ओखलढुंगा- प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानमाथि श्रृखलाबद्ध रूपमा भइरहेका प्रहार भन्दै विवेकशील साझा पार्टी गम्भीर चिन्ता व्यक्त गरेकाे छ।
संविधानको रक्षा गर्ने दायित्व बोकेको राष्ट्रपति संस्थाको बारम्बार साख गिराउने, अपमान गर्ने र ‘देशको होइन केवल प्रधानमन्त्रीको राष्ट्रपतिका रूपमा काम गर्ने’ विद्यादेवी भण्डारीमाथि तत्काल महाभियोग लगाउन माग गरेकाे हाे ।
साझाले राष्ट्रपतिलाई पदमुक्त गर्दै संसद्मा प्रधानमन्त्री ओलीको विपक्षमा रहेका दल तथा सांसदहरू एक जुट भई नयाँ सरकार गठनका लागि पहल गर्न आह्वान गरेकाे छ ।
विज्ञप्तिमा भनिएकाे छ, ‘संविधानतः प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्नु पर्नेमा त्यस विपरीत हिजो बिहीबार साँझ नयाँ प्रधानमन्त्री नियुक्तिका लागि अघि बढाइएको प्रक्रियाबाट संविधानको ठाडो उल्लङ्घन भएको छ। प्रधानमन्त्री ओलीको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदाझैँ रबर स्ट्याम्पसरह सदर गर्नु पुरापुर असंवैधानिक कदम हो।’
अगाडि भनिएकाे छ, ‘त्यसमाथि वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मात्र समय दिइनु ओलीलाई नै फेरी प्रधानमन्त्री बनाएर संसद् विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने पुरानै षड्यन्त्रको निरन्तरता हो।’
हाल विकराल बनेको कोरोना महामारीको तेस्रो लहरले झनै भयावह स्थिति ल्याउने चेतावनी विज्ञहरूले दिइरहँदा मुलुकलाई चुनावतर्फ धकेल्न खोज्नु अक्षम्य अपराध रहेकाे ठहर गरिएकाे विकेशील शाझाका प्रवक्ता शरदराज पाठकले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
‘संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र ओलीको विकल्प दिन संसद्मा रहेका सबै विपक्षी दल तथा सांसदहरू एक ठाउँमा उभिनु अत्यन्त जरुरी छ’ साझाले भनेकाे छ ।
प्रतिक्रिया दिनुहोस