२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024
जनप्रतिनिधिकाे एक दिन- १

यज्ञराज सुनुवारका १० घण्टाः के के गरे बैशाख १५ गते बुधबार ?

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ‘जनप्रतिनिधीकाे एक दिन ‘ नागरिक मिडियाले एक दिनभर जनप्रतिनिधीले गरेकाे कामकाे फेहरिस्त संक्षेपमा उल्लेख गरेर उनीहरुका कामलाई प्राेत्साहन गर्ने स्तम्भ हाे । बुधबारकाे श्रृङ्खलामा हामीले संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवारका कामलाई पछ्याएका छाैं ।

    २०७८ साल बैशाख १५ गते बुधबार संघीय प्रतिनिधी सभाका सांसद यज्ञराज सुनुवार विहान ७ बजेदेखि साँझ पाँच बजेसम्म व्यस्त रहे । उनले दिनभरमा पाँच वटा योजनामा अनुगमन र एउटा बैठक भ्याए ।

    विहान ७ बजे सदरमुकाम ओखलढुंगाबाट अन्य जनप्रतिनिधी र प्रशासकसहित अनुगमनमा निस्किएका सुनुवार जिल्ला समन्वय समितिका प्रमुख र गाउँपालिका अध्यक्षसहितको टोलीले निर्माणमा ढिलासुस्ती देखिएका विभिन्न योजनाको अनुगमन गरेका हुन् । सुनुवारको नेतृत्वमा जिल्ला समन्वय समितिका प्रमुख जयबहादुर श्रेष्ठ, मोलुङ गाउँपालिकाका अध्यक्ष मणिराज राई, मोलुङ गाउँपालिकाका वडा अध्यक्षहरु, प्रमुख जिल्ला अधिकारी बन्दना राई,  पुन: निर्माण प्राधिकरणका जिल्लास्थित इकाइका प्रतिमा ढकाल, पूर्वाधार कार्यलयका प्रमुख,  सुरक्षा निकायका प्रमुखसहितकाे टोली खटियो ।

    टोलीले मोलुङ गाउँपालिका अन्र्तगत निर्माणाधीन रहेको ओखलढुंगा-रामपुर सडक कालोपत्रे, रामपुरस्थित स्वास्थ्य चौकी भवन, मोलुङ खोला मान्द्रे दोभानको पक्की पुलको पुल योजनाको अनुगमन गर्यो । ती आयोजनामा भएको ढिला सुस्ती, कामको गुणस्तर र समयसीमा बारे छलफल भएको थियो ।

    निर्माण व्यवसायी, सरोकारवाला तथा स्थानीय तहका जनप्रतिनिधीसहितको छलफलपछि समयमै काम सक्न, गुणस्तरीय निर्माण गर्न निर्देशन दिए । उनले ओखलढुंगा रामपुर सडक जेठ १५ भित्र कालोपत्रे सम्पन्न गर्न निर्देशन दिइएको र रुम्जाटार खण्डमा भएको त्रुटीले काम नसकिदै सडक भत्किएपछि निरन्तर अनुगमन गरेर गुणस्तर कायम गर्न दवाव दिइएको नागरिक मिडियालाई बताए ।

    त्यस्तै, टोलीले १० वर्षदेखि निर्माणाधीन मोलुङ खोलाको मान्द्रे पुलको पनि अनुगमन गरेको छ । बर्षौंसम्म अलपत्र उक्त पुलको पटक पटक म्याद थपे पनि अझै पुरा हुन सकेको थिएन । उक्त पुलका विषयमा सांसद सुनुवारले संघीय संसदको विशेष समयमा बोल्दै काम नगर्ने ठेकेदारलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    चौतर्फी दवावपछि अहिले ठेकेदारले धमाधम काम थालेको छ । त्यसपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरण अन्र्तगत निर्माणाधीन सरस्वती मावि बुङ्नामको भवन अनुगमन गरे । विद्यालय भवन निर्माण तथा त्यसको गुणस्तरका बारेमा छलफल गरिएको अनेरास्ववियु केन्द्रिय कमिटीका सचिव दिपक फुयलले जानकारी दिए ।

    मोलुङ गाउँपलिका वडा नं. १ को कुन्तादेवीमा भएको आगालगीबाट भएको क्षतिका बारेमा समेत अध्ययन गरेका छन् । सुनुवारले आगोले घर जलेर समस्यामा परेका आगलागी पीडित हर्कमाया प्रधानलाई आर्थिक सहायता तथा खाद्यन्न सहयोग गरे ।

    त्यसपछि सदरमुकाम फर्किएर उनले पुनः निर्माणका समस्याबारे छलफल गर्न राष्ट्रिय पुनः निर्माण प्राधिकरण अन्र्तगत रहेको आफु संयोजक रहने जिल्ला सहजीकरण समितिको बैठक राखे । सांसद सुनुवारले पुनः निर्माणका सवाल सहज रुपमा सहजीकरण गरेर पुनः निर्माणका काम चाँडो सक्न सरोकारवालाहरुलाई आग्रह गरेका छन् ।

    साँझ ५ बजेसम्मको उनको सक्रियता जिल्लाको विकास निर्माणमै थियो । सुनुवारको यस्तो सक्रियता देखेर कर्मचारी तथा अन्य जनप्रतिनिधीले भने अचम्म मानेका थिए ।

    प्रतिक्रिया दिनुहोस