२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

अब सिद्धिचरण नगरपालिकामा फोन गर्दा पैसाे लाग्दैन

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा-  सिद्धिचरण नगरपालिकाका सेवाग्राहीलाई फोन गर्दा पैसा नलाग्ने भएको छ । नगरपालिकाले आफ्नो कार्यालयमा सेवा लिन र सोबारेको जानकारी लिन सेवाग्राहीले फोन गर्दा पैसा नलाग्ने व्यवस्था गरेको हो ।

    सेवाग्राहीको हितलाई ध्यानमा राखेर नगरपालिकाले पैसा नलाग्ने निशुल्क (टोलफ्रि) टेलिफोन सेवा सुचारु गरेको छ । नगरपालिकाले १० अंकको छुट्टै नम्बर १६६०३७५०१० संचालनमा ल्याएको हो । सेवाका प्रकार, प्रकृया, आवश्यक तथा कागजातबारे जानकारी लिन टेलिफोन गर्ने र उनीहरुलाई बताउन समय लाग्दा खर्चिलो हुने भएपछि नगरपालिकाले टोलफ्रि सञ्चालनमा ल्याएको हो ।

    विशेष गरी ग्रामीण क्षेत्रका नागरिकले नगरपालिकाका विभिन्न विषयगत शाखा र विशेषगरि कृषकहरुलाई कृषि तथा पशु शाखाबाट पाइने सुविधा र पुर्याउनु पर्ने प्रकृयाका बारेमा जानकारी लिन सहज होस् भनेर उक्त शुल्क नलाग्ने नम्बर सुचारु गरिएको नगरपालिकाका कम्युटर अपरेटर पदम परियारले जानकारी दिए ।

    उनका अनुसार टोल फ्रि नम्बर भएपछि सेवाग्राहीले आफुले बुझ्नु पर्ने कुरा बुझेपछि मात्रै फोन राख्न सकुन् र हतार र पैसा पनि खर्च नहोस् भनेर यस्तो सेवा दिइएको हो । टोलफ्रि सुविधाले हिडडुल गर्न असहज हुने र अशक्त तथा आधारभूत सेवाबारे सामान्य जानकारी लिन पनि कार्यालयमै धाउनु पर्ने बाध्यता हटेको छ ।

    सिद्धिचरण नगरपालिकाका प्रमुख मोहनकुमार श्रेष्ठले भने, ‘पहिले घण्टौं हिडेर सामान्य सेवाबारे जानकारी लिन नगरपालिका नै आउनु पर्ने बाध्यता थियो, यो हट्ने विश्वास लिएका छौं ।’ यसले नागरिकलाई सहज हुने, सोधपुछका काम फोनबाटै हुनेहुँदा भीडभाड कम हुने अपेक्षा गरिएको श्रेष्ठको भनाइ छ । सिद्धिचरण टोलफ्रि सेवा सुरु गर्ने ओखलढुंगाको पहिलो स्थानीय तह हो ।

    प्रतिक्रिया दिनुहोस