२०८१ बैशाख १४, शुक्रबार | Fri, 26, Apr, 2024

सम्भावनामा थन्किएको देश

  • २०७७ आश्विन १२, सोमबार मा प्रकाशित ३ साल अघि
  • हाम्रो देशलाई कृषि प्रधान देश भन्दै आइएको छ । कुनै बेला यो साँच्चिकै थियो पनि होला । तर युवावर्ग वैदेशिक रोजगारीमा लहसिएर धमाधम हिंडेपछि गाउँहरू रित्तिए, खेतबारी बाँझिए । यसपटक भने ठिक्क बाली लगाउने बेलामा थुप्रै नेपालीहरू विदेशबाट स्वदेश र सहरबाट आफ्नै जन्मथलो गाउँ फर्किएका कारण, रित्तिएका गाउँ र बाँझिएका खेतबारीले माया र स्याहार पाएका छन् ।

    हाम्रो देशमा विभिन्न प्रकारका बाली, फलफूल तथा तरकारीको व्यावसायिक खेतीको सम्भावना छँदै छ । यथार्थमा ‘कृषिप्रधान’ बन्न नसके पनि भौगोलिक विविधता र जलस्रोतको पर्याप्तताका कारण ‘कृषि सम्भावनाप्रधान’ ठहरिएको देश अब भने निश्चय नै ‘कृषिजन्य वस्तुमा आत्मनिर्भर देश’ बन्ने सम्भावना छ ।

    बेलायतमा अठारौं शताब्दीमै कृषिक्रान्ति भएको थियो । अन्य देशहरूमा व्यावसायिक हिसाबले गरिएका कृषि प्रणालीमा पूरै प्राविधिक तरिका र यान्त्रिकीकरण अपनाइएको छ । भौगोलिक विकटता र प्राविधिक ज्ञान तथा सीपका अभावमा हाम्रो कृषि प्रणालीलाई भने त्यताको जस्तो बनाउन धेरै समय लाग्नेछ । त्यतिन्जेलका लागि हामी यसलाई आफ्नै मौलिक प्रणालीलाई केही सुधारका साथ सञ्चालन गर्न सक्छौं ।

    कृषि र पशुपालन अन्योन्याश्रित व्यवसाय भएको हुँदा, कृषिसँगै यहाँ पशुपालन पनि यहाँ फस्टाउने निश्चित छ । यसबाट अस्वस्थकर पाउडर दूध तथा ‘कारखाने घिउ’को आयात र उपभोग पनि बन्द हुनेछ ।

    सिंचाइको सुविधा नभएका पहाडी क्षेत्रमा प्लास्टिक पोखरीको प्रयोग र थोपा सिंचाइको उपयोग गर्न सकिन्छ । हामीकहाँ बिजुली उत्पादन बढी भइरहेको भनिन्छ । जताततै बगिरहेको नदीखोलाको पानीलाई ‘लिफ्टिङ सिस्टम’ का माध्यमबाट माथि ल्याउन यसको प्रयोग गर्न सकिन्छ । हामीलाई आयातित र भतुवा ‘हाइब्रिड’ बीउहरूको कुनै जरुरी छैन ।

    धेरै उब्जाउँला भन्ने आशाले लगाइएका कतिपय ‘हाइब्रिड’ जातमा दाना, घोगा र बाला नलागेर हामीलाई धोका पनि दिएका छन् । त्यसैले हाम्रो माटोसुहाउँदो र लोपोन्मुख अवस्थामा पुगेका स्थानीय जातका रैथाने बालीनालीहरू (कोदो, लट्टे, कागुनो, फापर, चिनो, उवा, सिमीका विभिन्न जातहरू)-लाई जोगाउनेतर्फ ध्यान दिन सके पुगेको छ । विदेशबाट प्याकमा आयातित ‘हाइब्रिड’ बाट निर्मित ‘जंक फुड’ भन्दा हाम्रै स्थानीय र लोपोन्मुख अवस्थाका अन्नबालीबाट तुल्याइएका खाना पोसिला, स्वादिला, रोग प्रतिरोधी क्षमता भएका र स्वास्थ्यबर्धक हुन्छन् भन्ने कुरा बिर्सन थालिएकोमा अब सम्झनु/सम्झाउनुपर्ने भएको छ ।

    हिमालदेखि तराईसम्म उत्पादन हुने विभिन्न थरीका अन्न/फलफूलहरू आफ्नै देशभित्र साटासाट गरेर खाँदा पुग्ने भएकोले ‘हानिकारक नयाँ स्वाद’ र आकर्षक ‘लुक्स’का आधारमा लोभिनु जरुरी छैन । प्रायः संसारको जुनसुकै ठाउँमा उब्जने फलफूलका लागि हाम्रो देशको हावापानी उपयुक्त भएकोले उपयोगी ठानिएका नयाँ जातका बिरुवा अन्यत्रबाट ल्याएर खेती गर्न भने सकिन्छ । पशुपन्छीका सन्दर्भमा पनि यो कुरा लागू हुन्छ । कतिपय ठाउँमा वेदेशिक रोजगारबाट आएका युवावर्गबाट कृषि र पशुपालनको सामूहिक अभ्यास भैसकेको पनि छ ।

    रासायनिक मलले माटोको उर्वरा शक्ति घटाई बालीको मौलिक र पौष्टिक गुण पनि नष्ट गर्ने कुरा थाहै छ । र पनि, ‘कृषिप्रधान देश’मा खेती लगाउने मौसम हुनासाथ रासायनिक मलको हाहाकार हुन थाल्छ । यस वर्षको नीति तथा कार्यक्रममा ११ अरबको रासायनिक मल किन्ने कुरा आएको थियो । यस्तो कामले जनतालाई राहत दिएको जस्तो देखिए पनि, यसले देशको आर्थिक नोक्सानी र हाम्रो माटो बिगार्ने काम गरिरहेको छ ।

    रासायनिक मल किन्नका लागि त्यत्तिका रकम खर्च गर्नुभन्दा त्यसको विकल्पका रूपमा जैविक मल, प्राङ्गारिक मल, कम्पोस्ट मल, हरियो मल, बायोग्याँस लेदो, गोठेमल, चर्पीको मल, गड्यौले मललाई प्रयोग गर्न सकिन्छ । यी मल, ठूलो परिमाणमा खेती गर्नेहरूका लागि र ढुवानीका हिसाबले असजिलो हुने भए, यहीं उपलब्ध स्रोत साधनबाट जैविक मल उत्पादन गर्ने कारखाना स्थापना गर्न सकिन्न र ! रासायनिक मलमा दिइने अनुदानलाई कृषि औंजार खरीद र कृषि उपजको ढुवानीमा स्थानान्तर गर्न सके राम्रो ।

    कृषि र पशुपालन अन्योन्याश्रित व्यवसाय भएको हुँदा, कृषिसँगै यहाँ पशुपालन पनि यहाँ फस्टाउने निश्चित छ । यसबाट अस्वस्थकर पाउडर दूध तथा ‘कारखाने घिउ’को आयात र उपभोग पनि बन्द हुनेछ । बालीनाली, फलफूल र तरकारीमा लाग्ने रोग तथा कीटनाशक औषधिका लागि पनि यहीं उपलब्ध स्थानीय जडीबुटीलाई नै आयुर्वेदिक औषधिका रूपमा प्रयोग गर्न जाने पुगेको छ ।

    यसो गरिएमा हामीले अर्काको माटोमा फलेको विषादी फलफूल एवं तरकारी किनेर खाँदै स्वास्थ्य विगारिरहनु पनि पर्दैन । सरकारले खालि व्यावसायिक रूपमा खेती गर्न चाहनेका लागि यथासम्भव यान्त्रिक र ढुवानी अनुदान दिई उत्पादित वस्तुको बिक्रीको ग्यारेन्टी दिनसके पुग्छ ।
    हाम्रो देशमा सयौं प्रकारका मृतसञ्जीवनी जडीबुटीहरू पाइन्छन् । तिनको हामीलाई कुनै वास्तै छैन ।

    रैथाने ज्ञानका आधारमा कतिपय स्थानीय स्तरमा औषधिका रूपमा प्रयोग गरिंदै आइएको जडीबुटीमध्ये धेरैको पहिचान, संरक्षण र सदुपयोगको काम हुन बाँकी नै छ । अब यो कामले पनि प्राथमिकता पाउने हो भने विज्ञहरूको निर्देशनमा स्थानीय जडीबुटीहरूबाट स्थानीय स्तरमै औषधि उत्पादन गर्न सकिन्छ । एकातिर स्थानीय अन्नको उपभोग र अर्कोतिर उपलब्ध स्थानीय जडीबुटीको प्रयोगबाट हामी स्वस्थ र बलिया भई निरोगी रहनेछौं । औषधि र खाद्यान्न खरीदका लागि खर्च हुने ठूलो रकम पनि जोगिनेछ ।

    प्लास्टिक, सेन्थेटिक र जनावरका छालाबाट विदेशमा बनेका राम्रा तर कमजोर र महंगा ‘ब्याग’हरूभन्दा, हेर्दा नराम्रा भए पनि हाम्रैमा जुट/सनपाटबाट बनेका बलिया र सस्ता झोलाहरू प्रयोग गर्दा हाम्रो परिचय पक्कै पनि नकारात्मक बन्दैन होला । हाम्रो देशको ऊन पनि विश्वमै उच्च गुणस्तरको मानिन्छ

    चिया, कफी, अलैंचीजस्ता अन्तर्राष्ट्रिय स्तरमा निर्यात गर्न सकिने वस्तु मात्र होइन, हाम्रै उपभोगका लागि अति उपयोगी कपास र जुट खेतीको सम्भावना पनि यहाँ उत्तिकै छ । तर आयातित वस्तुमा रमाउने ‘राष्ट्रिय बानी’ नै बसेको हुँदा यी वस्तुहरू आजकल उपेक्षाको शिकार भएका छन् । रोजमेरी, बाबरी, तुलसी, पुदिना, लेमन ग्रास, लालपत्ता,तेजपत्ता, घोडताप्रे,तीतेपाती, गुर्जो, टिम्मुर, घिउकुमारीजस्ता सयौं जडीबुटीहरूको गुणका बारेमा प्रचारप्रसार गरी तिनको व्यावसायिक खेती गर्ने काम बाँकी नै छ ।

    कपास खेतीलाई मात्रै प्रोत्साहन गर्न सकिए पनि धेरै फाइदा हुने थियो । कपास खेतीसँगै जुट खेतीलाई पनि व्यावसायिक रूप दिने हो भने हामीले लाउने/ओछ्याउने वस्तुहरूमा आत्मनिर्भर बन्न सकिने थियो । विदेशबाट आयातित तयारी डसना (डनलप), तकियाका सट्टा स्वदेशमै उत्पादित जुटबाट बनेका बलिया बोरालाई उपयोग गर्दा के फरक पर्छ र ! घरको भुइँमा पहिला बाक्लो प्लास्टिक ओछ्याएर त्यसमाथि जुटबाट बनाइएको कार्पेट ओछ्याउने हो भने हामी नेपालीको शयनकक्ष वा आरामकक्षको मौलिकता नै विशेष बन्ने थियो ।

    प्लास्टिक, सेन्थेटिक र जनावरका छालाबाट विदेशमा बनेका राम्रा तर कमजोर र महंगा ‘ब्याग’हरूभन्दा, हेर्दा नराम्रा भए पनि हाम्रैमा जुट/सनपाटबाट बनेका बलिया र सस्ता झोलाहरू प्रयोग गर्दा हाम्रो परिचय पक्कै पनि नकारात्मक बन्दैन होला । हाम्रो देशको ऊन पनि विश्वमै उच्च गुणस्तरको मानिन्छ ।

    महंगा रेशमी कपडा उत्पादनका लागि यहाँ रेशम कीराको खेती गर्न पनि नसकिने होइन । बहुउपयोगी बाँस खेतीतर्फ ध्यान दिएर त्यसलाई उपयोगमा ल्याउने ढंग नपुग्दा, दाँत कोट्याउने सिन्का, सामान राख्ने बास्किट, खाजा खाने चपस्टिकदेखि लिएर तरकारी राखेर काट्ने चपिङ बोर्डसमेत चीनबाट ल्याएर प्रयोग गरिरहेका छौं । वन र वनस्पतिको विविधता भएको हुँदा हामीकहाँ मौरीपालनको सम्भावना पनि उत्तिकै छ । केही त भएको छ । तर जति भएको छ ,त्यो पर्याप्त छैन ।

    यसरी सोच्दा, हाम्रो देशमा जताततै सम्भावनै सम्भावना छ । राजनीतिक संस्कार र प्रतिबद्धता सुध्रेर आउने हो भने विकास हुन टाढा छैन । यसका लागि कोरोनालाई निहु बनाउन सकिंदैन ।

    प्रतिक्रिया दिनुहोस