२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

चम्पादेवीमा भ्रष्टाचार भएकाे भन्दै नेकपाकाे उजुरी, यस्ता छन् १६ बुँदे अभियाेग

  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- चम्पादेवी गाउँपालिकामा योजनैपिच्छे आर्थिक अनियमितता, खरिद गरिएका सामग्रीको अपचलन र दुरूपयोग भएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उजुरी गरेको छ ।

    अनुगमनका क्रममा गाउँपालिकाको घोराखोरी पुगेका प्रमुख जिल्ला अधिकारीलाई १६ बुँदामा भ्रष्टाचार भएको विवरण राखेर उजुरी दिइएको हो । गाउँपालिकाले कोभिड कोषको दुरूपयोग गरेको देखि स्वास्थ्य इकाई स्थापना गर्दा खरिद भएका सामग्रीसमेतमा अंक नै उल्लेख गरेर भ्रष्टाचार भएको नेकपाको उजुरीमा उल्लेख छ ।

    कोरोना कोषको हिसाब सार्वजनिक नगरेको, कोरोना रोकथाम तथा नियन्त्रणका नाममा राहत सामग्री खरिदमा भ्रष्टाचार भएको, पाइप तथा स्वास्थ्य सामग्री खरिद र वितरणमा दुरूपयोग गरेको लगायत नेकपाका आरोप छन् । त्यस्तै, जनप्रतिनिधि आफैँले लाखौँ रुपैयाँ पेस्की लिएर सामग्री खरिद गरेको, महिला लक्षित वर्गको बजेट कार्यक्रमविनै फर्जी बिल बनाएर १५ लाख रुपैयाँ हिनामिना गरेको, गाउँपालिकामा योजनागत बजेट वितरण नगरी अबण्डा राखेर निवदेनमा तोकआदेशका भरमा खर्च हुने गरेको नेकपाको दाबी छ ।

    गाउँपालिकाको डोजर तथा एम्बुलेन्सको आम्दानी र खर्चसमेत नराखिएको, आर्थिक वर्ष २०७४÷०७५ मा वडा आन्तरिक राजस्वको हिसाब नै नराखिएको लगायतका १६ बुँदामा अनियमितताका विवरण राखेर छानबिनका लागि उजुरी दिइएको नेकपा चम्पादेवीका अध्यक्ष खड्गबहादुर कार्कीले बताए ।

    कार्कीका अनुसार गाउँपालिकामा अािर्थक अनियमितताका विषयमा पटकपटक लिखित ध्यानाकर्षण गराए पनि चासो नदिएपछि कानुनी बाटो रोजिएको हो । संघीय शिक्षा ऐन तथा नियमावली मिचेर शिक्षक सरुवा तथा पदस्थापन गरेको विषयमा शिक्षकहरूले समेत गाउँपालिकाको निर्णयको विरोध गरेका थिए ।

    नेकपाको उजुरी लिँदै प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले छानबिन गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले बहुमत कार्यपालिका सदस्यसहित प्रमुख र उपप्रमुख जितेको चम्पादेवीमा कांग्रेस र नेकपाबीच सुरुदेखि नै योजना छनोट र आयव्ययको हिसाबका विषयमा विवाद हुँदै आएको छ ।

    अघिल्लो वर्ष चर्को विवाद भएपछि नेकपाका कार्यपालिका सदस्यलाई सूचना नै नदिई गाउँ परिषद् सम्पन्न भएको थियो । गाउँपालिकाले संचारकर्मीले सूचनाको हक प्रयोग गरेर मागेका सूचना पनि दिएको छैन । जिल्लामा कार्यरत संचारकर्मीहरूले कोरोना खर्च तथा खरिद सामग्री र यातायात भाडामा खर्च गरिएको विवरण माग गरेका थिए । चम्पादेवी र सुनकोसी गाउँपालिकाले कोरोना खर्च सार्वजनिक गरेका छैनन् ।

    उता, गाउँपालिकामा भ्रष्टाचार भएको आरोपसहित परेको उजुरीबारे चम्पादेवी गाउँपालिकाका प्रवक्ता एवं वडा नं.- ८ का अध्यक्ष अजय लुइँटेलले आफूहरूले उजुरी परेको भन्ने सामाजिक संजाल फेसबुकबाट जानकारी पाएको बताए । उनले भने, ‘उजुरी दिएको भन्ने सुनेका छौँ, के विषय हो, अध्ययनपछि थाहा होला ।’ त्यस्ता उजुरीलाई आफूहरूले महत्त्व नदिने उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस