२०८१ भाद्र २३, आईतबार | Sun, 08, Sep, 2024

यसकारण बच्चाको दाँत कीराले खान्छ, कसरी बचाउने ?

  • २०८१ अषाढ ६, बिहिबार मा प्रकाशित २ महिना अघि
  • दाँतमा कीरा लाग्ने समस्या बालबालिकामा देखिने मुख्य समस्या हो । त्यसैले यो समस्याबाट बचाउन अभिभावकले केही कुरामा विशेष ध्यान दिनुपर्छ ।

    बच्चाको दाँतमा कीरा लाग्ने समस्या विकराल रूपमा देखिनुको मुख्य कारण मुखको सरसफाइमा कमी, खानाको तरिकामा आएको परिवर्तन हो ।

    शिशुलाई दूध चुसाएपछि दाँत सफा नगरिदिनु, खाना खाएपछि दाँत ब्रस नगरिदिनु, धेरै गुलियो तथा दाँतमा टाँसिने खानेकुरा खान दिनु, दाँतमा टाँसिने खाना खाएपछि दाँत नमाझ्नु, बच्चाको दाँत फेरिने त हो नि भनेर अभिभावकले बेवास्ता गर्नु जस्ता कारणले बच्चाको दाँत कीराले खाने गर्छ ।

    खाना खाएपछि कुल्ला वा ब्रस नगर्दा मुखमा बाँकी रहेका अन्नका कण, मुख्यतः गुलियो र स्टार्चलाई २० मिनेटभित्रै ब्याक्टेरियाले अम्लमा परिवर्तित गर्छ । ब्याक्टेरियाले उत्पन्न गराउने यो अम्लले मुखको र्‍यालसँग मिलेर प्लाक नामक टाँसिने पदार्थ बनाउँछ । यो दाँतमा टाँसिन्छ ।

    यदि धेरै दिनसम्म दाँतको सफाइ हुन सकेन भने प्लाक कडा भएर ‘टार्टर’ बन्छ । टार्टरले दाँत र गिजालाई बिगार्न थाल्छ । प्लाकको ब्याक्टेरियाले दाँतमा प्वाल बनाउँछ । यही प्रक्रिया नै दाँतमा कीरा लाग्नु हो ।

    बच्चाको दाँत कीराले खानबाट कसरी बचाउने ?

    बच्चाको दाँतको हेरचाह बेलैदेखि गरिएन भने सानैदेखि कीराले खाने समस्या देखिन्छ । त्यसैले सानैदेखि अभिभावकले बच्चाको दाँतको हेरचाह गर्नुपर्छ । धेरै अभिभावकले दूध खाने बच्चालाई दूध खुवाएर सुताइदिन्छन् तर मुख सफा गर्नुपर्छ भन्ने कुरामा ध्यान दिंदैनन् । तर दूध खाने बालबालिकाको पनि मुखको हेरचाह गर्नुपर्छ । बच्चालाई दूध चुसाएपछि नरम कपडालाई पानीमा भिजाएर उसको मुख सफा गरिदिनुपर्छ ।

    ६ महिनापछि बच्चालाई पानी खुवाउन मिल्छ । बच्चाले दूध खाएपछि  दूधको बोतलमा सफा पानी हालेर थोरै चुसाइदिनुपर्छ । यसो गर्दा मुखमा दूध जम्न पाउँदैन र कीराले दाँत खाने सम्भावना कम रहन्छ ।

    दाँत पलाएपछि बच्चाले जबसम्म थुक्न र कुल्ला गर्न जान्दैन, तबसम्म अभिभावकले नै नरम टुथब्रसले दाँत सफा गरिदिनुपर्छ । बिस्तारै ठूलो भएपछि कुल्ला गर्न जानेपछि उसलाई ब्रस दिएर गर्न लगाउने र आफूले पनि गरिदिने गर्नुपर्छ । उसले ब्रस गर्दा राम्ररी गरेको छ कि छैन भनेर हेर्नुपर्छ र सिकाउनुपर्छ ।

    बच्चाको  एक वर्ष पूरा भएपछि दन्तरोग विशेषज्ञकहाँ गएर दाँतको जाँच गराउनुपर्छ । समय-समयमा चिकित्सककहाँ जानुको अर्को फाइदा के छ भने यसले थप जटिलता र पैसा खर्च हुनबाट पनि जोगाउँछ । परीक्षणले दाँतको समस्या अरू बढाउन दिंदैन र बच्चालाई थप पीडा पनि हुँदैन ।

    साना बालबालिकाले दाँत माझ्ने क्रममा फ्लोराइड (टुथपेस्टमा हुने एक तत्त्व) निल्ने सम्भावना बढी हुन्छ । त्यसैले उनीहरूका लागि कम फ्लोराइड भएको मञ्जन वा सम्भव भएसम्म फ्लोराइड नभएको मञ्जन उचित हुन्छ । त्यसैले चिकित्सकको सल्लाहअनुसारको मञ्जन दिनुपर्छ । जब बालबालिका थुक्न सक्ने र उनीहरूमा मञ्जन निल्नु हुँदैन भन्ने ज्ञान हुन्छ तब फ्लोराइडयुक्त मञ्जन दिन सकिन्छ ।

    धेरै अभिभावकले छिनछिनमै चकलेट, आइसक्रिम, जुस आदि खानेकुरा खुवाइरहेका हुन्छन् । यसरी पटक-पटक खाइरहँदा मुखमा खानेकुरा जम्ने सम्भावना हुन्छ । जसले गर्दा दाँत कीराले खाने समस्या बढी देखिन सक्छ । त्यसैले यस्तो खानेकुरा खुवाउन जति कम गर्‍यो, त्यति नै दाँतको हेरचाह गर्न सजिलो हुन्छ । बच्चाले खाइहालेमा कुल्ला गर्न सिकाउनुपर्छ ।

    आजभोलि धेरै बालबालिकाले विद्यालयमा नै बिहानको खाना खाजा खाने गर्छन् । त्यसैले प्रत्येक विद्यालयले बालबालिकालाई बिहान–बेलुका दाँत माझ्न प्रेरित गर्नुपर्छ ।

    अनलाइन खबरबाट साभार

    प्रतिक्रिया दिनुहोस