२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024
डुवेर २ दिनमा २९ बाँदर मरे

सानीटारको पोखरीमा किन हाम हामफाले बाँदर ?

  • २०७७ कार्तिक १, शनिबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सिद्धिचरण नगरपालिका-५ स्थित सानीटारमा शुक्रबार र शनिबार दुई दिनमा र २९ बाँदर पोखरीमा हाम फालेर मरेका छन् । शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेका थिए । स्थानीयले देखेपछि १२ वटा बाँदरको जिवितै उद्धार गरिएको थियो । स्थानीय बासिन्दा र वन डिभिजन कार्यालयका कर्मचारीले उद्धार गरेका हुन् ।

    शनिबार फेरि ७ वटा बाँदर पोखरीमा हाम फालेर मरेको स्थानीय देवकुमार दाहालले जानकारी दिए । उनले बाँदर दैनिक पसेर मर्न थालेपछि पोखरीको पानी खोलेर रित्तो पारेको पनि बताए । बाँदरले सँधै अन्नबाली खाएर दुःख दिने क्षेत्र मानिने सानीटारमा ठूलो संख्यामा बाँदरको मृत्यु भएको हो ।

    सिंचाइका लागि निर्माण गरिएको ६ फिट गहिरो सिमेन्टको पोखरीमा अन्य समयमा पनि बाँदरले आएर पानी खाने गरेका थिए । बाँदरका बच्चा चकचके हुने भएकाले कुनै एक बच्चा उफ्रिने क्रममा खस्दा निकाल्न अरु बाँदरसमेत पसेको हुनसक्ने वन डिभिजन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठको भनाइ छ । श्रेष्ठले भने, ‘पानीको सतहमाथि हुँदा उनीहरुले सहजै पानी खाएर फर्किन्थे । तर हिजो चाहीँ पानीको सतह तल भएकोले पिउन खोज्दाखेरि डुबेर मरेको हुनुपर्छ ।’ एउटा कुनै कारण डुबेपछि अरु पनि पालैपालो पोखरीमा पसेर मरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

    बाँदरको सामूहिक मृत्यु भएपछि वडाका जनप्रतिनिधि, वन डिभिजन कार्यालयका कर्मचारी र स्थानीयको रोहबरमा मुचुल्का उठाएर सद्गत गरेका छन् । शनिबार समेत बाँदर मरेपछि वन डिभिजन कार्यालयका अधिकृतसहितको टोली घटनास्थल खटाइएको छ ।

    त्यही पोखरीमा सधैं पानी खान आउने जाने र पसेपछि निस्कन नसकेको हो भने काठको भर्‍याङ राखेर उक्लिने ओर्लने बाटो बनाइदिने तयारी गरेको डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले बताए । यस्तो घटना विगतमा अन्य जिल्लामा सुने पनि यसबारे बृहत अध्ययन नभएकाले कारण यकिन नभएको उनको भनाइ छ ।

    केही स्थानीयले बाँदरले सँधै दुःख दिएकाले रिसले कुनै व्यक्तिले पोखरीमै विष हालेको पनि हुनसक्ने आशंका गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस