२०८१ बैशाख ६, बिहिबार | Thu, 18, Apr, 2024
कोरोना जितेँ, समाजसँग हारेँ

कोरोनामुक्त पत्रकारको अनुभव: ‘आइसोलेसनमा पुगेको दिन बाँच्दिन जस्ताे भयाे’

  • २०७७ आश्विन १०, शनिबार मा प्रकाशित ३ साल अघि
    • नवराज कार्की, पत्रकार ।

    कोरोना भाइरसबारे बजारमा दुईथरि हल्ला छन् । एउटा हल्ला; यो रुघामर्की हो, सामान्य फ्लु हो; बेसारपानीले पचाइदिन सकिन्छ । आत्तिनु पर्ने अवस्था छैन । अर्को हल्ला छ- यो सामान्य रोग हुँदै होइन । सचेत बन्नु जरुरी छ ।

    यी दुवै हल्लामा कत्तिको सत्यता छ त्यतातिर नजाउँ । बरु आफैँले कोरोना संक्रमित हुँदा भोगेका अनुभव यहाँहरूलाई बताउँ । (यस लेखलाई पढ्नका लागि सजिलो होस् भनेर उपशीर्षक राखेर तयार गरेको छु । पढिसकेपछि प्रतिक्रिया दिनु भए आभारी हुने थिएँ ।)

    सपनाले बतायो कोरोना भाइरसको संक्रमण

    भदौ २१ गतेको कुरा हो । साँझपख निकै तीर्खा लागिरहेको थियो । एकजना पत्रकार साथीले आफैँले फलाएर ल्याइदिएको एउटा खिरिलो काँक्रो चिरिप्पै पारेँ । तीर्खा नमेटिएकाले एउटा माउन्टेन ड्यु ल्याएर सिध्याएँ । त्यतिले पनि तलतल मेटिएन । ब्रोइलर कुखुराको मासु पनि खाइयो । खाना रुचेकै थियो ।

    सुतिसकेपछि निद्रामै मैले हनहनी ज्वरो आएको थाहा पाइरहेको थिएँ । ज्वरो कसरी आयो म निद्रामै बेलाबेला सोचिरहेको थिएँ । यसै क्रममा मलाई केही वस्तुले सपनामै थिचेजस्तै भयो । ‘कोरोना लागेछ’ कसैले निद्रामा भनेपछि म आत्तिँदै ब्युँझिएँ । ब्युँझिँदा ज्वरो हनहनी आइरहेको थियो । घरि ज्वरो घटेर पसिना खलखली आइरहेको थियो । आत्मबल पूरै घटेजस्तो लागिरहेको थियो । मसँग थर्मोमिटर थिएन । त्यसैले ज्वरो नाप्ने कुरै भएन ।

    छातिभन्दा माथि मात्रै हनहनी ज्वरो थियो । तलतिर म तन्दुरुस्त छु भन्ने भान हुन्थ्यो । अरुबेला ज्वरो आउँदा जिउ फतक्क गल्ने गर्यो, तर यो पटक त विल्कुल फरक थियो ज्वरो । केही घण्टापछि हल्का हातगोडाका मांशपेशी कटकटी खान थाल्यो । सुख्खा खोकी सुरु भयो । घाटी खसखस भइरह्यो ।

    त्यस्तै रातको १ बजेको हुँदो हो । तीर्खा अत्यधिक लाग्यो । उठेर फिल्टरको पानी सबै सिध्याइदिउँ जस्तो लाग्यो । उठ्ने ताकत थिएन ममा । सुतिरहेँ विहानसम्म । विहान अलि ज्वरो घटेजस्तो महशुस भइरहेको थियो । त्यसैबेला एकजना साथीले  एउटा सरकारी कार्यालयको प्रमाणपत्र डिजाइन तुरुन्तै गरिदिनुपर्यो भनेर मेल पठाए । म फुर्सदको समयमा ग्राफिक डिजाइन पनि गर्ने भएकाले बेलाबखत काम आइरहन्छ । २ घण्टाजति त्यसमा घोत्लिएँ । काम सकेर मेल गरिदिएँ । त्यतिबेलासम्म ज्वरो फेरि हनहनी बढेजस्तो महशुस भइरहेको थियो । घरि खलखली पसिना आइरहेको थियो । कञ्चट फुट्नेगरी टाउको दुखिरहेको थियो । आँखा रातो भएको थियो ।

    मलाई धेरैपटक यसअघि पनि ज्वरो आएको थियो । के हुँदा कसरी ज्वरो आउँछ र लक्षण के के देखिन्छ भन्ने कुरा अनुभव थियो । तर यसपटकको ज्वरो विल्कुल भिन्न थियो । छातिभन्दा माथि मात्रै हनहनी ज्वरो थियो । तलतिर म तन्दुरुस्त छु भन्ने भान हुन्थ्यो । अरुबेला ज्वरो आउँदा जिउ फतक्क गल्ने गर्यो, तर यो पटक त विल्कुल फरक थियो ज्वरो । केही घण्टापछि हल्का हातगोडाका मांशपेशी कटकटी खान थाल्यो । सुख्खा खोकी सुरु भयो । घाटी खसखस भइरह्यो ।

    यसअघि मैले लिखु गाउँपालिकाकी उपप्रमुख शान्ता ढुंगेलले कोरोना जितेको समाचार ओखलढुंगाखबरडटकममा सम्प्रेषण गरेको थिएँ । उनले मलाई बताएका लक्षण मलाई हुबहु मिलिरहेको थियो । अनि म निष्कर्षमा पुगेँ- मलाई कोरोना भाइरस लागेको छ । मैले साथीहरूलाई पनि मेसेन्जरमा च्याट गरेँ । मलाई देखिएको लक्षण शतप्रतिशत् कोरोना भाइरसको हो । म कोठाबाहिर निस्कन्नँ । तपाईँहरूले मलाई मलाई नभेट्नू । आखिर सपनाले पनि मलाई त्यही बताएको थियो ।

    पेट बाँउडिने गरी भोक लाग्यो

    ज्वरो सुरु भएदेखि नै मलाई खाना रूचिरहेको थियो । जे खायो भोकै मात्र लाग्ने लक्षण देखिन थाल्यो । भर्खर खाना खाएर हात चुठ्यो फेरि भोक लागिरहेको हुन्छ । म छक्क परिरहेको थिएँ । फलफूल खान्छु खाउन्जेल भोक हराउँछ, खान छाड्यो भोकले पेट बाँउडिने गरी समात्छ । फनफनी घुमाइरहेको महशुस हुन्छ । भदौ २५ गते म पीसीआर परीक्षणका लागि थ्रोट स्वाब दिन ओखलढुंगा क्याम्पसको भवनमा पुगेको थिएँ । त्यतिबेला त झन् ढुंगामाटो सबै खाउँजस्तो भोक लागिरहेको थियो ।

    ल्याब परीक्षण नर्मल थियो

    ज्वरो हनहनी आएको दोस्रो दिन अर्थात भदौ २३ गते मैले ल्याब परीक्षण पनि गरेँ । कतै टाइफाइड त होइन म शंका मानिरहेको पनि थिएँ । ल्याब परीक्षणमा रगतको मात्रा सन्तुलन थियो अर्थात् नर्मल देखियो । यत्रो हनहनी ज्वरो आउँदा केही न केही त घटबढ हुनुपर्ने हो, म शंका मानिरहेको थिएँ । डाक्टरको सिफारिस अनुसार स्थानीय मेडिकलबाट टाइफाइडको औषधि ल्याएर पनि खाएँ ।

    सीडीओलाई भनेँ मलाई देखिएको लक्षण कोरोनाकै हो, क्वारेन्टाइन हालिदिनुस्

    भदौ २४ गते ओखलढुंगा कांग्रेस पार्टी सभापति प्रदीपकुमार सुनुवार, जिल्ला समन्वय प्रमुख जयबहादुर श्रेष्ठसहित ९ जनालाई संक्रमण पुष्टि भयो । त्यसमध्येका दीर्गबहादुर खत्रीलाई पनि संक्रमण पुष्टि भएको थियो । भदौ १९ गते शुक्रबार दिउँसो उनीसँग भेट भएको थियो । त्यति भएपछि त के चाहियो र मलाई कोरोना पुष्टि भएजत्तिकै भयो ।

    मुटु छेउबाट केही चिजले यसरी थिच्यो, अब बाँच्दिनँ जस्तो लाग्यो । भएभरका कोरोनाका सुई ममाथि नै परीक्षण गरिदिए हुन्थ्यो जस्तो लाग्यो । आधाघण्टापछि त्यो समस्या कम भयो ।

    अब मेरो मनमा एउटै सोच आयो- क्वारेन्टाइन गएर बस्छु । त्यस दिन दिउँसो ओखलढुंगाका सीडीओ कृष्ण पौडेललाई फोन गरेँ । व्यस्त रहेको जनाए । बेलुकीपख फेरि कुरा भयो । ‘म त शतप्रतिशत् संक्रमित जस्तै भइहालेँ, अब म बस्ने क्षेत्रलाई जोगाउनुपर्छ भोलि स्वाब लिएपछि क्वारेन्टाइन हालिदिनुपर्यो ।’

    उनले मेरो कुरा सुनेपछि त्यसो हो भने तपाईँलाई पठाउँला भनेर भने । भोलिपल्ट स्वाब दिएपछि म ओखलढुंगा सदरमुकामबाट बाइक चढेर रुम्जाटारको क्वारेन्टाइनमा गएर बसेँ ।

    आइसोलेसनमा जाँदा

    भदौ २८ गते साँझ क्वारेन्टाइनमै रहँदा कोरोना पुष्टि भयो । जसमा मसहित ओखलढुंगाका १८ जनालाई संक्रमण पुष्टि भएको थियो । त्यतिञ्जेलसम्म मलाई लक्षणहरु ठीक भएकै थिएनन् । ज्वरो उस्तै थियो । भोलिपल्ट खाना खाइसकेपछि मलाई रुम्जाटार अस्पतालको आइसोलेसनमा बोलाइयो । म हुर्रिँदै हुर्रिँदै बाइकबाटै आइसोलेसन पुगेँ । आइसोलेसन डिसइन्फेक्सन हुँदै थियो । मलाई २ घण्टाजति गेटमा पर्खन लगाइयो । ज्वरोले सिकिस्तै भएकाले होला म धेरै कमजोर भइसकेको थिएँ ।

    रुम प्रवेश गर्नुपूर्व एकजना डाक्टरले मेरो अवस्था बुझे । पछि उनले मास्क खोल्दै केही हुँदैन भनेर सम्झाए । सिकिस्त भएको कोरोनाको विरामीको छउम मास्क खोल्नु आफैँमा जोखिम थियो । तर उनले मलाई कोरोना केही होइन भनेर शान्त्वना दिनका लागि त्यसो गरेका हुनसक्छन् ।

    ३ बजेतिर पत्रकार साथीहरू लिलाबहादुर सुनुवार र देवकुमार दाहाल आइसोलेसनमा मलाई भेट्न आएका  थिए । आइसोलेसनको ओढ्ने साह्रै पातलो थियो । मलाई यस्तो कपडाले झन् चीसो लाग्ने भयो, सिरक ल्याइदेओ भनेँ । उनीहरुले खोजेर ल्याइदिए । त्यो सिरक नभएको भए म थप सिकिस्त हुने निश्चित थियो ।

    फोन बजेको बज्यै

    भदौ २८ मा मलाई संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए । त्यसपछि खबर चारैतिर फैलियो । मेरो फोन बजेको बज्यै हुन थाल्यो । कोरोनाले थलिएको मान्छेले सबै फोन उठाउन सम्भव थिएन । म ज्यादै कमजोर भइसकेको थिएँ । मैले फोन थाम्न नसकेपछि स्वीच अफ गरिदिएँ । केही घण्टापछि खोलेँ ।

    फोन आइसोलेसनमा रहँदा पनि अत्यधिक आइरह्यो । सबैले स्वास्थ्यलाभको कामना गर्नुभयो । केही फोनहरु मैले चाहेर पनि उठाउन सकिरहेको थिइनँ । मेरो स्वास्थ्य अवस्था प्रतिकूल थियो ।

    समाचार लेख्न छाडिनँ

    ओखलढुंगाखबरडटकम ओखलढुंगाको कोरोना गतिविधि नियमित अपडेट गर्ने अनलाइन थियो । यसले जिल्लाबाट सञ्चालन गरेर पनि जिल्लाकै समाचार दैनिक रुपमा अपडेट गर्न सकिन्छ भन्ने मान्यता स्थापित गरेको छ । त्यसैले पनि अनलाइनमा केही न केही समाचार लेख्नैपर्थ्यो ।

    म आफैँ यस अनलाइनको सञ्चालक/सम्पादक भए पनि  कोरोना कहरका कारण कार्यालय र कर्मचारी व्यवस्थापन गर्न सकिरहेको थिइनँ । त्यसैले अनलाइन केही साथीभाइको सहयोगमा एक्लैले चलाइरहेको थिएँ । म कोरोना संक्रमित भएर जतिसुकै विरामी भए पनि समाचार लेख्न छाडिनँ ।

    मैले आइसोलेसनमै ल्यापटप लगेको थिएँ । कोरोनाले ग्रस्त बनाएका कारण किबोर्डमा औँलाहरु राम्ररी दगुर्दैन थिएँ । औँला चलाउनै समस्या भइरहेको थियो । ल्यापटपको स्क्रिन धमिलो देखिन्थ्यो । नियमित समाचार लेख्दा कोरोना जित्न थप उर्जा प्राप्त भयो ।

    कोरोना पुष्टि भएपछि साँझमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले फोन गरेर अब केही समय तपाइँका समाचार अनलाइनमा हेर्न नपाइने भइयो भनेर भने । तर म समाचार लेख्न छाड्दिनँ भनेर उनलाई भनेको थिएँ । आइसोलेसनमा रहँदा पनि धेरैले ओखलढुंगाखबरमा फलानो समाचार त देखिएन भनेर चासो व्यक्त गर्ने गरेका थिए ।

    जतिबेला बाँच्छुजस्तो लागेको थिएन

    आइसोलेसनमा पुगेको पहिलो दिन तातोपानी तताएर खान खोजेँ । तर मुखमा पुर्‍याउनै मुश्किल भयो । हात थर्थरी कापेको थियो । जसोतसो ओछ्यानमा गिलास राखेर मुख गाडेर तातोपानी पिएँ ।

    कमजोरी निकै महशुस भइरहेको थियो । ८ दिनदेखि ज्वरो आइरहेको थियो । खोकी उस्तै थियो । साथीहरुले ल्याइदिएको सिरकमा तातो गरेर सुतेँ । सुतेको केही बेरमा मलाई सास फेर्न समस्या भएजस्तो लाग्यो । हातगोडा आफैँ जुरुक जुरुक उफ्रिन्थ्यो । आत्मबल निकै कमजोर भएको महशुस भइरहेको थियो । हतार हतार अक्सिमिटर औँलामा जोडेर हेरेँ । अक्सिजनको मात्रा नर्मल थियो ।

    तर पनि मुटु छेउबाट केही चिजले यसरी थिच्यो, अब बाँच्दिनँ जस्तो लाग्यो । भएभरका कोरोनाका सुई ममाथि नै परीक्षण गरिदिए हुन्थ्यो जस्तो लाग्यो । आधाघण्टापछि त्यो समस्या कम भयो ।

    सुख्खा खोकी र खसखस

    मलाई खोकी लागेपछि धेरै नै सताउने गर्छ । २०७२ सालमा सुख्खा खोकीकै कारण ओखलढुंगामा गरिएको उपचार सम्भव नभएर काठमाडौँमा गएर उपचार गरेर फर्किएको थिएँ । त्यतिबेला धुलो औषधि २ महिनासम्म फोक्सोमा पठाएपछि खोकी निको भएको थियो । यसपालि पनि कोरोना लागेका बेला त्यस्तै सुख्खा खोकी लाग्यो । त्यसमाथि ३/४ दिन रगत पनि देखियो । घाटीमा खसखस उस्तै थियो । जति औषधि खाए पनि ठीक भएन ।

    कहिलेकाहीँ त घाँटीबाट हात छिराएर फोक्सो निकालेर निचोरिदिउँ जस्तो लाग्थ्यो । तर त्यसो पनि कहाँ गर्न मिल्यो र ? आयुर्वेदिक औषधिका बट्टै रित्याए पनि खोकी निको भएन । मह, अदुवा, लसुन, तुलसीपत्ता, गुर्जो, कागती, बेसारलगायतका चिजहरु त कति खाइयो-खाइयो ।

    पानीको बाफ ज्वरो आएको दिनदेखि नै लिएको हुँ । पानीको बाफ सुरुदेखि नै लिएकै कारण मलाई स्वासप्रस्वासमा थप समस्या नभएको होला जस्तो लाग्छ ।

    गीत सुन्दा झन् समस्या !

    लक्षणसहितको कोरोना देखिएका बेला यसै मन कोमल हुँदो रहेछ । मेरो मोबाइलमा भएका गीतहरु प्राय: मिलन विछोडका थिए । ती गीतहरु सुन्दा झन् समस्या बढेजस्तो महशुस गरे । किनकि त्यहाँ विछोडका शब्दहरूले मन छियाछिया हुँदोरहेछ । त्यसले समस्या थप्दो रहेछ ।

    कोरोना पुष्टि भएपछि साँझमा सहायक प्रमुख जिल्ला अधिकारी तुलसी भट्टराईले फोन गरेर अब केही समय तपाइँका समाचार अनलाइनमा हेर्न नपाइने भइयो भनेर भने । तर म समाचार लेख्न छाड्दिनँ भनेर उनलाई भनेको थिएँ ।

    मैले कोठाबाटै डा. योगी विकासानन्द र डा. ताराजीका प्रेरणादायी उत्प्रेरक भिडियोहरू युट्युबबाट डाउनलोड गरेर लगेको थिएँ । ती भिडियोहरूले भने समस्या भएका बेला आनन्दित बनाएको थियो । मैले कमजोर महशुस हुँदा रगत उमाल्ने देशभक्ति गीतहरू सुनेँ । तिनले मेरो शरीरमा उर्जा मिल्थ्यो ।

    जिल्ला अस्पताल रुम्जाटारका मेडिकल सुपरिटेण्डेन्ट सन्तोष देवले भजनहरू पनि सुन्न सुझाएका थिए । तर भजन सुन्न बिर्सिएँछु ।

    डरलाग्दो खुवाई

    कोरोनाले अत्यधिक भोक लागेका कारण मेरो खुवाई डरलाग्दो थियो । आइसोलेसनमा विहान एउटा अण्डा र चिया, खाना, दिउँसो गेडागुडी, स्न्याक्स आइटम र बेलुकी खाना र एउटा अण्डा आउँथ्यो । ती सबै खानेकुरा खाइसक्नु त सामान्य नै थियो । पल्लो कोठामा रहेका महलकृष्ण श्रेष्ठ, योगेश्वर राजभण्डारी र निबन्दना राजभण्डारीले मलाई खानेकुरा नियमित दिनुहुन्थ्यो । म ती झोलिला र पोषिला खानेकुरा एकएक गर्दै रित्याइदिन्थेँ । साँच्चै भन्ने हो भने उहाँहरूले नै हो मलाई बचाएको ।

    म सिकिस्त बिरामी हुँदा पनि ख्याल गरेर झोलिलो खानेकुरा ल्याइदिनुहुन्थ्यो । म अघाएर खानै नसक्ने अवस्थामा पनि महलकृष्ण दाजुले जवर्जस्ती खानेकुरा राखिदिनुहुन्थ्यो । मैले खाएको हेर्न उहाँलाई मजा लाग्थ्यो रे !

    ऐना हेर्दा अनुहारमा मुस्कान देखेपछि रोएँ

    शरीरमा ज्वरो घट्नु भनेको आधा रोग घट्नु जत्तिकै भएको थियो । अघिल्लो दिन अलि बढी विरामी भएको मलाई भदौ ३० गते भने केही कम भएको थियो । बेलुकीपख बाथरुमको ऐनामा हेर्दा अलिकति अनुहारमा मुस्कान देखेँ । आँसु आयो । रोएँ । कोरोनाले मन पनि कोमल बनाउँदो रहेछ । ओछ्यानमा आएर पनि रोएँ । मेरो मन यति भावुक बनेको थियो कि; हामीलाई कोरोनाको डरत्रास नमानी खाना खाजा खुवाउने दिदीहरूको महानता सम्झेर पनि रोइरहेको थिएँ ।

    जब पैसा चलेन !

