२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष प्रहरी खाेरमा !

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- भारतीय नागरिकलाई नागरिकता दिलाउन सिफारिस गरेको आरोपमा एक जना वडा अध्यक्ष प्रहरी फन्दामा परेका छन् ।  कैलालीको धनगढी उपमहानगरपालिका १२ का वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    वडाध्यक्षसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी, नक्कली नागरिकता लिने भारतीय नागरिक अलियास अन्सारी, दाइ र भाउजु बनेर नागरिकता दिलाउन सहयोग गर्ने वडा नम्बर १२ कै खुसीराम चौधरी र गीता चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताएकाे उज्यालाे अनलाइनमा खबर छ।

    उहाँका अनुसार २०७५ साल फागुन २० गते वडाध्यक्ष जोशीले वंशजका आधारमा अन्सारीलाई नागरिकता दिलाउन सिफारिस गरेका थिए । बुबा बनेर नागरिकता दिलाउन सहयोग गर्ने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ हिम्मतपुर शिविरका पुनिराम चौधरी भने फरार रहेका र खोजी भइरहेको पनि विष्टले जानकारी दिए ।

    भारतीय नागरिक अन्सारी अहिले कैलालीकै टीकापुर नगरपालिकाको वडा नम्बर ७ मा बस्दै आएका छन् । प्रहरी नायव उपरीक्षक विष्टका अनुसार पक्राउ परेका चार जनामाथि नागरिकता ऐनअनुसार कारबाही हुनेछ । ऐनमा विदेशीले नेपाली नागरिक भएको झुठो दाबी गरेर नागरिकता प्राप्त गरेमा एक वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।

    प्रतिक्रिया दिनुहोस