२०८० चैत्र १६, शुक्रबार | Fri, 29, Mar, 2024

स्थानीय तहलाई सिडियाेकाे पत्र: बजार अनुगमन किन नगरेकाे ?

  • २०७७ आश्विन १९, सोमबार मा प्रकाशित ३ साल अघि
  • ओखलढुंगा– जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ८ वटै स्थानीय तहलाई स्थानीय बजार अनुगमन समिति बनाएर अनुगमन गर्न परिपत्र गरेको छ ।
    जिल्ला प्रशासन कार्यालयले सबै क्षेत्रको अनुगमन गर्न नभ्याएको अवस्थामा स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय बजार बनुगमन समिति बनाएर अनुगमन गर्न र उपभोक्त ठगिएका गुनासा सम्बोधन गर्न परिपत्र गरेको हो ।

    जिल्ला प्रशासन कार्यालयमा बजार अनुगमन नभएको, मनपरि मुल्य लिएर उपभोक्ता ठगिएको र म्याद गुज्रिएका वस्तु बेचबिखन भइरहेको गुनासो बढेकाले नियमन गर्न भनिएको सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले जानकारी दिए । पत्रमा प्रमुख जिल्ला अधिकारी कृष्ण पाैडेलले सहि गरेका छन् ।

    स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ मा स्थानीय तहले उपभोक्ताको अधिकार संरक्षणका लागि वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर तथा वस्तुको शुद्धता सम्बन्धी बजारको सुपरिवेक्षण तथा अनुगमनका लागि समिति गठन गरेर गर्नु पर्ने व्यवस्था छ । उक्त व्यवस्था स्थानीय तहले कार्यन्वयन गरेका छैनन् । सिद्धिचरण नगरपालिकाले समिति गठन गरे पनि एक वर्षयता बजार अनुगमन गरेको छैन । अन्य तहले त्यस्तो समिति नै गठन गरेका छैनन् ।

    जिल्ला प्रशासन कार्यालयले कहिलेकाँही गर्ने अनुगमन बाहेक बजार अनुगमन हुन सकेको छैन । स्थानीय तहको क्षेत्राधिकार भएकाले सो व्यवस्था स्मरण गराइ परिपत्र गरिएको सहायक सिडियो भट्टराईले बताए । ‘स्थानीय तहको अधिकारबारे स्मरण गराएर उपभोक्ताको अधिकार संरक्षण गर्न भनिएको हो’ उनले भने । अन्य तहले यसबारे चासो नदिँदा गुनासो बढेपछि प्रशासनले परिपत्र नै गर्नु दुःखद भएको सरोकारवालाको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस