२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

नदि उत्खनन् गर्ने तीन समातिए, हाेला त कारवाही ?

  • २०७८ जेष्ठ २३, आईतबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- जिल्लामा नदीजन्य वस्तु उत्खनन् र दाेहन बढेकाे छ । विभिन्न निर्माणका याेजनाहरुमा गैरकानुनी हिसावले उत्खनन् र दाेहन बढे पनि नियमक निकायले भने चासाे नदिएकाे आराेप छ ।

    राजनीतिक पहुँच, पद र प्रतिष्ठाकाे प्रभावमा जनप्रतिधिका आसेपासे यस्ता काममा संलग्न भएकाले कारवाही हुन नसकेकाे हाे । यसरी दाेहन र उत्खनन् गर्ने क्रममा ३ जना कामदार भने समातिएका छन् । उनीहरुलाई नदीजन्य प्राकृतिक सम्पदा दोहन गरेको आरोपमा प्रहरीले सवारी साधनसहित प्रहरीले नियन्त्रणमा लिएको  हाे ।

    मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ०७ स्थित सुनकोशी नदी र भडारे खोलाको दोभानबाट अबैध रुपमा नदी जन्य पदार्थ उत्खनन गरी थुपार्दै गरेको अवस्थामा सवारी साधन सहित ३ जना चालक र उत्खननमा संलग्न अर्का एक व्यक्तिालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएकाे छ ।

    सुनकोशी नदी र भडारे खोलाको दोभानमा करिब १५ टिफर बालुवा उत्खनन गरी थुपारी राखी रहेको अवस्थामा प्रहरी चौकी हर्कपुर ओखलढुंगाबाट रामकृष्ण राईको कमाण्डमा खटिएको गस्ति टोलीले २ वटा टिफर र १ वटा जेसिबी सहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बतायाे ।

    प्रहरी प्रमुख गोविन्दराज काफ्लेले नियन्त्रणमा लिएको १५ टिफर बालुवा सहित ३ जना चालक र अर्का एक व्यक्तिाई आवश्यक कारबाहीको लागि मानेभञ्ज्याङ गाउँपालिकालाई पत्र सहित बुझाएको जानकारी दिए ।

    गाउँपालिकाले आवश्यक कारवाही नगरेमा प्रहरी प्रशासनबाटै नियमानुसार कारबाही प्रकृया अघि बढाइने प्रहरी प्रमुख काफ्लेले बताए । यसरी नदीजन्य प्राकृतिक सम्पदाबाट ढुङ्गा, माटो, गिटी, बालुवा लगायत उत्खनन् गर्न ठेक्का लागेको हुनेपर्ने भए पनि  गैरकानुनी तरिकाले उत्खनन् भएको पाएपछि नियन्त्रणमा लिएको उनको भनाइ छ ।

    प्रहरीले कामदार समाते पनि तिनका मालिक भने समाएन । गाउँपालिका समन्वय समिति र जिल्ला प्रशासनले कडाइ नगर्दा नदीजन्य वस्तुकाे गैर कानुनी उत्खनन् र दाेहन बढिरहेकाे छ ।

    प्रतिक्रिया दिनुहोस