२०८१ बैशाख १९, बुधबार | Wed, 01, May, 2024

चुनाव स्वच्छ बनाउन यस्तो प्रस्ताव : ‘उम्मेदवारलाई गाउँ नपठाऔँ, मिडियामा बहस गरौँ’

  • २०७७ फागुन ६, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा – सरोकारवालाहरुले निर्वाचन आचारसंहिता व्यावहारिक नभएकाले परिमार्जन गर्न सुझाव दिएका छन् । जिल्ला निर्वाचन कार्यालयले आयोजना गरेको छलफलमा नागरिक र राजनीतिक दलले आचारसंहिता पालना गर्न व्यावहारिक हुनुपर्नेमा जोड दिएका हुन् ।

    आचारसंहिता बनाउने, जारी गर्ने तर पालना नहुने हो भने औचित्य नहुने नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवारले बताउनुभयो । उहाँले भन्नुभयो, ‘व्यवहारमा लागू नहुने बुँदा हटाऔँ, चुनावमा खर्च गर्ने सीमा व्यावहारिक छैन कि त सक्नेजति खर्च गर्न दिनुपर्यो कि त लुकी–लुकी खर्च गरेर चुनाव प्रभावित पार्नेलाई कारबाही गर्न सक्नुपर्यो ।’

    सभापति सुनुवारले चुनावमा उम्मेदवारलाई गाउँ पस्न रोक्नुपर्नेमा जोड दिनुभयो । ‘उम्मेदवार र पार्टीका नेतालाई आचारसंहिता लागेपछि गाउँ जान रोकौँ । रेडियो, टिभी र अनलाइनबाट आफ्ना विचार राख्न बहस गर्न लगाऔँ अनि मात्रै पैसाले चुनाव प्रभावित हुनबाट रोकिन्छ, यही सुझाव लानुहोस्’, निर्वाचन अधिकारीलाई उहाँले भन्नुभयो ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष धनराम श्रेष्ठले पनि सुनुवारको प्रस्ताव सही भएको बताउनुभयो । उहाँले सञ्चारमाध्यमको व्यवस्थित प्रयोग गरेर प्रचार गर्ने हो भने पैसा बाँडेर चुनाव जित्ने अवस्थाको अन्त्य हुने बताउनुभयो । कार्यक्रममा सहभागीहरुले निर्वाचन आचारसंहिता उल्लङ्घन जनप्रतिनिधि र दलबाटै हुने भएकाले उनीहरु बढी जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

    नेकपाका नेता रुपेश शाक्यले चुनाव हुने–नहुने आशङ्काका बीचमा तयारी थालिएको भए पनि आचारसंहिता लाग्ने समयबारे प्रश्न गर्नुभयो । शाक्यले विगतमा मतदानको ९० दिनअघि नै आचारसंहिता लागे पनि अहिले चाँहि कहिलेदेखि लाग्ने हो ? भनेर जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेलाई प्रश्न गर्नुभयो ।

    जिल्ला निर्वाचन अधिकारी न्यौपानेले निर्वाचन आयोगले घोषणा गरेर आचारसंहिता लाग्ने भएकाले अहिले नलागेको जानकारी दिनुभयो । सरोकारवालाहरुले स्वच्छ चुनावका लागि नागरिक समाज, राजनीतिक दल र सञ्चार जगत जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस