ओखलढुंगा- जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा कर्मचारीमाथि गरेकाे अमानवीय व्यवहार विरुद्ध ओखलढुंगामा कार्यरत इञ्जिनियर तथा प्राविधिक कर्मचारीले सरकारकाे ध्यानाकर्षण गराएका छन् । विभिन्न मागसहित जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाएका उनीहरुले कर्मचारीकाे सुरक्षाकाे सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार जनमत पार्टीका कार्यकर्ताले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, जनकपुरधामका निमित्त आयोजना प्रमुख ईन्जिनियर राजेश कुशवाहमाथि दुर्व्यवहार गरेका थिए । कार्यलयबाटै अर्धनग्न बनाइ निकालेर नगर घुमाएका थिए ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएकाे ज्ञापन पत्रमा ‘देशमा कानून र राज्य हुँदाहुँदै कानून तथा वार्ताको माध्यमबाट कुनै समस्याको समाधान खोज्नु पर्नेमा उदण्डता र अराजकताको पराकाष्ठा नाघ्दै कानून हातमा लिएर उच्छृङ्खल गतिविधि गरि एक राष्ट्रसेवक कर्मचारी माथि गरिएको दुर्व्यवहारपूर्ण घटना क्षम्य हुन नसक्ने’ उल्लेख छ ।
जनमत पार्टीका प्रमुख राउतसहित घटनामा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गरी कडाभन्दा कडा कारवाही गर्न माग गरिएकाे छ । पेशागत रुपमा ईन्जिनियर समेत रहेका जनमत पार्टीका प्रमुख सिके राउतको यस्तो कदमले ईन्जिनियर पेशाको गरिमा र मर्यादा हनन् भएको भन्दै उनीहरुले राउतको नेपाल ईन्जिनियरिङ परिषदको दर्ता प्रमाणपत्र तत्काल खारेज गर्न पनि माग गरेका छन् । दाेषिमाथि कारवाही नभए कडा कदम चालिने उनीहरुकाे चेतावनी छ ।
प्रतिक्रिया दिनुहोस