२०७७ माघ १५, बिहिबार | Thu, 28, Jan, 2021

नेकपा विवाद: भारुण्ड गति कि धूर्त्याइँ मति ?

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित १ महिना अघि
  • भारुण्ड नीति कथा
    एकोदरा पृथक्ग्रीवा अन्योन्यफलभक्षिणः
    असंहता विनश्यन्ति भारूण्डा इव पक्षिणः
    (एकमत भएर काम नगर्ने व्यक्ति, एउटा भुँडी र दुईवटा मुख भएको तथा परस्पर दुवै मुखबाट अलग अलग फल खाने व्यक्तिको, भारुण्ड चराझैं विनाश हुन्छ ।)

    महाभारतको भीष्म पर्व अध्याय ७ मा भारुण्ड नामक पंक्षीको कथा उल्लिखित छ । उक्त पंक्षीको अलग अलग टाउकोसहितको मुख दुईवटा तर भुँडीचाहिं एउटै थियो । हिरण्यकश्यपुलाई मारेपछि पनि नृसिंहको रीस नमरेपछि भारुण्डले नृसिंहलाई आफ्नो पञ्जाले समाएर आकाशमा यताउति उडाउँदै थियो । केही समयपछि भारुण्डले नृसिंहलाई छोडिदियो र आफू समुद्रमा विचरण गर्न थाल्यो ।

    यस क्रममा एकदिन भारुण्डले एउटा अति नै आकर्षक फल भेट्यो । उक्त फल खाँदै एउटा मुखले अर्को मुखलाई भन्यो, ‘यस्तो अमृतजस्तो मीठो र अनौठो स्वादको फल त मैले आजसम्म खाएकै थिइनँ ।’ यो कुरा सुनेर अर्को मुखले भन्यो, ‘ओहो ! फल त्यस्तो मीठो छ भने अलिकति मलाई पनि दिएर चखाऊ न त !’

    फल खाने पहिलो मुखले हाँस्दै भन्यो, ‘हाम्रो भुँडी एउटै छ , त्यसैले जुन मुखले खाए पनि एउटै साझा पेटमै जाने त हो नि ! मैले खाएपछि फेरि तिमीले किन खान पर्‍यो ?’ बरु मैले खाएर बचेको फल हाम्री प्रियतमालाई दिऊँ, यस्तो मीठो फल चाख्न पाएर उनी पनि खुशी हुनेछिन् । यसमै हाम्रो भलो हुनेछ ।’

    यसरी एउटा टाउके मुखले खाएर बचेको आधा फल अर्को टाउके मुखलाई नदिएर प्रियतमालाई दियो । त्यस्तो अनुपम फल खान पाएर प्रियतमा धेरै खुशी भई र मायालु टाउकोलाई धेरैबेरसम्म अँगालेर बारम्बार चुम्बन पनि गरी । यसबाट फल खान र दिन नपाउने दोस्रो टाउको रीसले भुतुक्कै भयो ।

    फल खाने पहिलो मुखले हाँस्दै भन्यो, ‘हाम्रो भुँडी एउटै छ , त्यसैले जुन मुखले खाए पनि एउटै साझा पेटमै जाने त हो नि ! मैले खाएपछि फेरि तिमीले किन खान पर्‍यो ?’ बरु मैले खाएर बचेको फल हाम्री प्रियतमालाई दिऊँ, यस्तो मीठो फल चाख्न पाएर उनी पनि खुशी हुनेछिन् ।

    सामुद्रिक यात्राकै क्रममा अर्को दिन अर्को टाउकोले पनि अनौठो फल भेट्टायो । त्यो फल विषैलो थियो । तर केही दिनअघिको रीस फेर्ने हिसाबले त्यो टाउकोले उक्त फल खाने विचार गरी, ‘अस्ति मलाई मीठो फल चाख्न नदिएको हुँदा आज यो फल पनि म एक्लै खान्छु’ भन्यो । अर्को टाउकोले भन्यो, हे मूर्ख ! यस्तो काम नगर । नत्र त हामी दुवै मर्ने छौं’ भन्यो । तर ईष्र्या र रीसको आवेगमा फल भेट्ने टाउकोले अर्को टाउकोको कुरै सुनेन र फल खायो । विषैलो फलको असर तुरुन्तै पर्‍यो र एउटै भुँडी तथा दुईवटा टाउका भएको त्यो भारुण्ड नामक चराको अस्तित्व नै समाप्त भयो ।

    चुनावअघि दुईटा टाउको जोडिएर एउटै टाउको भएको नेकपा, सरकार चलाउने क्रममा दुईवटा टाउको भएको भारुण्ड पंक्षीमा परिणत भएको छ । यद्यपि पेट भने तिनीहरूको अझै पनि एउटै छ ।

    धूर्त्याइँ मति यथा

    घरदेखि निकै टाढाको क्याम्पसमा पढ्दै गरेका दुईजना दाजुभाइ विद्यार्थी थिए । तिनीहरूको खर्च पूरै सकियो । किन्ने पैसा र पकाउने चामल विनाले समस्यामा परे । परीक्षा सकिएपछि घर जानुपर्ने । तर परीक्षा सकिन अझै तीनदिन बाँकी नै थियो । उपाय केही नभएपछि पाँचछाकजति एकेक मुठी चिउरा, नुन र पानी खाएर जसोतसो टारी चौथो दिन घर जान बाटो लागे । तर उनीहरूसँग बसभाडा तिर्ने र किनीखाने सुकोपैसा पनि थिएन ।

    त्यसैले बस/ट्रकमा चढदै, ओरालिंदै, हिंड्दै दिउँसो ११ बजे एउटा होटल भएको ठाउँमा पुगे । छछाकदेखि खाना खान नपाएका उनीहरूलाई भोक कति लागेको थियो, भन्नै परेन । चूलामा ठूलो भाँडामा भात छड्किरहेको थियो ।
    ‘भात छ होला ?’ उनीहरूले होटलवाली साहूनीलाई सोधे । ‘छन त पाक्दै छ तर ढाक्रेका लागि पकाइदिएको हो’, साहूनीको जवाफ ।
    ‘पहिला हामीलाई दिनू नि, हामी दुईजना त छौं, खाएर हिंडिहाल्छौं । आजै घर पुग्ने हतार पनि छ ।’ दाजुभाइको भनाइ मानेर पैसा नउम्काउने लोभमा साहूनीले तिनलाई खाना दिइन् ।

    हाम्रो सरकार र नेताको प्रवृत्तिमा पनि—सधैंको भोको मानसिकता, खाएसम्म खाँदा पनि नअघाउने, सहोदर भाइभाइको स्वभाव भएर पनि बनावटी झगडाको निहु बनाएर जनताको रगत पसिनामा मोज गर्ने अनि ‘कठैबरा !’ भनिंदै सहानूभूति पनि लिनेजस्तो धूत्र्याइँ मति त देखिइरहको छैन ?

    तर पाँचजना ढाक्रेलाई भनेर पकाएको खाना ती दुईभाइले नै सिध्याइदिएपछि साहूनीले पाँचै जनाको पैसा तिर्न कडिकडाउ गरिन् । यता दाजुभाइ भने दुईजनाको मात्रै पैसा तिर्ने कुरा गर्न थाले । खासमा तिनीहरूसँग पैसा भने फुटेको कौडी पनि थिएन ।
    साहूनी र दुईजना केटाको विवाद बढ्दै जाँदा यताउतिका मान्छे पनि जम्मा भए । साहूनीको दवाब बढ्दै गएपछि दाजुचाहिंको विवाद हुन थाल्यो—
    ‘खानुभन्दा पहिले यो भाँडाको खानाको मोल गर्नुपर्दैनथ्यो ?’ दाजुले भाइलाई दोष लगायो ।
    ‘आफूलाई कस्तो भोक लागेको थियो, दाजु भएर तैंलेचाहिं मोल गरेको भए पनि त हुन्थ्यो नि !’ भाइको प्रतवाद ।
    तिनीहरूबीचको विवाद लम्कीझम्की र मुक्कामुक्कीमा बढ्दै जाँदा दर्शकहरू छुट्याउन अघि सरे । एकजना हारेर पछि सर्दै भाग्न थाल्यो । अर्कोले, ‘तँलाई आज …..!’ भन्दै लखेट्न थाल्यो । कसैकसैले ‘दाजुभाइमा त्यसो नगर, कता अभर पर्ला !’ भने पनि उनीहरूबीचको ढुङ्गा हान्ने र भाग्ने झगडा रोकिएन । हेर्दाहेदैै दुवै भाइ परको जङ्गल पुगेर सानो डाँडोसमेत कटे । अनि दुवै भाइ बीचबीचमा अँगालो हालाहाल गर्दै लम्कन थाले ।

    हाम्रो सरकार र नेताको प्रवृत्तिमा पनि—सधैंको भोको मानसिकता, खाएसम्म खाँदा पनि नअघाउने, सहोदर भाइभाइको स्वभाव भएर पनि बनावटी झगडाको निहु बनाएर जनताको रगत पसिनामा मोज गर्ने अनि ‘कठैबरा !’ भनिंदै सहानूभूति पनि लिनेजस्तो धूत्र्याइँ मति त देखिइरहको छैन ?

    प्रतिक्रिया दिनुहोस