२०८१ बैशाख ८, शनिबार | Sat, 20, Apr, 2024
निशानामा यज्ञराज, निशान्त र कुलप्रसाद

मन्त्रीको भाषणः कोही शिक्षक धम्क्याउँने, कोही मतदाता फकाउने

  • २०७७ माघ १६, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- नेकपा(ओलि गुट) को मोलुङ गाउँपालिकास्थित रामपुर बजारमा बिहीबार भएको भेलामा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वशन्तकुमार नेम्वाङ र प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बीर गुरुङले सम्बोधन गरे ।

    सम्बोधनमा नेकपाको माधव प्रचण्ड समुह स्थिरताको विपक्षमा, विकास विरोधी भएको आरोप लगाए । मन्त्री नेम्वाङले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलिलाई पुष्पलाललाई जस्तै गलहत्याउन खोजेको आरोप लगाएका छन् । केपी ओलि गुटको भेलालाई ओखलढुंगाको रामपुरमा सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्वाचित महासचिव पुष्पलाललाई जस्तै ओलिलाई हटाउने षड्यन्त्र गरेकाले संसद विघटन भएको जिकिर गरे ।

    ओलिको नेतृत्वमा समृद्ध नेपाल सुखी नेपाली को नारा पुरा गर्ने अभियानलाई असहयोग गर्दै नेपाल प्रचण्ड समुह कुण्ठा पोख्न सडकमा पुगेको दावी गरे । उनले भने, ‘पार्टीमा समस्या आयो भनेर चिन्ता नलिहोस्, अलमल नगरिमकन विकास र स्थिरताको पक्षमा आउनुहोस् ।’

    ओलि समुहले मोलुङ गाउँपालिकाको रामपुर बजारमा गरेको सभामा उनले स्थिर सरकार र विकासका लागि निर्वाचन आवश्यक भएको जिकिर गरे । गलत विचार, प्रवृत्ति कुण्ठा र महत्वकांक्षाले कम्युनिष्ट आन्दोलनको नेतृत्व गर्न नसक्ने तर्क गरे । माधव प्रचण्ड समुहप्रति लक्षित गर्दै उनले भने, पार्टी ठूलो भए पनि गलत विचार, प्रवृत्ति कुण्ठाले आन्दोलन ध्वस्त हुन्छ ।’

    मन्त्री नेम्वाङले आफ्ना कार्यकालमा भएका प्रगति समेत आम सभामा सुनाए । उनले ३० हजार किलोमिटर सडक स्तरोन्नति, ३ हजार किलोमिटर सडक कालोपत्रे भएको दावी गरे ।

    ओखलढुंगाका चार सडक आयोजनाबारे उनले बोलेका छन् । ढुस्के रागादिप पात्ले, दुधकोसी एकवार, लिखु एकवार मोलुङ एकवार सडक पुरा हुने चरणमा रहेको दावी गरे । यी आयोजना २०७१ सालदेखि निमाणर्ाधीन छन् । त्यस्तै ओखलढुंगा-सल्लेरी स्तरोन्नति भइरहेको उनको भनाइ छ । यी आयोजना पुरा गर्न र अन्य विकासका आयोजना ल्याउन सरकारको ध्यान केन्द्रित रहेको भन्दै मतदातालाई आश्वस्त पार्ने प्रयास गरे ।

    निशानामा यज्ञराज, निशान्त र कुलप्रसाद

    त्यस्तै प्रदेश १ का भौतिक पूर्वाधार विकास राज्य मन्त्री अम्बीर गुरुङले फागुनभित्र रामपुरमा विकासका ठूला परियोजना शुरु हुने घोषणा गरे । निर्वतमान सांसद यज्ञराज सुनुवार, चिशंखुगढी गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा र बरुणेश्वर माविका प्रधानाध्यापक कुलप्रसाद खतिवडालाई गाली गर्न अधिकांश समय खर्चिएका उनले जिल्लामा सबै विकासका योजना आफ्ना पहलमा भएका, यज्ञराजले भ्रम छरेको दावी गरे ।

    चिशंखुगढीका अध्यक्ष निशान्त शर्मालाई भ्रष्टको संज्ञा दिए भने शिक्षक खतिवडालाई आफ्नो पक्षमा नलागेको आक्रोसमा ‘जागिर खाने कि राजनीति गर्ने’ भन्दै देखाइदिन धम्की समेत दिए । उनले रामपुरको खेलमैदान बृहत निर्माण गर्ने भन्दै डिपीआर माग्दा प्रधानाध्यापकले नदिएको, आफुलाई विद्यालयमा नबोलाएको आफैं अनुगमन गर्न आएको बताए । उनले निर्माण गरिदिने भनेको खेलमैदानको दर्शकदिर्घा र मञ्चबाहेक निर्माण सम्पन्न भइसकेको छ ।

    दुई मन्त्रीले पार्टीको एक गुटको कार्यक्रममा संसद विघटन र चुनाव घोषणा सहि हो भनेर पुष्टि गर्न विकास आश्वासन मात्रै बाँडेनन् एक जना शिक्षकलाई धम्याउनेसम्म काम गरे । शिक्षक खतिवडा शिक्षक संगठनको केन्द्रिय नेता समेत रहेको र माधव-प्रचण्ड समुहमा लागेकाले राज्यमन्त्री गुरुङले मञ्चबाटै देखाइदिने धम्की दिएका हुन् ।

    प्रतिक्रिया दिनुहोस