सार्वजनिक स्थलमा अझै पनि दलितमाथि विभेद र छुवाछुतको व्यवहार भइरहेको बताउँदै यस्तो विभदे हटाउन नगरपालिकाले नीति ल्याउनु पर्ने बताइन् । नीति कार्यक्रममा यो विषय समावेश गर्न माग गरिन् । सभाका सदस्यहरुको संसोधन सुनेपछि सभाध्यक्ष नगरप्रमुख खनालले नीति कार्यक्रम संसोधनसहित पास भएको घोषणा गरे ।

    लगत्तै उपप्रमुख केदारबाबु बस्नेतले बजेट तथा आर्थिक विधेयक पेश गरेका थिए । बस्नेतले आगामी आर्थिक वर्षका लागि ६६ करोड ८१ लाख ५ हजार ८१७ रुपैंयाको बजेट पेश गरेका थिए । बजेटको चालुतर्फ ११ करोड ६१ लाख खर्च प्रस्ताव गरिएको छ । वस्नेतले बजेटको स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त अनुदान, नगरको आन्तरिक आय १ करोड ७५ लाख र मालपोतकर बापत प्राप्त हुने करबाट व्यहोरिने उल्लेख गरेका छन् ।

    बस्नेतले बजेटमा प्रथामिकतामा शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपन्छी क्रमश प्रथामिकतामा राखेका छन् । उता नगर प्रमुख खनालको नीति तथा कार्यक्रममा कृषि तथा पशुपन्छी, शिक्षा, युवा तथा खेलकुद र स्वास्थ्य क्रमशः प्रथामिकतामा छन् । यसरी नीति तथा कार्यक्रम र बजेटको प्रथामिकता फरक परेको विषयमा प्रमुख खनालले यो अन्तिम बजेट नभएकाले छलफलपछि संसोधन गरेर पारित हुने जनाए ।

    सभाले नगर शिक्षा ऐन २०७५ संसोधन प्रस्ताव, बाल कल्याण तथा लैंिगक सामानता र समावेशिकरण नीति समेत पारित गरेको छ ।
    सभामा पेश भएको नीति तथा कार्यक्रम र बजेटको प्रथामिकीकरण मेल खाँदैन । जिल्लाका अन्य सात स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट ल्याएका छन् । लिखु तथा खिजीदेम्वाले असार ९ गते गाउँ सभामा पेश गरेका थिए । ओखलढुंगामा एक नगरपालिकासहित ८ स्थानीय तह छन् ।

    प्रतिक्रिया दिनुहोस