२०८० चैत्र ६, मंगलबार | Tue, 19, Mar, 2024

ओखलढुंगाकाे मानेभञ्ज्याङबाट शुरु भयाे राष्ट्रिय परिचय पत्रकाे दर्ता अभियान

  • २०७७ कार्तिक १८, मंगलबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- ओखलढुंगामा राष्ट्रिय परिचय पत्रको लागि तथ्यांक संकलन कार्य सुरु भएको छ । मंगलबार मानेभञ्ज्याङ गाउँपालिका वडा नं ५ बाट तथ्यांक संकलन कार्य सुरु भएको हो ।

    एक समारोहका बीच प्रमुख अतिथि संघीय सांसद यज्ञराज सुनुवारले ९२ वर्षीय चन्द्रबहादुर राई र ८७ वर्षीया गंगादेवी खडकालाई दर्ता प्रमाणपत्र हस्तान्तरण गर्दै अभियानको सुभारम्भ गरेका थिए ।

    प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलको अध्यक्षतामा भएको सो अभियानमा प्रदेश १ का अर्थ समिति सभापति तथा प्रदेश सांसद  मोहन खड्का, संविधानसभा सदस्य रामहरि खतिवडा, राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका महानिर्देशक जितेन्द्र बस्नेत, मानेभञ्ज्याङ गाउँपालिकाका पदाधिकारी एवं राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

    जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधान सहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचय पत्रको उद्देश्यले परिचय पत्रका लागि तथ्यांक संकलन थालिएको हो ।

    नागरिकताको प्रमाणपत्र प्राप्त व्यक्तिहरुले आवश्यक विवरण भरेर राष्ट्रिय परिचय पत्र प्राप्त गर्न सक्ने बताइएको छ । सो अभियान सम्पन्न गर्नका लागि सबै पक्षले आ आफ्नो तर्फबाट भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस