ओखलढुंगा- नागरिक मिडियामा यसअघि प्रकाशित ‘चम्पादेवी गाउँपालिकाको करोडौँको ठेक्का सेटिङमा’ शीर्षकको समाचारमा गाउँपालिकाको प्रमूख प्रशासकीय अधिकृतले गलत जानकारी दिएका छन् ।
१५ शय्याको रानीवन अस्पताल भवनको ठेक्का खानी लुम्बिनी जेभीसँग सम्झौता भएको थियो । तर निमित्त प्रमूख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदीले रसुवा कन्सट्रक्सनसँग सम्झौता गरिएको बताएका थिए । नागरिक मिडियालाई सो ठेक्का खानी लुम्बिनी जेभीले पाएको जानकारी थियो । तर प्रमूख प्रशासकीय अधिकृतले रसुवा कन्सट्रक्सनले पाएको दाबी गरेपछि सोही जानकारी अनुसारको समाचार प्रकाशन गरिएको थियो ।
खानी लुम्बिनीको नाममा आशयपत्र प्रकाशन भएको सूचना प्राप्त भएपछि प्रमूख प्रशासकीय अधिकृत सुवेदीले गल्ती गरेको भन्दै माफी मागेका छन् । ‘मैले खानी लुम्बिनीको ठेकेदारको नम्बर रसुवा कन्सट्रक्सन भनेर सेभ गरेको रहेछु ।’ उनले भने, ‘सरी म बाट गलत जानकारी तपाईँले पाउनुभयो ।’
१७ करोड २९ लाख ३९ हजारमा अस्पताल भवनको लागि ठेक्का लागेको थियो । ठेक्का खानी लुम्बिनीलाई दिनका लागि गाउँपालिकाले डिपिआर परिमार्जन गर्न लगाएका थिए । प्रमूख प्रशासकीय अधिकृत सुवेदीले चाहीँ डिपिआर परिमार्जन नगरिएको बताए । निर्माण व्यवसायीहरुकै अनुसार कम्तिमा पनि ७ प्रतिशत कमिसनमा गाउँपालिकाले सेटिङमा खानी लुम्बिनीलाई ठेक्का दिएको हो ।
प्रतिक्रिया दिनुहोस