२०८१ बैशाख ७, शुक्रबार | Fri, 19, Apr, 2024

बलात्कार पीडितकाे अवस्था ‘गम्भीर’

  • २०७७ आश्विन २१, बुधबार मा प्रकाशित ३ साल अघि
  • उनी कोही नयाँ मान्छे आउँदा डराउने, आत्तिने, तर्सिने र चिच्याउने गर्छिन्। राति निद्रामा पनि तर्सिने, बर्बराउने, झस्कने र आत्तिएर उठ्ने गर्न थालेको अभिभावकले बताए। लामै समयदेखि खानै नमान्दा शारीरिक रुपमा कमजोर बन्दै गएकी छन्।

    बाहिरफेर गएर राम्ररी खेल्ने र कुद्ने उनी केही दिनदेखि घरबाटै बाहिर निस्कन मान्दिनन्। विराटनगर महानगरपालिका–१६ मा अभिभावकसँग डेरामा बस्दै आएकी पाँच वर्षीया  बलात्कार पीडित बालिकाले एक सातादेखि खाना खान मानिरहेकी छैनन्।

    तर अभिभावकले बालिकाले देखाएको विगतको भन्दा भिन्न व्यवहारका बारेमा खासै चासो दिएका थिएनन्। उल्टै बाहिरफेरो डुलिरहने बालिकालाई केही लागेको र कुनै कुराले दुःख दिएको हुन सक्ने अड्कल काट्न थाले। आमाले पोषिलो खाने कुरा ल्याएर दिए पनि खान मान्दिन थिइन्। अहिले पनि बालिकामा सबै समस्या कायमै रहेको उनकी आमाले बताइन्।

    उनलाई डेरा बसेकै घरमा पढाउनका लागि आउँथे विराटनगर–१६ का २१ वर्षीय गौरव साह। साहले बालिकासहित उनका ११ वर्षीय दाजु, ४ वर्षीय भाइ र अर्का ९ वर्षीय बालकलाई गत वैशाखदेखि ‘होम ट्युसन’पढाउन थालेका हुन्। लामो समयदेखि शैक्षिक संस्था बन्द भएर स्कुल नलाग्दा चारै जना घरमै आउने शिक्षकसँग ट्युसन पढ्थे।

    प्रत्येक दिन आउने साहलाई देखेपछि झन् बालिका चिच्याउँदै रुने र पढ्न जान नमान्ने गर्न थालिन्। देख्ने बित्तिकै उनी डाँको छाडेर रुन्थिन्। र पनि समस्या बुझ्न छाडेर अभिभावकले उनीसँगै पढ्नलाई जबरजस्ती पठाइरहे।

    पढ्न नजानेको र गृहकार्य नगरेको भन्दै कुट्दै र पिट्दै आफूलाई सरले खाटमुनि गएर पोको पर्दै बस्न लगाएर सजाय दिने गरेको कुरा ११ वर्षीय बालकले पटकपटक बताउँदै आएका थिए। ४ वर्षीय बालकलाई भने १०-१५ मिनेटजति पढाएर साहले आमासँग पठाउँथे। ‘मैले नभनेसम्म बाहिर ननिस्कनु भन्दै हामीलाई खाटमुनी पठाएर बहिनीलाई खाटमाथि नै राख्नुहुन्थ्यो’, ११ वर्षीय बालकले भने, ‘तर हामी खाटमुनि गएपछि बहिनी दुख्यो भन्दै रुने गरे पनि  कुटेकाले होला भन्ने लाग्यो।’

    यही क्रम दोहोरिएपछि दाजुले सोध्दा बहिनीले सबै कुरा भनिन्। भोलिपल्ट खाटमुनीबाट चियाएर हेर्दा बहिनी र आफ्ना सबै कपडा खोलेको अवस्थामा सरलाई देखेको उनले बताए। घटनाको विश्वास नगरेका अभिभावकले उल्टै पढ्न नजान्दा कराएकाले यस्तो सुनाएको हुन सक्ने अड्कल काटे।

    बालकले यही कुरा बारम्बार दोहोर्‍याएपछि भने आमाले नयाँ जुक्ति लगाइन्। शनिबार भिडियो खिच्ने गरी कोठामा मोबाइल ‘फिट’गरिन्। क्यामेरामा भिडियो बनेर कैद भयो छोराछोरी पढाउने शिक्षकको रौद्ररुप। अनि बल्ल अभिभावकले घटनाका बारेमा थाहा पाए। बालिकामाथि गिद्धे नजर लगाएका यौन पिपासु साहले पढाउने नाममा आफ्नो र बालिकाको कपडा खोलेर बलात्कार गरेको भिडियोमा देखिने प्रहरीले जनाएको छ।

    बलात्कार गर्नुअघि बालबालिकालाई कुटपिट पनि गरेको देखिन्छ। ‘अलि बुझ्ने बच्चाहरुलाई खाटमुनी जान लगाएर बालिकालाई मात्रै खाटमाथि राख्दै बलात्कार गरेको भिडियोमा देखिन्छ’, एक प्रहरीले भने, ‘कपडा आफैँले खोजेर संवेदनसिल अंग खेलाउँदै बलात्कार गरेको देखिन्छ।’ उनका अनुसार बलात्कार गर्दै बालिकाको शरीरमा स्खलन गराएको पनि देखिन्छ।

    बालिका आत्तिएर डराउँदा र चिच्याउँदा समाएर आफ्नो नियन्त्रणमा लिँदै साहले बारम्बार बलात्कार गरेको आमाले बताइन्। दुख्यो भनेर छोरीले भन्दा पनि पिट्दै बलात्कार गरेको भिडियोमा देखिने उनको भनाइ छ। ‘सरले कुट्ने र कराउने गरेको हुन सक्ने भएकाले सुरुमा बच्चाले भनेको कुरा विश्वासनै गरेनौं’, उनले भनिन्, ‘मोबाइलले भिडियो खिचेपछि मात्रै घरमै छोराछोरी पढाउन बोलाइएका शिक्षकले गरेको हर्कत देख्यौं।’ चार जनालाई पढाएका साहले मासिक एक हजार आठ सय रुपैयाँ लिने गरेका थिए।

    जनकपुर घर भएको बालिकाका अभिभावक छ वर्षदेखि विराटनगरमा डेरा बस्दै आएका हुन्। ‘घटनापछि छोरीको दिमागमा नराम्ररी असर पुगेको छ। धेरै डराएकी उनी अब कहिल्यै पढ्न जान्न भन्छिन्’, आमाले भनिन्, ‘सम्झाइ बुझाइ गर्‍यो भने रुन थालेर चिच्याउँछिन्। कलिलो दिमागमा डरले जरा गाडेर बसिदियो।’ खान नमान्दा र रुने मात्रै गरेका कारण छोरीको स्वास्थ्य अवस्था बिग्रंदै गएको उनले सुनाइन्।

    बालिका गौतम बुद्ध स्कुलको नर्सरीमा गत माघमा मात्रै भर्ना भएकी हुन्। कोरोनाका कारण स्कुल बन्द भएर पठन पाठन नहुँदा घरमै बोलाएर ‘होम ट्युसन’ पढाउन लगाइएका शिक्षकले नै कलिली छोरीमाथि रौद्ररुप देखाएको आमको गुनासो छ। पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि कोशी अस्पताल लगिएको थियो। प्रारम्भिक स्वास्थ्य परीक्षण रिपोर्टले पनि बालिका बलात्कृत भएको देखाएको प्रहरी स्रोतले जनायो।
    इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बालिकामाथि एक सातादेखि नै बलात्कार भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए।
    ‘कोरोनाका कारण  गरिएको लकडाउन र निषेधाज्ञाले लामो समयदेखि शैक्षिक संस्था बन्द छन्’, उनले भने, ‘पैसा खर्च गर्दै छोराछोरीको पढाइलाई निरन्तरता दिन अभिभावकले घरमै बोलाएका शिक्षकले गिद्धे नजर लगाउँदै बालिकामाथि पटकपटक बलात्कार गरेको खुल्यो।’ पछिल्लो पटक शनिबार बलात्कार गरेको खुलेपछि पक्राउ गरेर साहविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन आइतबार म्याद थप गर्दै घटनाको बाँकी अनुसन्धान थालिएको प्रनि थापाले बताए।

    मनोविद् प्राध्यापक महेश खत्रीले कलिलो उमेरमा बालबालिकाको दिमागमा परेको असार  हटाउन निक्कै मुस्किल पर्ने बताए। ‘मनस्थितिमा परेको नकारात्मक असर हटाउन विस्तारै सहज वातावरण बनाउँदै राम्राराम्रा कुरातर्फ ध्यानआकृष्ट गराउनु पर्छ’, उनले भने, ‘नभए गडेर बसेको असरले पछि गएर बेहोस हुने लगायतका अरु समस्या निम्तन सक्छ।’

    खत्रीले बालबालिकाको आत्मा कमजोर हुने भएकाले कुनै घटनामा परेका बेला मनोबल उच्च बनाउनेतर्फ अभिभावकको ध्यान जान जरुरी रहेको पनि उल्लेख गरे। केही समय बालिकामा डराउने, तर्सिने र मानसिक तनाव कायमै रहन सक्ने भएकाले त्यसलाई क्रमिक रुपमा हटाएर निकाल्न परामर्शतर्फ चासो दिनु पर्ने उनको भनाइ छ। ‘बालिकालाई सामान्य अवस्थामा फर्काउन अभिभावकको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘उनले भनेका विषयमा हरेक हिसाबले सहयोग गर्दै सबै बुझिदिने र कुरा सुनिदिने गर्नुपर्छ।’

    मनोविद् खत्रीले यस्तो बेला अभिभावकको अति नै जरुरी पर्ने भएकाले बालिकालाई बढी समय दिन आवश्यक रहेको उल्लेख गरे। ‘स्वतन्त्र र निश्चिन्त हुने वातावरण बनाउँदै सुरक्षित भएको महसुस गराउनु पर्छ’, खत्री भन्छन्, ‘पीडामा परेका बालबालिकाले असुरक्षित महसुस गरे भने समस्या झन् विकराल बनेर जान्छ।’ समस्यामा परेका बालबालिकाले विगतभन्दा फरक गतिविधि देखाउने भएकाले स्वास्थ्यमा ध्यान दिएर गतिविधि विचार गर्दै उनीहरुलाई सकारात्मक ढंगले ‘प्रमोट’ गर्नेतर्फ केन्द्रित हुन जरुरी रहेको खत्रीले बताएकाे अन्नपूर्ण अनलाइनमा खबर छ ।

    प्रतिक्रिया दिनुहोस