२०८० चैत्र १५, बिहिबार | Thu, 28, Mar, 2024
डडेलधुराका मेयर, ओखलढुंगाका ठेकेदार !

मेयरसा’ब मान्द्रे दाेभानमा कहिले बन्छ पक्की पुल ?

  • २०७७ आश्विन २६, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा- सुनकोसी गाउँपालिका वडा– १० र मोलुङ गाउँपालिका वडा–१ स्थित मोलुङ खोला मान्द्रेदाभानको पक्की पुल ७ वर्षदेखि अलपत्र छ ।

    पटक–पटक थपिएको म्याद सकिए पनि ठेकेदारले पुलको आधा पिलर उठाएर अलपत्र छाडेका छन् । यो मोलुङ र सुनकोसी जोड्ने मात्रै नभइै साँघुटार–ओखलढुंगा सडकले सदरमुकाम र जिल्लाका पश्चिमी भूभाग जोड्ने राजमार्गको पुलसमेत हो ।

    पुल नबन्दा बर्खामा खोलो बढ्ने भएकाले जेठदेखि कात्तिकसम्म यातायात बन्द हुने गरेको छ । यसले सदरमुकाम आउजाउमा सर्वसाधारण हैरानी खेप्न बाध्य छन् ।

    पुल निर्माण गर्ने कम्पनीका ठेकेदार भने जनप्रतिनिधि नै हुन् । परशुराम नगरपालिका, डडेलधुराका मेयर भीमबहादुर साउदको राजेन्द्र निर्माण सेवाले ठेक्का पाएको उक्त पुल ७ वर्षदेखि अलपत्र छ ।

    २०७२ मा ठेक्का लिएर २ वर्षभित्रै सक्ने गरी सम्झौता भएको पुल २ पटक म्याद थपेर पनि जग निर्माण भएन । दोस्रो पटक थपेको म्याद पनि २०७६ जेठमा सकिएपछि अन्तिम पटकलाई भनेर तेस्रो पटक म्याद थपिए पनि काम अझै अलपत्र छ ।

    म्याद थप्ने समय केही कामदार र प्राविकि खटाएर २०७६ चैतभित्र काम सक्ने प्रतिबद्धता जनाएर साउदले खटाएका प्राविधिकले कम्पनीको प्रतिनिधि भएर काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए ।

    सांसद र प्रमुख जिल्ला अधिकारीले लिखित कागज गराएर म्याद थप गर्न लगाए पनि म्याद थपेपछि भने काम अघि बढेन । खोलामा हालिने पिलरको आधा मात्रै काम भएको छ ।

    कामै अघि नबढेपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले अलत्र योजना अघि बढाउन टेलिफोन गरेरै २ पटक जिल्ला बोलाए पनि साउदले टेरेरन् । उनले खटाएका प्रतिनिधि पनि अहिले फिल्डमा छैनन् ।

    पूर्वाधार विकास कार्यालयअन्तर्गत रहेको उक्त पुल चाँडो निमार्णका लागि कार्यालयले पहल नगर्दा पनि समस्या आएको स्थानीयको बुझाइ छ । पूर्वाधार विकास कार्यालयले यसअघि उक्त कम्पनीका कन्ट्रयाक्टरसँग समय तोकेरै काम सक्ने सम्झौता भए पनि
    कार्यान्वयन भएन ।

    ठेक्का सम्झौता गर्नसमेत नआएर प्रतिनिधि खटाएका जनप्रतिनिधि साउदले शक्तिको आडमा विकासे काम अलपत्र पारेको सांसद यज्ञराज सुनुवारको आरोप छ । उनले संसद् बैठकमा समेत साउदमाथि कारबाही गर्न पटक–पटक माग गरेका थिए ।

