२०७७ मंसिर २०, शनिबार | Sat, 05, Dec, 2020

डा.साव ! प्रमाण पेश गराै‌ं

  • २०७७ कार्तिक १४, शुक्रबार मा प्रकाशित १ महिना अघि
  • काम नगरे पनि प्रायः नेताहरूको सोख ‘केही न केही बोलिरहनु’ देखिन्छ । यसरी नै उनीहरू आफ्नो अस्तित्व र उपस्थिति जनाइरहन्छन् । यही कित्तामा आउँछ पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नाम पनि । उनी बेलाबेलामा केही नौला कुरा बताइरहन्छन् । मान्छे विद्वान पनि हुन् । यससअघि उनले सदनमै, नेताको विलासी जीवन र यो हैसियत हुनुको कारण छानबीन गरौं भन्ने भनाइ लोकप्रिय भएको थियो ।

    भ्रष्टाचारले आजित भएका जनता, ‘बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिङ, यति, ओम्नीलगायत सबैखाले भ्रष्टाचार काण्डको छानबीन गरौं’ भन्ने कुरा चाख मानेर नसुन्ने कुरै भएन । यस क्रममा केही दिन यता उनले, प्रस्तावित बूढीगण्डकी जलविद्युत् परिआयोजनामा ९ अर्व भ्रष्टाचार भएको भनी नेपालका बडेबडे नेताको नाम लिएको कुरा चर्चित छ ।

    यसलगत्तै भनेजस्तो प्रधानमन्त्री ओलीको ‘भ्रष्टाचार विरुद्ध शुन्य सहनशीलता’ महावाणी आउनुलाई पनि छट्पटी र अधैर्यको प्रतिक्रिया मान्न सकिन्छ । आरोपित पक्षबाट प्रेस विज्ञप्ति र खण्डन आउँदैमा पनि चित्त बुझाउन सकिने अवस्था छैन ।

    सामान्य नेपाली जनतालाई पनि थाहा भएकै कुरा हो, हाम्रा सानातिनादेखि लिएर गौरवका योजना, आयोजना तथा ठूला परियोजनाहरू कमिसनखोर, माफिया, भ्रष्ट नेता र उच्च सरकारी अधिकारीको हितमा ‘चल्दै आएका’ छन् ।

    मानवीय गल्ती र प्राकृतिक प्रकोपका कारण होइन, खन्चुवा राजनीतिले देशलाई जानीजानी बिगार्दै छ । त्यसैले पनि यो बेलामा भट्टराईको आरोपलाई एउटा जिम्मेवार प्रतिपक्ष र साहसी नागरिकको सानो आवाजका रूपमा लिएर भ्रष्टाचार विरुद्ध सक्रिय अभियन्ता र तिनका समूह एवं संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी छ ।

    वायु सेवा निगमको न्यारोबडी र वाइडबडी काण्ड, आयल निगमको जग्गा खरीद काण्ड, नेपाल ट्रस्टको सम्पत्ति हिनामिना काण्ड, निर्वाचन आयोगले २०७४ को निर्वाचनमा गरेको भ्रष्टाचार काण्ड, पूर्व न्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको आयोगको प्रतिवेदनअनुसार त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले मेडिकल कलेजलाई सम्बन्धन दिंदा गरेको भ्रष्टाचार काण्ड, मेलम्ची आयोजनामा ठेकेदार कम्पनीले बीचैमा छोड्नुपर्ने गरी गरिएको कमिसन काण्ड, ७० करोड बार्गेनिङ काण्ड, यति-ओम्नी काण्ड तिनैमध्येका केही हुन् ।

    यस सन्दर्भमा कतिले भट्टराईमा लघुताभास, कुण्ठा, स्वैरकाल्पनिकता छ भने पनि उनको पछिल्लो आरोप र ‘आफूसँग सोको प्रमाण भएको’ कुरा गलत होलाजस्तो लाग्दैन । चरम राजनीतिकरणका कारण, राजनीतिक नेता मुछिने अवस्थाका मुद्दामा अख्तियार र न्यायालय दूधको साक्षी बिरालो बन्ने गरेको कुरा पनि जगजाहेरै छ ।

    अर्को कुरा, भट्टराईको यो भनाइ नेतागणबाहेक समस्त नागरिक समाजले देख्नु/भोग्नुपरिरहेको भ्रष्टाचार, घुसखोरी, बेरोजगारी, दण्डहीनता, मूल्यवृद्धिको समयमा आएको छ । अन्य देशमा भए, अनेक काण्डमा मुछिएका हाम्रा थुप्रैे नेताहरूको राजनीतिक जीवन समाप्त भैसक्ने थियो । तर हाम्रामा चाहिं तिनै व्यक्ति नभई सरकारै चल्न नसक्ने अवस्था देखिएको छ ।

    मानवीय गल्ती र प्राकृतिक प्रकोपका कारण होइन, खन्चुवा राजनीतिले देशलाई जानीजानी बिगार्दै छ । त्यसैले पनि यो बेलामा भट्टराईको आरोपलाई एउटा जिम्मेवार प्रतिपक्ष र साहसी नागरिकको सानो आवाजका रूपमा लिएर भ्रष्टाचार विरुद्ध सक्रिय अभियन्ता र तिनका समूह एवं संस्थाहरूको ध्यानाकर्षण हुनु जरुरी छ । सरकारले भनेको ‘भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता’ सुन्दासुन्दा कानहरू पाके, केही होला कि भनेर पर्खंदापर्खंदै मनहरू थाके ।

    आन्दोलनको आँधीबेहरी ल्याउनका लागि जनता तम्तयार भएर बसेका छन् । भट्टराईले खालि आफूसँग भएको प्रमाणसहित अदालत या अख्तियारमा जानुपर्‍यो । अनि पनि केही भएन भने जनतामा जानुपर्‍यो ।

    प्रतिक्रिया दिनुहोस