२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
शिक्षक सरुवामा माथापच्चिसी

गाउँपालिकाकाे सरुवा वडाबाट राेक्ने खेल !

  • २०७७ कार्तिक २७, बिहिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा – ओखलढुंगाको चिशंखुगढी गाउँपालिका, शिक्षा समितिले २९ असोजमा शिक्षक दरबन्दी मिलान तथा सरुवासम्बन्धी निर्णय गर्‍यो । उक्त निर्णयअनुसार अधिकांश शिक्षक तोकिएको कार्यक्षेत्र जान तयार भए ।

    एकाध शिक्षक अन्याय भएको भन्दै आफू सम्बद्ध शिक्षक संगठन गुहार्न पुगे । आफ्ना संगठनका शिक्षक अन्यायमा परेको भन्दै नेपाल शिक्षक संघ ओखलढुंगाले विज्ञप्ति निकालेरै सरुवा तथा दरबन्दी मिलानको विरोध गर्‍यो ।

    त्यतिले पनि पार नलाग्ने देखेपछि मातृ पार्टी नेपाली कांग्रेसको चिशंखुगढी गाउँपालिका समितिले राजनीतिक आस्थाका आधारमा शिक्षक सरुवा गरेको भन्दै विज्ञप्ति मात्रै निकालेन, गाउँपालिकामा ध्यानाकर्षण पत्रै दियो ।

    गाउँपालिकाको शिक्षा नियमावली तथा संघीय शिक्षा मन्त्रालयको परिपत्रका आधारमा गरिएको निर्णय कार्यान्वयन हुने जवाफ गाउँपालिकाले दिएपछि भने यो झमेला सत्तारुढ नेकपा भर्सेस कांग्रेस भएर वडासम्मै पुगेको छ ।

    वडा-३ को वडा समिति बैठकबाटै निर्णय गरेर गाउँपालिकाको शिक्षक सरुवा तथा दरबन्दी मिलानको निर्णय कार्यान्वयन नगर्न २१ कात्तिकमा विद्यालयहरूलाई पत्रिपत्र गरेको छ । आफ्ना वडाभित्रका ६  विद्यालयलाई वडाध्यक्ष गंगा श्रेष्ठले पत्र लेख्दै ‘सरुवा भएर आउनेलाई हाजिर नगराउन र जानेलाई रवाना नदिन’ निर्देशन दिए ।

    सामान्यतः वडालाई गाउँपालिकाको निर्णय कार्यान्वयन गर्ने, प्रचलित कानुन तथा गाउँपालिकाको निर्णय प्रतिकूल नहुने थप निर्णय गर्ने र कार्यन्वयन गर्ने मात्रै अधिकार रहेको छ । वडाले क्षेत्राधिकार मिचेर उक्त निर्णय गर्नु दलीय द्वन्द्व नै हो ।

    गाउँपालिकामा नेतृत्वसहित नेकपाको बहुमत छ । आफ्ना पार्टीका सदस्य रहेका शिक्षकलाई विभेद गरेको भन्दै कांग्रेसले निर्णय कार्यान्वयन नगर्न दिएको दबाब गाउँपालिकाले बेवास्ता गरेपछि आफ्नो पार्टीले जितेको वडाबाट अवरोध गर्ने नीति अख्तियार गरेको छ ।

    वडा–३ का वडाध्यक्ष गंगा श्रेष्ठ कांग्रेसबाट निर्वाचित हुन् । श्रेष्ठको यस्तो परिपत्रबारे आपत्ति जनाउँदै गाउँपालिकाले यसअघि भएका निर्णय कार्यान्वयन गर्न सबै विद्यालय तथा वडाहरूलाई लिखित निर्देशन दिइसकेको छ ।

    वडाध्यक्षमार्फत कांग्रेसले गाउँपालिकाको निर्णय कार्यान्वयनमा अवरोधको प्रयास गरेको र उक्त प्रयासको औचित्य नभएको नेकपा चिशंखुगढीले प्रतिक्रिया दिएको छ ।

    क्षेत्राधिकार नमिच्न गाउँपालिकाको निर्देशन  

    वडाध्ययक्षको परिपत्रपछि गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालय तथा वडामा पत्राचार गर्दै गाउँपालिकाको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको छ । प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले पत्र नै लेखेर क्षेत्राधिकार बाहिरका निर्णय नगर्न र शिक्षा नियामावलीअनुसार भएका निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

    वडाको परिपत्र सम्बन्धमा गाउँपालिका अध्यक्ष निशान्त शर्मा क्षेत्राधिकार बाहिर गएर निर्णय गर्न वडालाई अधिकार नभएको दाबी गर्छन् ।कोरोनाका कारण विद्यालयको पठनपाठन अवरुद्ध भएको अवस्थामा गाउँपालिकाले विद्यालय सञ्चालन तथा दरबन्दी मिलान, शिक्षक व्यवस्थापनको काम गरेको हो । राजनीति गर्ने मुद्दा धेरै छन् । शैक्षिक वातावरण नधमिल्याउन आग्रह छ,’ अध्यक्ष शर्माले भने ।

    गाउँपालिकाले शिक्षा मन्त्रालयको दरबन्दी मिलानसम्बनधी परिपत्र तथा चिशंखुगढी गाउँपालिका शिक्षा नियमावलीका आधारमा पालिकाभित्रका ४२ शिक्षकको दरबन्दी मिलान तथा सरुवा गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस