ओखलढुंगा — ओखलढुंगाको चम्पादेवी गाउँपालिका–७ फूलबारीमा जंगली च्याउ खाँदा मंगलबार एकै परिवारका दुई जनाको मृत्यु भएको छ । दुई जनाको अवस्था गम्भीर छ ।
मृत्यु हुनेमा ९३ वर्षीया मनमाया विष्ट र २४ वर्षीया ढककुमारी लामिछाने छन् । ढककुमारीको ओखलढुंगा सामुदायिक अस्पताल मिसनमा उपचारका क्रममा मृत्यु भएको थियो ।
गम्भीर रहेका थप तीनजना ढककुमारीका श्रीमान् २७ वर्षीय राजन विष्ट, हजुरआमा मनमाया विष्ट र ढककुमारीकी नाबालिका छोरी तीन वर्षीया छोरी सरिस्मा विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाडौं लगिएको थियो ।
उपचारका लागि लगिएकामध्ये हजुरआमा मनमायाको शिक्षण अस्पतालमै उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए । प्रहरीलाई ढिलो गरी जानकारी प्राप्त भएकोले घटनास्थलतर्फ प्रहरी गइरहेको र कस्तो किसिमको च्याउ खाएको भन्ने बारेमा थाहा हुने प्रहरी निरीक्षक दासले बताए ।
प्रतिक्रिया दिनुहोस