२०८१ बैशाख १२, बुधबार | Wed, 24, Apr, 2024
जातीय विभेदकाे पराकाष्ठा

कथित ‘अजात’की केटी ल्याएको भन्दै बाबुको काजक्रियामा राेक

वडा अध्यक्ष नै मुछिए जातीय विभेदमा !

  • २०७८ अषाढ ४, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ओखलढुङ्गाः जात नमिल्ने केटी विवाह गरेको भन्दै चम्पादेवी गाउँपालिका ३, ताप्केडाँडाका मित्रबहादुर तामाङको अन्यष्टिमा दुई छोराहरुलाई सहभागी हुनबाट बञ्चित गरिएको छ ।

    गत जेठ २९ मा घरमै निधन भएका ७० वर्षयी तामाङका चार भाई छोराहरु छन् । त्यसमध्ये माइला शंकर तामाङ र कान्छो प्रदीप तामाङलाई अन्र्तजातीय बिहे गरेको कारण देखाएर बुवाको अन्त्येष्टिमा सहभागी हुन समाजले रोक लगाएको हो । उक्त कामको नेतृत्व वडा अध्यक्ष बलबहादुर तामाङ आफैंले गुर्नभएको आराेप छ ।

    वडाअध्यक्ष तामाङले समुदायलाई उकासेर बुवाको मुख हेर्न सम्म नदिएको शंकर र प्रदीपको गुनासो छ । बुवा बितेको खबर सुनेपछि शंकर धादिङबाट र कान्छो प्रदीप काठमाडौंबाट घर पुगेका थिए । तर बुवाको अन्त्येष्टि स्थलमा पुगेका उनीहरुलाई माटो चढाउन पनि रोक लगाइयो ।
    ‘यदि म र मेरो भाइ कान्छाले छोयौँ भने सबै मलामी फर्किन्छौ भनेर रोकियो’ शंकरले भन्नुभयो, ‘त्यसपछि आमा रुनुभयो र तिमीहरु फर्क नत्र म झुन्डिएर मर्छु भनेपछि हामी त्यही दिन काठमाडौं फर्कियौँ ।’ उनीहरु फर्किएपछि जेठो यामबहादुर र साईला तुलबहादुरले बुवाको अन्त्येष्टि तथा परम्परा अनुसार कामकाज गरेका छन् ।

    शुक्रबार घरमा बुवाको काजकिरिया भईरहेको छ । तर माइलो र कान्छो काठमाडौंमै छन् । अन्त्येष्टिका मूख्य पूजारी लामाले क्रियापुत्रीको रुपमा सहभागी भए पनि हुनु भने पनि वडा अध्यक्ष बलबहादुर तामाङको नेतृत्वमा गाउ“लेले नदिएको उहाँहरुको आरोप छ ।
    ‘तिमिहरु कानुनी रुपले जहाँ गए पनि जाउ, अन्तिममा मिल्ने समाजमै हो । देशको कानुन र समाजको कानुन फरक हुन्छ भनेर वडा अध्यक्षले थर्काए’ शंकरले भन्नुभयो ।

    शंकरले क्षत्री थरकी र कान्छा भाइ प्रदिपले दलित समुदायकी केटी विवाह गर्नुभएको थियो । यो जातीय कारण देखाएर विभेद गरिएको पहिलो घटना भने होइन । सोही गाउ“का राजु तामाङले दुईवर्ष अघि हजुरबुवा बित्दा आफूलाई अन्र्तजातीय बिहे गरेको भन्दै विभेदको प्रयास गरिएको बताउनुभयो ।

    वडाअध्यक्ष बलबहादुर तामाङ भने यो आरोप सरासर झुटो भएको दावी गर्नुभएको छ । ‘उनीहरु दाजुभाईमै कुरा भएपछि आफैले हामी छुँदैनौँ भनेर हिँडेका हुन् ।’ वडाअध्यक्षले भन्नुभयो, ‘मेरो कुनै भूमिका छैन ।’ तर उहाँले मंगलबार भने संचारकर्मीस“गको टेलिफोन कुराकानीमा तामाङ समुदायको संस्कार भएकोले त्यही अनुसार उनीहरुलाई रोक लगाइएको जवाफ दिनुभएको थियो ।

    जातीय विभेदको शिकार बनेका छोराहरु राजनीतिक रंग गा“सिएको बताउ“छन् । राजनीतिक रुपले समर्थन नगर्ने भएकोले वडाअध्यक्षको भूमिका यस्तो हुनसक्ने अनुमान गरिएको छ । किनभने अघिल्लो वर्ष मात्रै वडाअध्यक्षको हजुरआमा बित्दा उहाँका काकाले नेवार थरकी केटी विवाह गरेको भए पनि काज किरियामा सहभागी गराइएको थियो ।

    दलित अधिकारकर्मी बलबहादुर परियार देशको कानुन एउटा र गाउ“मा ठूलाठालुले चलाउने अर्को कानुन भएको बताउनुहुन्छ । जातीय विभेद गरेमा कडा कारवाही हुने कानुनी व्यवस्था भए पनि स्थानीय स्तरमा टाठाबाठाकै अगुवाइमा यस्ता घटना हुँदै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस