२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

बेलायती ह्याम्पशायर प्रहरीका सल्लाहकार बने ओखलढुंगाका श्रेष्ठ

  • २०७७ मंसिर १५, सोमबार मा प्रकाशित ३ साल अघि
  • लण्डन-  बेलायतको नेपाली समुदायका एक अग्रज सामाजिक अभियन्ता शिवजी श्रेष्ठ बेलायती प्रहरीको क्षेत्रीय एड्भाइजरी बोर्डमा नियुक्त भएका छन् ।

    बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको सल्लाहकार बोर्डमा आफूलाई नियुक्त गरिएको श्रेष्ठले जानकारी दिए । ह्याम्पशायर कन्सट्याबुलरीको ‘फोर्स स्ट्याटेजिक इण्डिपेन्डेन्ट एड्भाइजरी ग्रुप’ मा नियुक्त ८ सदस्यमध्ये श्रेष्ठ पनि एक छन्। श्रेष्ठलाइ सल्लाहकार बोर्डमा नियुक्त गरिएको कुरा ह्याम्प्सायर कन्स्टल्बुरीका असिस्टेन्ट चिफ कन्स्टेबल म्याग्गी ब्लिथले  श्रेष्ठलाई जानकारी गराएकी थिइन्।

    नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठको व्यवसायिक पृष्ठभूमि र यहाँको स्थानीय समुदायमा उनको सक्रियताका आधारमा प्रहरीकोे सल्लाहकारमा नियुक्त गरिएको उनले बताए । बोर्डमा श्रेष्ठको नाम प्रस्ताव भइसकेपछि विभिन्न चरणमा भएका बैठक र अन्तरवार्ताहरुपछि उनलाई नियुक्ति दिइएको हो । त्यसक्रममा ह्याम्पशायर कन्सट्याबुलरीका उच्च प्रहरी अधिकारीहरुसंगै बेलायत सरकारका पूर्व गृहमन्त्री समेतको सहभागितामा छलफलहरु गरिएका थिए ।

    बोर्डमा सल्लाहकारका रुपमा नियुक्त श्रेष्ठको कार्यकाल आउँदो वर्षको शुरुदेखि २ वर्ष रहनेछ । बेलायतमा नेपालीहरुको उल्लेख्य बसोबास रहेका अल्डरसट, फार्नबरोदेखि हुक, बेजिंगस्टोक, विन्चेस्टर, अल्टन, साउथह्याम्पटन, पोर्टस्माउथ र आइल अफ ह्वाइटसम्मका क्षेत्र बेलायती प्रहरीको ह्याम्पशायर कन्सट्याबुलरीको कार्यक्षेत्रमा पर्छन् ।

    स्थानीय स्तरमा रहेका विभिन्न पृष्ठभूमिका समुदायहरु र प्रहरीबीच समन्वय र सम्बन्ध सुदृढिकरणका लागि यो एड्भाइजरी बोर्डले भूमिका खेल्ने गर्छ । प्रहरीका गतिविधि र घटनाक्रमहरुलाई स्वतन्त्रतापूर्वक समिक्षा गर्ने, त्यसप्रति आफ्नोे धारणाहरु दिने र समुदायको भावना एवम् आवश्यकतालाई प्रहरीसम्म सञ्चार गर्ने काम बोर्डको हो ।

    प्रहरीले सञ्चालन गरेका विभिन्न घटनाहरुमाथिका प्रमुख अनुसन्धानहरुको मुल्यांकन गर्दै स्थानीय प्रहरीको नीति तथा योजना तर्जुमाका लागि समेत सुझाव दिने काम सल्लाहकार बोर्डले गर्न सक्छ ।

    बेलायती प्रहरीको क्षेत्रीय स्तरको सल्लाहकार बोर्डमा नेपाली समुदायबाट नियुक्त हुने सम्भवतः श्रेष्ठ नै पहिलो हुन् । ‘मैले यो जिम्मेवारीलाई गौरवका रुपमा लिएको छु ।हाम्रो सिंगो नेपाली समुदायकै प्रतिनिधिका रुपमा मलाई सल्लाहकार नियुक्त गरिएको मैले ठानेको छु’, श्रेष्ठले भने, ‘हाम्रो समुदायको भावना र आवश्यकताको प्रतिनिधित्व हुने गरी काम गर्ने मेरो अठोट छ ।’

    प्रहरीमाथि लाग्ने जातीय भेदभाव र शक्ति दुरुपयोगको आरोपलाई हटाउने दिशामा सक्दो योगदान गर्ने उनले बताए ।  नेपाल प्रहरीका पूर्व डिएसपी श्रेष्ठ बेलायतको बेजिंगस्टोक मल्टकिल्चर फोरममा हाल अध्यक्ष छन् । विश्वका २७ देशबाट आएका करिब ८० वटा समुदायको प्रतिनिधित्व रहेको फोरममा केहि महिनाअघि उनी अध्यक्ष नियुक्त भएका हुन् ।

    लेबर पार्टीको बेजिंगस्टोक कार्यसमितिका सदस्य श्रेष्ठ अश्वेत, एशियन तथा अल्पसंख्यक समुदाय हेर्ने विभागका संयोजक हुन् । स्थानीय क्रयामबोर्न कलेजमा उनी गभर्नर पनि छन् । बेलायतको स्थानीय समुदायसंग निकट रहेर सामाजिक कामहरु गर्दै आएका श्रेष्ठ यहाँको नेपाली समुदायमा पनि उत्तिकै क्रियाशिल छन् ।

    प्रतिक्रिया दिनुहोस