२०७७ मंसिर १६, मंगलबार | Tue, 01, Dec, 2020

तरकारीले फेरिएकाे गाउँ

  • २०७७ आश्विन १४, बुधबार मा प्रकाशित २ महिना अघि
  • ओखलढुंगा – ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा-१० मा अवस्थित रुप्से गाउँका स्थानीय १० वर्ष पहिलेसम्म भारी बोकेरै गुजारा चलाउँथे । चाडवाडदेखि पाहुना टार्न मात्रै होइन, बच्चाबच्चीको कापीकलम किन्ने आयस्रोत भनेकै नाम्लो र पिठ्युँ हुन्थ्यो ।

    मगर समुदाय बाहुल्यको रुप्से गाउँलाई गरिब र विपन्न समुदायको बस्तीको रुपमा चिनिन्थ्यो । तर, एक दशकमै यो गाउँको परिचय फेरिएको छ । प्लास्टिक टनेलमा गोलभेँडा उत्पादन र तरकारी खेती, पशुपालनबाटै रुप्से गाउँको मुहार फेरिएको हो ।

    अहिले यहाँका किसान वर्षमा २ लाखसम्म आम्दानी गर्न सक्ने भएका छन् । नगरपालिका र प्रदेश सरकारको सहयोगमा गरिएको तरकारी खेती तथा पशुपालनका कारण गाउँलेको जीवनस्तरमा परिवर्तन आएको अगुवा किसान जीरकुमारी मगर सुनाउँछिन् । ‘तरकारी तथा पशुपालनका लागि ५३ जनाको समूह भए पनि अहिले ३० जनाले व्यावसायिक खेतीका साथै बंगुरपालन सुरु गरेका छौं’, मगरले भनिन् ।

    रुप्सेमा ०६७ देखि तरकारी खेती सुरु भएको मगर बताउँछिन् । ‘पहिले ८ देखि १० पाथी कोदो फल्ने ठाउँमा अहिले १ वर्षमै १ लाखसम्मको तरकारी उत्पादन हुन थालेको छ,’ मगरले गाउँमा आएको परिर्वतनको खोतलिन् ।

    गाउँमै व्यावसायिक खेती र पशुपालनबाट आम्दानी हुने देखेपछि पछिल्लो समय रुप्सेका युवाहरू रोजगारीका लागि विदेशिने क्रम घटेको छ । गाउँका घरमा वर्षौंदेखिका खरका छानाहरू बदलिएर जस्तापाताले टल्किन थालेका छन् । यसको मुख्य आधार नै तरकारी खेती भएको स्थानीय कृषक गोलबहादुर मगर बताउँछन् ।

    उनी भन्छन्, ‘अहिले त विदेश जाने पनि घटे, परम्परागत खेतीमा निर्भर कृषकहरूले तरकारीबाट निकै आम्दानी लिन थालेका छन् । २–४ पैसाका लागि ब्याजमा ऋण काढ्ने दिन सकिएको छ ।’

    यो गाउँमा तत्कालीन कृषि विकास कार्यालय, वडा कार्यालय, नगरपालिकाले समेत व्यावसायिक तरकारी खेतीका लागि आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराएका थिए । धेरै ठाउँमा कृषिमा गरिएको लगानी खेर जाने भए पनि रुप्सेमा भने तरकारीले समृद्धि आएको सिद्धिचरण नगरपालिकाका नगरप्रमुख  मोहनकुमार श्रेष्ठले बताए ।

    रुप्सेमा देखिएको परिर्वतन अन्यत्र पनि अनुकरणीय भएको उनको बुझाइ छ । ‘खरका स-साना झुपडी, विपन्न आर्थिक अवस्था र पछाडिएको गाउँको पहिचान स्थानीय अगुवा कृषकहरूले बदलिदिएका छन् । सुरुमा तरकारी खेतीमा रुचि नभएकाहरु पनि आम्दानी देखेपछि विस्तारै आकर्षित भएका छन्’, नगरप्रमुख श्रेष्ठले भने ।

    स्थानीय हितबहादुर मगरका अनुसार गाउँमा मकै, कोदो मात्र उब्जनी हुन्थ्यो । त्यसले गर्दा गुजारा चलाउन भारी बोक्नुको विकल्प हुँदैनथ्यो । ‘अहिले केही नभए पनि १ वर्षमा १ लाख ८० हजारसम्म कमाउँछु,’ मगरले खुसी हुँदै भनिन् ।

    प्रतिक्रिया दिनुहोस