२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024

प्रभावकारी बन्दै खरकाे छाना मुक्त अभियान, घरधुरी चाँडाे पहिचान गर्न आग्रह

  • २०७८ बैशाख १४, मंगलबार मा प्रकाशित २ साल अघि
  • ओखलढुंगा- खरका छाना मुक्त जिल्ला बनाउने अभियान प्रभावकारी बन्दै गएकाे छ । यसले नागरिककाे आवास सुरक्षित हुनुका साथै जीवन यापनमा सहजता ल्याउन याेगदान गरेकाे छ ।

    सरकारले विपन्न तथा आर्थिक अवस्था कमजाेर भएका नागरिककाे आवास सुरक्षित बनाउन खरकाे छाना विस्थापनका लागि अनुदान दिने कार्यक्रम ल्याएकाे थियाे । जिल्लालाई खरकाे छानामुक्त जिल्ला बनाउने अभियानमा जुटेका संघीय प्रतिनिधि सभाका सांसद यज्ञराज सुनुवारले विपन्न तथा आर्थिक रुपमा कमजाेर व्यक्तिका लागि जस्ताकाे छाना लगाउने कार्यक्रम प्रभावकारी बन्दै गएकाे र नागरिककाे माग पनि उच्च रहेकाे जानकारी दिए ।

    गत वर्षबाटै कार्यन्वयनमा आएकाे याे कार्यक्रम जिल्लाका ८ वटै स्थानीय तहमा सञ्चालित छ । यी तहमा स्थानीय तहले पहिचान गरेका लाभग्राहीले अनुदान सम्झाैता गरेर खरकाे छाना विस्थापित गरि अनुदान पाउने व्यवस्था छ । जिल्लास्तरमा सुरक्षित नागरिक आवास जिल्ला समन्वय समितिले जिल्लाका विभिन्न तहमा पहिचान भएका घरहरुमा खरकाे छाना विस्थापन गर्न अनुदान दिने निर्णय गरेकाे छ । समितिकाे संयाेजक संघीय प्रतिनिधी सभाकाे सांसद सुनुवार संयाेजक छन्  ।मंगलबार  जिल्ला समन्वय समितका प्रमुख जयबहादुर श्रेष्ठ तथा स्थानीय तहका प्रमुखसहितकाे उपस्थितमा बैठक बसेकाे थियाे ।

    बैठकबाट सिद्दिचरण नगरपालिकाका २८१, लिखुका १५२, खिजिदेम्वाका ९७, चिसङ्गखुगढीका ८१, मोलुङ्गका १५६ घरको खरको छाना विस्थापित गरि जस्ता पाता राख्ने निर्णय गरेको समितिका संयाेजक तथा सांसद सुनुवारले जानकारी दिए । याे संख्या स्थानीय तहबाट छनाैट गरेर सिफारिस भइ आएकाे हाे ।

    त्यस्तै  अन्य तहमध्ये मानेभञ्ज्याङमा ३०३ ,चम्पादेवीमा २०२ तथा सुनकोशीमा १२७ घरलाई खरकाे छाना विस्थापित गर्ने काेटा तय भएकाे भए पनि ती तहले  घर छनाैट गरेर नामावली समितिमा पेश गरेका छैनन् । पालिकाबाट नामावली नआउँदा समस्या भएकाले ताेकिएको सङ्ख्यामा शिघ्र नामावली उपलब्ध गराउन अनुरोध गर्ने निर्णय पनि गरेको  सांसद सुनुवारकाे भनाइ छ।

    यसका लागि स्थानीय तहले ताेकिएकाे मापदण्ड अनुसार त्यस्ता परिवार छनाैट गरेर पेश गर्नु पर्नेछ । यसरी छनाैट भएका घरधुरीलाई गाउँपालिकाले छाना फेर्न ५० हजार अनुदान दिने गरि सहरी विकास विभागले अनुदान दिने व्यवस्था रहेकाे सा‌ंसद यज्ञराज सुनुवारले बताए । कतिपय तहमा न्यून संख्या मात्रै काेटा निर्धारण भएकाे भन्दै गुनासाे समेत आएकाे छ ।

    यस विषयमा सुनुवारले शहरी विकास मन्त्रालयमा कतिपय तह र जिल्लामा त्यस्ता खरका छाना नभएकाले ती काेटा ओखलढुंगामा थप उपलब्ध गराइने गरि पहल भइरहेकाे जानकारी गराए । सरकारले याे वर्ष देशभरका १ लाख ५० हजार घरलाई खरकाे छानामुक्त बनाउने गरि बजेट व्यवस्था गरेकाे छ ।

    ओखलढुंगामा सिद्धिचरण नपा र चिशंखुगढी गाउँपालिकाले अति गरिबका लागि नीति तथा कार्यक्रममा नै याे विषय समेटेका थिए । अन्य तहले पनि याे अभ्यास थालेकाे बताइएकाे छ  ।

    याे पनि पढ्नुहाेस

    कहाँ पुग्याे यज्ञराजकाे खरकाे छानामुक्त ओखलढुंगा बनाउने अभियान ?

    प्रतिक्रिया दिनुहोस