२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

भूल्केबासीका आँगनमै स्वास्थ्य सेवा

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुङ्गा- सुनकोसी गाउँपालिकाले वडा नं. ६ स्थित  दुर्गम भूल्के गाउँमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेको छ । इकाइको भवन निर्माण सकिएपछि गाउँपालिका अध्यक्ष रुद्र अधिकारीले उद्घाटन गर्नुभएको छ ।

    यो वडामा यस अघि स्वास्थ्य चौकी थिएन । साविकको मूलखर्क गाविसलाई संघीयतासँगै २ वडामा विभाजन गरिएपछि वडा नं. ५ तर्फ स्वास्थ्य चौकी परेको थियो । गाउँपालिकाको दुर्गम मध्येको उक्त गाउँमा लामो समय नागरिकहरु सामान्य स्वास्थ्य सेवा लिन सदरमुकाम ओखलढुङ्गा धाउनुपर्ने बाध्यता थियो ।

    यस पटक गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि सेवा पाइनेमा स्थानीय खुसी भएका छन् । ‘पहिले भवन समेत थिएन, अहिले भवन बन्यो अब नियमित स्वास्थ्यकर्मी र औषधी पनि दिनुपर्छ’ स्थानीय युवा शम्भु धमलाले भन्नुभयो- ‘विकास सडक भत्काउने मात्रै होइन, स्वास्थ्य, शिक्षा र सुरक्षा नागरिकका लागि अनिवार्य शर्त हो ।’

    इकाइ उद्घाटनसँगै सेवा समेत शुरु गरिएको छ । हाललाई एक जना स्वास्थ्यकर्मी तोकिएर सेवा प्रवाह शुरु भएको स्थानीय राजन कार्कीले बताउनुभयो । गाउँपालिकाले ३ लाख ५० हजारमा इकाइ भवन निर्माण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस