२०८१ बैशाख ४, मंगलबार | Tue, 16, Apr, 2024

नेकपा (ओलि गुट) को शक्ति प्रर्दशनः निशानामा प्रचण्ड र यज्ञराज

  • २०७७ पौष १९, आईतबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगाः नेकपा (ओलि गुट) ले ओखलढुंगामा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलिको समर्थनमा बृहत शक्ति प्रदर्शन गरेको छ ।
    नेकपाको साविक केन्द्रिय कमिटी सदस्य किशोर अधिकारीसहित ओलि गुटमा केन्द्रिय सदस्य मनोनित नानीबाबु बुढाथोकी, मोहकुमार श्रेष्ठ, शकुन्तला राजभण्डारी, बालकृष्ण ढुंगेल र अम्बीरबाबु गुरुङको अगुवाइमा वृहत प्रर्दशन गरिएको हाे ।

    रमाइलोडाँडाबाट शुरु भएको र्याली नगरपालिका हुँदै खाद्य संस्थान पुगेर बजार परिक्रमा गरि जिल्ला समन्वय समितिको हलमा सभामा परिणत भएको थियो ।र्यालीमा प्रधानमन्त्री ओलिको संसद विघटनको पक्षमा नारा लगेका थिए । बजारको विभिन्न चोकमा भएको कोण सभा र समन्वयको हलमा भएको सभाका वक्ताहरुले प्रचण्ड-माधव पक्षलाई पार्टी नभएर झुण्ड भएको र चाँडै विभाजन हुने दावी गरेका थिए ।

    सूर्य चिन्ह र नेकपा आफुँहरुको भएको भन्दै वक्ताहरुले जनताको बहुदलीय जनवाद र सूर्य चिन्हलाई माया गर्नेहरु एकजुट हुनु पर्नेमा जोड दिएका थिए । कोण सभामा सिताराम गुरुङ, तीर्थ सुवेदी, केदारबाबु बस्नेतलगायतले सम्बोधन गर्दै ओली पक्षमा नलागेको,  माधव-प्रचण्ड पक्षमा लागेको भन्दै जिल्ला ईञ्चार्ज यज्ञराज सुनुवारको चर्को आलोचना गरेका थिए ।

    सुनुवार माधव नेपाल निकट नेता हुन् । ओखलढुंगाका बहुमत जिल्ला सदस्य नेकपा (प्रचण्ड-माधव) मा देखिएका छन् । याे पक्षले यस अघि पुस १४ गते  संसद विघटनकाे विपक्षमा  बृहत प्रदर्शन गरेकाे थियाे ।  आज भएकाे ओलि समुहको प्रर्दशनमा नेता कार्यकर्ता र  समर्थकसहित हजार हाराहारी सहभागी भएका थिए । कार्यक्रममा सहभागी हुनेका लागि यातायात र खानिपनकाे ब्यवस्था गरिएकाे थियाे ।

    आम सभामा शंकर कट्वाल, मोहनकुमार श्रेष्ठ, लगायतले केन्द्रीय सदस्य यज्ञराज सुनुवारको राजनीतिक हैसियत सकिएको दावी गरेका थिए । बालकृष्ण ढुंगेलले ‘हामीले पालेर हुर्काएकाे, नेता बनाएकाे व्यक्तिले कम्युनिस्ट पार्टीकाे सरकार र गणतन्त्र सिध्याउनका निम्ति  सही गर्ने कसैकाे काेटकाे खल्तिकाे एउटा माननीय ओखलढुंगाकाे थियाे’ भनेर सुनुवार प्रति कटाक्ष गरे ।

    केही सहभागीहरुले भने बालकृष्ण ढुंगेललाई मञ्चमा देखेर  उल्टै उडाएका थिए । कार्यक्रममा सहभागी नेकपाका एक जिल्ला सदस्यले  ‘ढुंगेल याे मञ्चमा देखेर आश्चर्य लागेकाे भन्दै ‘कुनै बेला नेकपा एमाले मुक्त जिल्ला बनाउने घाेषणा गरेका उनी एमालेकाे मेहनतकाे जगमा बनेकाे पार्टीकाे नेता बनेर ‘भागमा झाेल परेपछि चाेक्टा खाेजेर’ आएकाे भनी कटाक्ष गरेका थिए । उनीमाथि तत्कालीन एमालेका नेता छविलाल कार्कीकाे हत्या गर्न तत्कालीन माओवादीका अराजक कार्यकर्ता उक्साएकाे आराेप छ ।

    उता, मञ्चबाट वक्ताहरुले संसद विघटनको औचित्य र आवश्यकताका बारेमा कार्यकर्तालाई बताएका थिए । केन्द्रिय सदस्यहरु किशोर अधिकारी, शकुन्तला राजभण्डारी, नानीबाबु बुढाथोकी, अम्बीरबाबु गुरुङ र बालकृष्ण ढुंगेललगायतले आहिलेको अवस्थामा केपी ओलि मात्रै देशभक्त नेता भएको र ओलिको नेतृत्वमै देशमा समृद्धि आउने दावी गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस