ओखलढुंगा- नेकपा एमालेमा उम्मदवार छनाैटमा रस्साकस्सी छ । पालिकाबाट सिफारिस नभएका नेताहरु पनि उम्मेदवार बन्न नेताहरुकहाँ धाउन र मिडियाबाजी गर्न थालेका छन् ।
८ स्थानीय तहमध्ये सबै पालिकाबाट उम्मेदवार सिफारिस भएका छन् । कतिपय तहमा भने ६/७ जना समेतकाे नाम आएर ३ जनाकाे नाम प्रदेश पठाउन समस्या भएकाे जिल्ला सचिव कमल न्याैपानेले बताए । वडामा भने ३७ वडामा सर्वसम्मत भइसकेकाे उनकाे भनाइ छ ।
दुई पालिकामा भने पालिका कमिटीले १/१ जनाकाे मात्रै नाम सिफारिस गरेकाे छ । चिशंखुगढी गाउँपालिका र मानेभञ्ज्याङ गाउँपालिकाले भने प्रमुखमा १/१ जना मात्रै सिफारिस गरेकाे हाे । चिशंखुमा जीवनकुमार थापा र मानेभञ्ज्याङमा रुपलाल तामाङकाे एकल नाम जिल्लामा आएकाे हाे ।
पालिका कमिटीले निर्णयसहित सिफारिस पठाएकाे हाे । चिशंखुमा ८ वडामा वडा अध्यक्षका ३/३ जना आकांक्षी तथा उपप्रमुखमा चम्पा राई सुस्मिका राई र लक्ष्मी कार्कीकाे नाम पठाएकाे छ ।
यद्यपी पालिका प्रमुखमा जिल्ला कमिटीका उप सचिव अशाेक थापाले जिल्लाबाट आफ्नाे नाम सिफारिस प्रदेश पठाउन माग गरेकाले केही नेताले ‘चिशंखुमा दावी गर्ने अरुपनि छन्’ भन्न थालेका छन् ।
प्रतिक्रिया दिनुहोस