२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024

काेराेना राेकथामका लागि माेलुङकाे यस्ताे छ तयारी ! के गर्दैछन् अन्य तह ?

  • २०७८ बैशाख १५, बुधबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- बढ्दो क्रममा रहेको कोरोना भाईरस संक्रमणलाई लिएर मोलुङ गाउँपालिकाले आफ्नो क्षेत्र भित्र रहेर सञ्चालन हुने सबै हटिया बजार सञ्चालनमा रोक लगाएको छ । मंगलबार बसेको मोलुङ गाउँकार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको हो ।

    बैठकले बैशाख १६ गते देखी राजधानी लगायतका क्षेत्रमा लगाईएको लकडाउनका कारण आफ्नो पालिकामा प्रबेश गर्ने नागरिकहरुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायात सञ्चालन हुने स्थानमा मास्क, सेनिटाईजर र हातधुने सावुन सहितको पानीको व्यबस्थालाई अनिवार्य गराएको छ । जिल्ला भन्दा बाहिरवाट पालिका भित्रने नागरिकहरु नेपाल सरकारले तोकेको मापदण्ड अनुसार होम क्वारेन्टीन तथा होम आईसोलेसनमा बस्नुपर्ने भन्दै आवश्यकता परेका पालिकावाट स्वास्थ्य जाँच सेवाको व्यबस्थापन समेत गर्नेछ ।

    त्यस्तै कोरोना संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै कार्यपालिकाको बैठकले गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयको अन्तिम परिक्षा मिति बैशाख १६ गते देखि बैशाख १९ सम्म दुई सिफ्टमा न्यूनतम सुरक्षाको मापदण्ड अपनाई संचालन गरी परिक्षा सम्पन्न पश्चात अर्को सूचना नआए सम्मको लागी  बैशाख २० गते देखि भौतिक रुपमा बिद्यालय पुर्ण रुपमा बन्द गराउने निर्देशन दिएको गाउँपालिकाका सूचना अधिकारी गोपाल नेपालले जानकारी दिनुभयो ।

    विद्यालय वन्द भएको अबधीमा सम्भव भएसम्म बैकल्पिक माध्यमवाट शिक्षण सिकाई क्रियाकलाप सञ्चालन गर्नपनि पालिकाले सबै विद्यालयलाई निर्देशन दिएको छ । सूचना अधिकारी नेपालका अनुसार हाट बजार बन्द भएपनि नागरिकहरुको अत्यवश्यक सामाग्रीको रुपमा रहेको खाध्यन्न तथा तरकारी लगायतका सामग्रीलाई उपलब्ध हुनवाट भने बञ्चित गराईने छैन ।

    शहरवाट नागरिकहरु गाउँपालिका प्रवेश गर्दै गर्दा कोरोना संक्रमण फैलन सक्ने सम्भावना पनि उच्च रहेको भन्दै सबै नागरिकहरुलाई सचेत रहन पालिकाले अनुरोध समेत गरेको छ ।

    यस्ता छन् कार्यपालिकाका निर्णय

    मिति २०७८ साल बैशाख १४ गतेका दिन मोलुङ गाउँपालिका गाउँ कार्यपालिकाको बैठकका महत्वपुर्ण निर्णयहरुः-
    विश्वभरि फैलिदै गईरहेको नँया भेरियन्ट सहितको कोभिड -१९ महामारी नेपालमा समेत संक्रमण बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागी यस मोलुङ गाउँपालिकाको तर्फबाट देहाय बमोजिम गर्ने निर्णय गरियो ।
    १. अन्यत्र ठाउँबाट यस मोलुङ गाउँपालिकामा प्रवेश गर्ने ब्याक्तिहरु अनिबार्य रुपमा होम क्वारेन्टाइन तथा होम आइसोलेशनमा बस्नु पर्नेछ । यसरी होम क्वारेन्टाइन तथा होम आइसोलेशनमा रहेको व्याक्तिको स्वास्थ्य निगरानी तथा अनुगमन गरी थप जाँच वा उपचार आवश्यक पर्ने देखिएमा प्रयोगशाला र अस्पताल संग समन्वय गरी त्यस्तो संस्था संग पुर्याउने काममा सहजिकरण गर्ने ।
    २. आवश्यकता अनुसार गाउँपालिका भित्र जिल्ला स्वास्थ्य कार्यालयसंग समन्वय गरी श्वाब परिक्षणको ब्यबस्था मिलाउने ।
    ३. मोलुङ गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थामा चिकित्सक स्वास्थ्यकर्मि तथा अन्य आवश्यक जनशक्ति जनशक्ति व्यबस्था गर्ने निर्णय गरियो तथा आवश्यकता अनुसार स्वयंसेवक समेत परिचालन गर्ने ।
    ४. २५ जना भन्दा बढि हुने कुनै पनि धार्मिक सास्कृतिक कार्यक्रम सञ्चालन नगर्ने तथा गाउँपालिका भित्रका हाट बजार अर्को व्यबस्था नभए सम्मको लागी (खाध्यन्न तथा तरकारी लगायतका अत्यावश्यक सामग्री बाहेक) पुर्ण रुपमा बन्द गराउने ।
    ५. मोलुङ गाउँपालिका अन्तर्गत सार्वजनिक यातायातमा यात्रु चढ्ने र ओलर्न निर्धारण गरिएको स्थानमा सेनिटाइजर वा हात धुने सावन पानिको व्यबस्था मिलाउने ।
    ६. स्वास्थ्य संस्थामा औषधि तथा स्वास्थ्य सामाग्रीको अभाव हुन नदिन आवश्यक पर्ने औषधि तथा स्वास्थ्य सामाग्रीहरुको खरिदको प्रकृया अगाडि बढाउने ।
    ७. गाउँपालिका अन्तर्गतका सम्पुर्ण विद्यालयको अन्तिम परिक्षा मिति २०७८।०१।१६ गते देखि मिति २०७८।०१।१९ सम्म दुई सिफ्टमा न्यूनतम सुरक्षाको मापदण्ड अपनाई संचालन गरी परिक्षा सम्पन्न पश्चात अर्को सूचना नआए सम्मको लागी २०७८।०१।२० गते देखि भौतिक रुपमा बिद्यालय पुर्ण रुपमा बन्द गरी सम्भव भए सम्म बैकल्पिक माध्यमबाट शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने

    प्रतिक्रिया दिनुहोस