    कोरोना लागे पनि आइसोलेसनमा रहँदा केही पैसा साथमा थियो । तर त्यसले काम गरेन । गरोस् पनि कसरी ? कोरोना संक्रमितको पैसा कसले लिइदेओस् ? तर यस्तो बेला साथसम्बन्ध चाहिँदो रहेछ । कोरोना लागेको बेला धेरैले पोषिला खानेकुरा ल्याएर दिनुभयो । स्वास्थ्यप्रतिको चिन्ता गर्नुभयो ।

    कोरोना जितेँ, समाजसँग हारेँ

    १५ दिन लामो क्वारेन्टाइन/आइसोलेसन बसाइँपछि म कोरोना जित्न सफल भएँ । असोज ८ गते संक्रमणमुक्त भएपछि  म मोलुङ गाउँपालिका १ स्थित घरमा होम क्वारेन्टाइनमा छु । कोरोना जितेकोमा खुसी त अवश्य लागेको छ नै, तर समाजसँग भने म हारेँ । ओखलढुंगामा भर्खर मात्रै अलि बढी संख्यामा कोरोना देखिएको हो । त्यसैले कोरोना संक्रिमतलाई गर्ने व्यवहार बदलिएको छैन ।

    केही साथीहरूले मसँग जोडेर फलानो यो पसलमा चिया खान्थ्यो, फलानोसँग साँठगाँठ थियो त्यसलाई कोरोना छ भनेर हिँडिरहेका छन् भन्ने सुन्छु । मनमनै हाँस्छु । किनकि म यो समाजले  गर्ने व्यवहार पहिले नै अनुमान गरिसकेको थिएँ । जे अनुमान गरेको थिएँ त्यही अहिले भइरहेको छ ।

    तर  तिनीहरुले आफू संक्रमित भएको एकचोटि कल्पना गर्न जरुरी छ । आफू संक्रमित हुँदा के हुँदो रहेछ अनिमात्रै बुझ्छन् । भलै केही छैन । नेपालमा कोरोनाको संक्रमणको दर हेर्दा एकचोटि ती साथीहरूको पनि पालो आउने निश्चित छ । त्यतिबेला हामी कोरोना पूर्व संक्रमितहरूले त ‘गेट वेल सुन’ भनौँला । तर तिनै साथीले तयार गरेको समाजले जसरी हामीलाई व्यवहार गरेको थियो, त्यही व्यवहार उनीहरुलाई पनि नगर्ला भन्न सकिन्न ।

    अन्त्यमा

    मेरो विचारमा लक्षण नदेखिएका कोरोना संक्रमितहरुका लागि कोरोना केही नभए पनि/सामान्य भए पनि लक्षण देखिएका संक्रमितहरूका लागि कोरोना भाइरस खतरनाक रोग हो । त्यसैले यो रोगलाई रुघामर्की र सामान्य फ्लुसँग जोड्न मिल्दैन । यो रोग सामान्य थियो भने विश्व नै  यसरी भयावह हुने  अवस्था आउने थिएन । हामी यसरी लकडाउनमा थुनिएर बस्नुपर्ने अवस्था हुने  थिएन ।

    त्यसैले कोरोनालाई सामान्य नसोचौँ, स्वास्थ्य मापदण्ड अपनाएर सुरक्षित बनौँ । कोरोना संक्रमितहरूलाई हेय होइन, सहयोग गरौँ ।

    (पत्रकार कार्की ओखलढुंगाबाट एभिन्यूज टेलिभिजन र कारोबार दैनिकमा रिपोर्टिङ गर्छन् । उनी ओखलढुंगाखबरडटकमका सञ्चालक/सम्पादक पनि  हुन् ।)

    प्रतिक्रिया दिनुहोस