ओखलढुंगा– नेपाली सेनाको अरिदमन गणले मानेभन्ज्याङ गाउँपालिकाको केन्द्र मानेभन्ज्याङ बजारमा वितरित खानेपानीको मुहान व्यवस्थापन र ट्यांकी निर्माण गरेको छ । मानेभन्ज्याङ गाउँपालिका ४ परङ्गासमा रहेको मुहान व्यवस्थापन र ट्यांकी निर्माण गरि शुक्रबार उपभोक्ता समितिलाई हस्तान्तरण गरेको हो ।
नेपाली सेनाले मानेभन्ज्याङमा विभिन्न समयमा तालिम संचालन गर्ने क्रममा पिउने पानीको अभाव भोगेका थिए । सोही समस्याको समाधानका लागि अरिदमन गणले सेनाको जंगी अड्डामा पत्राचार गरेको थियो । सेनाको जनहित कार्यक्रम अन्तर्गत गाउँपालिकासँगको समन्वय अरिदमन गणले दुई महिना अवधि लगाएर ट्याङकीसँगै मुहान व्यवस्थापनको काम सम्पन्न गरेको अरिदमन गणका प्रमूख सेनानी विशाल सिंहले बताए ।
अरिदमन गणले मानेभन्ज्याङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष रामजी राईलाई काम सम्पन्न पश्चात औपचारिक रुपमा उद्घाटन सहित हस्तान्तरण गरेको हो । मानेभन्ज्याङ गाउँपालिकाका अध्यक्ष मोतीराज राईले अरिदमन गणको सहयोगको प्रशंसा गरे । मानेभन्ज्याङमा भएको पानीको अभावलाई सेनाले आफ्नै समस्या सम्झेर गरेको सहयोग अतुलनीय भएको गाउँपालिका अध्यक्ष राईले बताए ।
गाउँपालिकाले अरिदमन गणलाई कदर पत्र समेत प्रदान गरेको छ । मुहान व्यवस्थापनमा सेनाले निकै राम्रो काम गरेपनि मुहान भन्दा तलको भागमा पानी चुहावट भएको अनुमान छ । पानीको चुहावट रोकेर मर्मत गर्न सके हालको अभावलाई केही टेवा पुग्ने आशा गरिएको छ । २०५४ सालदेखि संचालित परङ्गासको रातोपानी मुहान मार्फत मानेभन्ज्याङका २ सय ८० घरधुरीले पानी पिउँदै आएका थिए ।
मानेभन्ज्याङ गाउँपालिकाको अधिकांश भेग पिउने पानीको मुहान अभावको कारण गाउँपालिकाले मोलुङ खोलाको पानी लिफ्टिङ गरि वितरण र्गर्न ठेक्का लगाईसकेको छ । सात करोडमा ठेक्का लागेको सो योजना दुईवर्षभित्र सम्पन्न गर्ने सम्झौता रहेको छ ।
प्रतिक्रिया दिनुहोस