ओखलढुंगा- ओखलढुंगामा समुदाय स्तरमै काेराेना संक्रमण फैलिएकाे छ । बाहिरबाट आउनेबाट सरेकाे संक्रमण कमर्चारी हुँदै समुदायमा पुगेकाे छ । चिशंखुगढी गाउँपालिका, माेलुङ गाउँपालिका र सिद्धिचरण नगरपालिकामा समुदायस्तरमा फैलिएकाे छ ।
चिशंखुगढीमा ३० जनाको कोरोनाको पीसीआर परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण देखिएपछि चिशंखुगढी गाउँपालिकाको वडा नं ५ लाई ‘रेड जोन’ घोषणा गरिएको छ । आज बसेको आकस्मिक गाउँ कार्यपालिकाको बैठकले सो वडालाई ‘रेड जोन’ घोषणा गरेको हो ।
साथै गाउँ कार्यपालिकाको बैठकले कोरोनाको संक्रमण थप फैलन नदिन चिशंखुगढी गाउँपालिका वडा नं ५ को साविकका २, ३, ७ र ८ वडा पर्ने ‘छहरे र शेर्ना’ गाउँ शिल्ड गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताए । आज आएको रिपोर्टमा सो गाउँका ९ जनामा कोरोना पुष्टि भएको थियो । साथै चिशंखुगढी गाउँपालिका मा कार्यरत ३ जना कर्मचारीमा समेत कोरोना संक्रमण देखिएको छ ।
यस्तै माेलुङ गाउँपालिकामा आज फेला परेका १५ संक्रमित सबै स्थानीय हुन् । सिद्धिचरण नगरपालिकाका ३ स्थानीय र २ बाहिरबाट आएर बसाेबास गर्ने हुन् । त्यस्तै मानेभञ्ज्याङ गाउँपालिकामा पनि संक्रमण समुदाय स्तरमै पुगेकाे छ । स्थानीय सरकार भने महामारी राेक्ने प्रभावकारी याेजना तथा कार्यक्रम ल्याएका छैनन् ।
समुदायस्तरमै काेराेना फैलिनुकाे कारण भने स्वाव दिएका व्यक्तिकाे घुमफिर र हाेटल पसलमा हुने जमघट नै हाे ।अवस्था भयवह बने पनि यस अघि बनेका काेभिड अस्पताल र आइसाेलेसनहरु स्थानीय तहले व्यवस्थापन गर्न ध्यान दिएका छैनन् । नागरिककाे उपचारमा सरकार जिम्मेवार हुन नसकेकाे गुनासाे छ ।
प्रतिक्रिया दिनुहोस