    सुरु डिजाइनमै कैफियत

    २०७२ मै निर्माण सकिनुपर्ने पुलको डिजाइन फेल भएको भन्दै सम्पन्न गरिसक्ने अवधिसम्म कामै सुरु भएन । पाइलिङ प्रविधिबाट निर्माण गरिने भनेर डिजाइन गरिएको उक्त पुलको जग खन्दा चट्टान नै नभेटिएपछि ओपन फाउन्डेसनमा निर्माण गर्ने डिजाइन परिवर्तन गर्न झन्डै २ वर्ष लाग्यो । २०७३ मा डिजाइनसमेत परिवर्तन गरेर निर्माण थाले पनि अहिलेसम्म ३ पिलर आधा मात्रै बनेका छन् ।

    जिल्लालाई पूर्व–पश्चिम जोड्ने मेरुदण्डका रुपमा रहेको उक्त पुल ३० असार २०७४  भित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । ‘पाइल फाउन्डेशन’ प्रविधिबाट बनाइने भनिएको पुल निर्माणको पहिलो चरणमै चट्टान भेटिएपछि डिजाइन परिवर्तन गर्नै १८ महिना लागेको थियो । प्रविधि परिर्वतन गर्नु परेपछि साउदका कन्ट्रयाक्टर रवीन्द्र लामा भागेका थिए ।

    पूर्वाधार विकास कार्यालयले पुल निर्माणको हाल ५० प्रतिशत प्रगति भएको विवरणमा उल्लेख गरेको छ । स्थानीय भने उक्त कुरा मान्न तयार छैनन् । ‘पिलरसमेत पूरा नभएको काम ५० प्रतिशत भएको यहाँका नागरिकलाई विश्वास छैन,’  स्थानीय अर्जुन गिरी भन्छन् ।

    सुरुमा ३ करोड ३२ लाख ५५ हजार १ सय ६९ लागतमा सम्झौता भएको पुलको रकम पछिल्लो डिजाइनपछि ५ करोड ६९ लाख २४ हजार ५ सय ९८ पु¥याइएको छ । स्वीस सरकारको सहयोगमा निर्माण गरिने पुलको ठेक्का तत्कालीन जिविसले लगाएको हो । यसको प्राविधिक सहयोग स्थानीय सडक पुल परियोजना (एलआरबिपी) ले गरेको छ । पुल निर्माण भए ८० मिटर लम्बाइ र ५ मिटर चौडाइको हुनेछ ।

    म्याद सकिएपछि शिलान्यास

    पुल निर्माण सम्पन्न गर्नुपर्ने म्याद सकिएको चार वर्षपछि ०७४ मा शिलान्यास गरिएको थियो । पुल निर्माणका क्रममा उपकरण बिग्रिइरहने ठेकेदारका प्रतिनिधिले बताएपछि खोलामा तत्कालीन प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालले मसान पूजासमेत गराएका थिए ।

    जिल्लामा निर्माण कम्पनीको लापरबाही र स्थानीय सरकारको बेवास्ताका कारण ठूला आयोजना अलपत्र छन् । २ गाउँपालिका जोड्ने महत्वपूर्ण र प्रस्तावित राजमार्गको पुल निर्माण अलपत्र परेकोबारे सुनकोसी गाउँपालिका र मोलुङ गाउँपालिकाले एक पटक पनि समन्वय गरेका छैनन् ।

    दुवै गाउँपालिकाको सीमामा उक्त पुल निर्माण अलपत्र हुनुमा ठेकेदारमाथि राजनीतिक संरक्षण भएको बताइन्छ । साउद ठेकेदार र नगरप्रमुख मात्र नभएर कांग्रेस डडेलधुराका नेतासमेत हुन् । ‘सुनकोसी गाउँपालिका अध्यक्ष आफ्नै पार्टीका नेताविरुद्ध बोल्दैनन् । मोलुङकालाई चासो छैन,’ स्थानीय भन्छन् ।

    साउदले खटाएका प्रतिनिधि वर्षैपिच्छे फेरिन्छन् । उनीहरू काम चाँडै सकिन्छ भनेर हिँड्छन् । यसबारे जानकारी लिन सम्पर्क गर्दा साउद टेलिफोन उठाउँदैनन् ।

     

    प्रतिक्रिया दिनुहोस